भुइँचालो गइहाले हामी के गर्छौं? सकेसम्म छिटो दगुर्दै सुरक्षित ठाउँतिर जाने प्रयास गर्छौं। हिँड्दा आफूमाथि खस्ने सामान के-कसो छन्, विचार गर्छौं। यताउता हेरेर सकेसम्म जोगिन खोज्छौं।
यही अवस्थामा दृष्टिविहीन तथा शारीरिक अपांगता भएका र ह्विलचेयर प्रयोग गर्नेहरूले के गर्लान्?
उनीहरूको भुइँचालोसँगका छुट्टै कथा-व्यथा छन्।
मकवानपुरकी सोनिका लामा यिनैमध्ये एक हुन्। सोनिका ह्विलचेयर प्रयोग गर्छिन्। १४ वर्षको उमेरदेखि नै उनलाई कहिले वैसाखी, कहिले ह्विलचेयरले सहारा दिँदै आएको छ।
२०७२ साल वैशाख १२ गतेको भुइँचालोमा सोनिका कोठाभित्र खाना खाँदै थिइन्। एक्कासि जमिन हल्लिन थाल्यो। उनी आत्तिइन्। हत्तपत्त बाहिर निस्किने प्रयास गरिन्। नजिकै भएको ह्विलचेयर समात्न खोजिन्। तर आत्तेका हातले ह्विलचेयर आफूतिर आउनुको साटो अर्कोतिर हुत्तियो। उनी एकातिर, उनको सहारा अर्कोतिर।
ह्विलचेयर फुत्केपछि सोनिकाले ढोका खोल्न खोजिन्। त्यो पनि सकिनन्।
'घर कोक्रोजस्तै हल्लिरह्यो। मसँग केही उपाय थेन, त्यहीँ बसिरहेँ,' उनले त्यो दिन सम्झँदै भनिन्।
भुइँचालोभन्दा बढी उनको मुटु हल्लिरहेको थियो। जतिसक्दो चाँडो सुरक्षित ठाउँमा जान छट्पटी थियो। भुइँचालोको कम्पन अलि कम भएपछि उनी बाहिर जान यति हतारिइन्, कोठाभित्रै भएको ह्विलचेयर देखिनन्। घिस्रिएरै बाहिर निस्किइन्।
त्यो क्षणका यी सम्झना सुनाउँदै गर्दा सोनिका अहिले पनि भावुक हुन्छिन्। बेलाबखत जाने स-साना भुइँचालोले पनि उनको मनमा ठूलो धक्का दिन्छ। हत्पत् बाहिर निस्कन नसक्दा मन खिन्न हुन्छ।
'अरु बाहिर निस्केको देख्दा म आफूलाई मनले धकेल्थेँ,' उनले भनिन्, 'तर खुट्टाले ब्रेक लगाउँथ्यो। मन मात्रै बाहिर जान्छ। शरीर जहीँको तहीँ। त्यस्तोबेला अभागी महशुस हुन्छ। त्यो क्षण भोग्नुपर्दा यो दैवले किन मलाई मात्र ठग्यो होला भन्ने लाग्ने रहेछ।'
बारम्बार आइरहेका पराकम्पनले अपांगता भएकालाई थप अपठ्यारो हुने उनी बताउँछिन्।
'कहिलेकाँही शौचालयभित्रै हुँदा जमिन हल्लिन थाल्छ। त्यतिबेलै हामी अरुजस्तै फुत्त निस्कन सक्दैनौं,' उनले भनिन्, 'मुटुको ढुकढुकी सुनेरै थामिएर बस्नुपर्छ।'
यो पीडा सोनिकाको मात्र होइन।
ललितपुरका हरिशरण अमात्यसँग पनि भुइँचालोको तितो अनुभव छ। २०४८ सालदेखि ह्विलचेयरको साहारामा हिँडिरहेका हरिशरण जमिन हल्लिँदा ह्विलचेयर गुडाउनै गाह्रो हुने बताउँछन्।
'भुइँचालोबेला ह्विलचेयरमा उक्लेर बस्नै गाह्रो हुन्छ। बस्न खोज्दा हल्लाएर तल लडाइहाल्छ,' उनले भने, 'त्यही भएर भुइँचालो जाँदा यत्तिकै बस्नुबाहेक केही उपाय हुन्न। ज्यान जोखिममा राखेर अडिनुपर्दा नरमाइलो लाग्छ। भुइँचालो रोकिएपछि बाहिर जानुको त खास अर्थै रहन्न। हुने छ भने त्यतिन्जेल भइसक्छ।'
अरु सबै सुरक्षित स्थानमा गइरहेको टुलुटुलु हेरेर आफू जोखिममै बसिरहनुपर्दा मन निराश हुने हरिशरणले बताए।
ह्विलचेयर प्रयोगकर्तालाई भुइँचालोमा यति सास्ती छ, दृष्टिबिहीनलाई कति होला।
गोरखाकी रोशनी अधिकारी जन्मजात दृष्टिबिहीन हुन्। उनलाई भुइँचालोले तर्साएको छ। हिँड्दाहिँड्दै भुइँचालो आए आफू हिँडिरहेको बाटो नै बिर्सिने उनी बताउँछिन्।
'त्यतिखेर मनोविज्ञान नै खलबलिन्छ। अरू मान्छे हिँडेको चालले बाटो पहिचान गर्न सहज हुन्छ। भुइँचालो आएपछि यो सबै खलबलिएर कता पुग्छ कता,' रोशनीले भनिन्, 'चाल भेट्टाउन मुस्किल पर्छ। अनि त कता जाने, के गर्ने, केही मेसो पाइँदैन।'
रोशनी जस्तै जन्मजात दृष्टिबिहीन निर श्रेष्ठ पनि भुइँचालोबेला आफूलाई निकै अभागी महशुस गर्छन्। सिन्धुपाल्चोकका निरको अरुबेला आत्मबल बलियो भए पनि भुइँचालोबेला आफूलाई निरीह ठान्छन्।
'जमिन हल्लेपछि तत्काल सुरक्षित ठाउँमा जान सकिँदैन,' उनले भने, 'त्यतिबेला मेरो दृष्टि राम्रो भइदिएको भए अरुजस्तै दौडेर, भागेर सुरक्षित ठाउँमा जान सक्थेँ होला भन्ने लाग्छ।'
अझ नयाँ ठाउँमा भएकाबेला भुइँचालो गए झनै गाह्रो हुने निरले बताए।
'दृष्टिबिहीनलाई सबैभन्दा गाह्रो नयाँ ठाउँमा हुन्छ। आफू बसिरहेको ठाउँ भए बाटो अलि याद हुन्छ। बाहिर निस्कन सकिन्छ भन्ने थोरै भए पनि आश हुन्छ,' निरले भने, 'कतै नयाँ ठाउँमा छौं भने डराउँदै चुप लागेर बस्नुको विकल्प हुँदैन।'