एक चिनियाँ राजा एउटा बोटमुनि बसेर पानी उमालिरहेका हुन्छन्।
केही पात पानीमा खस्छ।
पानीको रङ बदलिन्छ, स्वाद पनि।
त्यो पानी पिएपछि राजाले शरीरमा स्फूर्ति आएको महशुस गर्छन्।
त्यो बोट चियाको हुन्छ।
चिया खाने चलन यसरी नै सुरू भएको किम्बदन्ती छ।
किम्बदन्ती इतिहास होइन। त्यसैले डच अन्वेषक एवं भाषाविद् जर्ज भ्यान ड्रिमले आफ्नो लामो खोज–अनुसन्धानका आधारमा ‘द टेल अफ टी’ नामक किताब निकालेका छन्।
काठमाडौंमा हालै उक्त किताब विमोचन गर्दै जर्ज भ्यानले चियाको इतिहास सुनाए।
किम्बदन्ती र उनको खोजमा एउटा कुरा समान देखिन्छ। चिया इतिहासकार जर्ज भ्यान पनि किम्बदन्तीमा जस्तै चीनबाटै चिया उत्पादन सुरू भएको मान्छन्।
उनका अनुसार चियालाई डच वनस्पति विज्ञ कोम्बर्टस् पिटर कोहेन स्टुआर्टले ‘क्यामेलिया थिपेरा’ भन्ने नाम दिए। तिनै वनस्पति विज्ञ चियाको उत्पत्ति बर्मा र चीनको सीमामा भएको बताउँछन्।
'सुरुमा मान्छेलाई चिया खाने तरिका थाहा थिएन्, चपाएर खान्थे,' जर्जले भने, 'लसुन, अदुवा लगायत मरमसला हालेर अचारजस्तो बनाउँथे। केहीले चियालाई तरकारीजसरी काट्थे।'
सत्रौं शताब्दीसम्म डचहरूले चियाको पात सलादका रूपमा खाने गरेको जर्ज बताउँछन्।
यसरी करपकरप चपाउने चियाको पात पानीमा हालेर सुपका रूपमा पिउन थालियो। अहिलेजस्तो चिया खाने क्रम भने पछि मात्रै विकास भएको जर्ज बताउँछन्।
विवाह लगायत रितिरिवाजमा चिया उपहारसमेत दिने चलन थियो भन्ने प्राचीन र मध्यकालका ऐतिहासिक दस्तावेजहरूमा पाइन्छ।
सन् ६४१ मा तिब्बती राजा स्रङचोङ गोम्पोलाई चिनियाँ राजकुमारी वेचेङ विवाह गर्दा दाइजोका रूपमा चिया दिइएको इतिहास छ।
नेपालमा चिया प्रवेशको पनि लामो कथा छ। हामी धेरैलाई नेपालको चिया भनेपछि इलाम, दार्जिलिङ याद आउँछ। धेरैले त्यहीँबाट चिया उत्पादन सुरु भएको मान्छन्। जर्जको अनुसन्धानले भने भिन्नै कथा प्रस्तुत गर्छ।
उनका अनुसार जापान, थाइल्यान्ड, मंगोलिया हुँदै नेपालमा चिया भित्रिएको हो। दार्जिलिङमा चिया खेती हुनुभन्दा धेरैअघि सन् १८१८ सेप्टेम्बरमै काठमाडौंमा चिया पाइएको उनको खोजले देखाएको छ।
'काठमाडौंको चिया इतिहास दार्जिलिङभन्दा पुरानो हो। एडवार्ड गाडेनर्स भन्ने एक विदेशीले काठमाडौंमै चिया उम्रिएको फेला पारेका थिए,' उनले भने, 'सन् १८२० मा यसको पुष्टि डेनिस वनस्पतिविज्ञ न्याथोनिल वालिचले गरे।’
त्यसको केही वर्षपछि मात्र नेपालको पूर्वी भागमा चिया उत्पादन सुरु भएको हो। पछि जंगबहादुर राणालाई चीन सरकारले चियाको मुना उपहार दिएको पनि उनी बताउँछन्। यसलाई उनका ज्वाँइ गजराज सिंह थापाले रोपेका थिए।
चिया बनाउने तरिका पनि संसारभरि फरक-फरक छ।
चीनकै लिली समूहले नुनिलो चिया पिउँछन्। ब्लाङले अमिलो, प्रिन्मी चिल्लो र हमोङ समूहले वनस्पतिले बेरिएको चिया बनाउँछन्। त्यस्तै, आनी समूहले माटाका भाँडामा, सानीले तामाको भाँडामा पिउँछन्। चियाकै उत्पत्तिपछि सेरामिकका भाँडा पनि चीनमा बन्न थालेको जर्ज बताउँछन्।
थाइल्यान्ड, आसाम, उत्तर प्रदेश, बर्मा लगायतका मानिसले चियालाई लामो समय बाँस, ढाकी लगायत भाँडाहरूमा गुन्द्रुकझैं कुहाएर राख्थे। पछि मात्रै यसलाई ‘अक्सिडाइज’ गर्न थालियो।
जर्जका अनुसार चियाका बोट लामो समय बाँच्न सक्ने हुन्छन्। चीनको युआन र सिन्चुआनमा सबैभन्दा पुराना बोट छन्।
युआनमा रहेको एउटा बोट करिब २ हजार ७ सय वर्ष पुरानो छ। यो करिब २५ मिटर अग्लो छ। सन् २०१२ मा ‘चाइना डेली’ का अनुसार त्योभन्दा पुरानो (३ हजार २ सय वर्ष) बोट बर्मा सीमामा फेला परेको छ।
बर्मेलीहरूका अनुसार योभन्दा पुरानो बोट बर्मेली सैनिकहरूले काटिसकेको बताउँछन्, जसलाई उनीहरू पूजाआजासमेत गर्छन्।
चियालाई चीनमा ‘चा’ या ‘तु’ भनिन्छ। यसरी चिया भन्ने शब्द धेरै पुरानो होइन। एमस्टरडमका चिकित्सक निकोलस तुल्पले प्रथमपटक सन् १६५२ मा चिया भनेर लेखिएको फेला पारेका हुन्। त्यसअघिका पुराना किताबमा यो शब्द प्रयोगमा देखिन्न।
चियासँग आध्यात्मिकता पनि जोडिएर आउँछ। जापानका एक बौद्धगुरु युङवान कुक्नेन चिया र जेन धर्मको स्वाद उस्तै भएको बताउँछन्।
‘जेन धर्मबाटै ध्यान भन्ने शब्द बनेको हो। चिया पिउँदा हामीले ध्यान गरेको अनुभूति पाउँछौं,’ युङवानको धारणा उद्धृत गर्दै जर्जले भने।
चिया पहिले ठूला वर्ग र बौद्ध गुम्बाहरूमा बढी प्रख्यात थियो। बौद्ध धर्म प्रख्यात हुने क्रममा चिया पनि सामान्य मानिसको पहुँचमा पुग्यो। यो सबभन्दा ताङ राज्य (६१८–९०७) मा लोकप्रिय भयो। यसमा लु युन भन्ने बौद्धमार्गीको ठूलो भूमिका छ।
उनले गुम्बामै चियाबारे ज्ञान हासिल गरे। चियालाई औषधिका रूपमा प्रयोग गर्नुदेखि यसलाई फैलाउन भूमिका खेलेका लु यानलाई चीनमा चियाको भगवानसमेत मानिन्थ्यो। उनको मृत्युपछि शालिक पनि बनाइयो, जसलाई केही चिया व्यापारीहरू चिया चढाएर पूजा गर्थे।
जर्जका अनुसार हामीले प्रयोग गर्ने कागजका नोट पनि ‘फ्लाइङ मनी’ का रूपमा चिया व्यापारकै लागि चीनले निकालेको हो। पहिले घोडामा चिया राखेर व्यापार गरिन्थ्यो। पछि व्यापारकै क्रममा चियाको करसमेत लागू हुन थाल्यो। सिन्चुआनमा पहिलो कर विभागसमेत बन्यो।
‘चियाकै करको प्रसंगलाई लिएर संसारमा अफिम युद्ध, एङ्लो डच युद्ध, अमेरिकी युद्धसमेत भएको छ,’ जर्जले भने।
उनका अनुसार विश्व बजारको दुई-तिहाइ कालो चियाले ओगटेको छ। तीन देश अग्रस्थानमा छन्– भारत, केन्या र श्रीलंका। जबकि, सत्रौं शताब्दीतिर डच र बेलायतबीच चियाको करबारे युद्ध हुँदा त्यहाँ चियाको खेती सुरु नै भएको थिएन।
वनस्पति विज्ञ तीर्थबहादुर श्रेष्ठका अनुसार अंग्रेजीमा ‘टी’ भनिने चियाको शब्द ल्याटिनको ‘छ्या’ बाट आएको हो। त्यसलाई फ्रान्समा ‘थिया (Thea)’ भनियो। इंगल्यान्डमा आएपछि त्यसको ‘एच्’ हटेर ‘टी’ मात्रै रह्यो।
अहिले बजारमा विभिन्न प्रकारका चिया पाइन्छन्। कोही कागतीसँग पिउँछन् त कोही दूध हालेर। तर तिब्बतमा नुन हालेर चिया पिउने पुरानो प्रथा कायम छ।
श्रेष्ठका अनुसार तिब्बत र हिमाली भागमा चियामा नुन हालिनुको पनि कारण छन्।
‘हिमाली क्षेत्रमा कम तापक्रम हुन्छ। यसकारण पानी उम्लनै समय लाग्छ,’ उनले भने, ‘त्यसैले पानीको तापक्रम बढाउन नुन प्रयोग गरिएको हो। हामीले पिउने चिया हामी कहाँ बसेर पिउँछौं भन्नेले पनि निर्क्यौल गर्छ।’