वरिपरि घना जंगल। बीचको खर्क (घाँसेचौर) घरले भरिएको छ। व्यवस्थित सहरजस्तो एकनासे घरहरू।
राता, सेता रङ पोतिएका यी घर गोरखाको लाप्राकस्थित गुप्सीपाखाका हुन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ०७२ को भुइँचालोमा घर गुमाएका लाप्राकीलाई बस्न यी घर बनाइदिएको। भुमे सामुदायिक वनको जग्गा सरकारले भोगचलनको अधिकारसहित लाप्राकीलाई घडेरी दिएको थियो। त्यही घडेरीमा घर ठडिएका छन्। कतिपय घर धमाधम बनिरहेका पनि छन्।
धार्चे गाउँपालिका-४ मा पर्ने लाप्राक गुरुङ र दलित समुदायको बस्ती हो। पुरानो लाप्राक गाउँका बासिन्दा भुइँचालोले घर भत्किएपछि खुला र फराकिलो थलो खोज्दै गुप्सीपाखा उक्लिए। टहरा बनाए। भुइँचालोले जमिन हल्लाउन्जेल गुप्सीमै बसे। विस्तारै भुइँचालो थामिन थालेपछि पुरानो गाउँ झरे, कोही रिनजुलुङतिर ओर्लिए।
लाप्राकीका दु:खमा एनआरएनएले घर बनाइदिएर मह्लमपट्टी बाँधिदिने भयो।
'लाप्राकीले भुइँचालोपछिका तीन हिउँद, बर्खा कुरे तर घर बनेन। यो असार मसान्तभित्र भने नयाँ घर पाइने भयो भनेर उनीहरू खुसी भएका छन्,' यहाँका वडाध्यक्ष राज गुरुङले भने।
उनका अनुसार अब यहाँ शौचालय बनाउन बाँकी छ। त्यो पनि एनआरएनएले नै बनाइदिने भनेको छ। त्यसमा गाउँलेहरूले सहयोग गर्नुपर्नेछ। तला छाप्ने काठ वनबाट गुप्सीसम्म ल्याउने काम भने बाँकी रहेको अध्यक्ष गुरुङले बताए।
एनआरएनएले ५ सय ७३ वटा घर निर्माण गरिराखेको छ। यति घर बनेपछि पनि सबै लाप्राकीको आफ्नो घर हुने छैन। लाभग्राही सूचीमा नाम छुटेको भन्दै ५० जनाले गुनासो गरेका छन्। उनीहरू अब लाभग्राही सूचीमा परे भने सरकारी अनुदान लिएर घर बनाउनुपर्ने छ।
कस्ता मान्छे छुटे त?
वडाध्यक्ष गुरुङका भनाइमा विदेश बस्ने, भुइँचालोले घर क्षति नपुगेकाहरू छुटेका हुन्।
एनआरएनएले बनाइदिएका घरको छाना युपिभिसी जस्तापाताले छाइएको छ भने गारो इँटाका छन्। लाप्राकीले जस्तापाताको सट्टा सल्लाका फलेकले घर छाउने गर्थे। अब घर छाउन पुग्ने काठ जंगलमा कहाँ पाउनु? त्यसैले तला छाप्न मात्रै काठको प्रयोग गरिँदैछ।
‘नापाङ सामुदायिक वनमा एनआरएनएले काठ काटिदिएको छ। काठ बोक्ने काम गाउँलेहरूले गर्नुपर्छ,’ गुरुङले भने, ‘आफ्नो घरमा लाग्नेजति काठ त गाउँलेले बोक्नुपर्यो नि! केहीले काठ बोक्न थालेका छन्, केहीले वास्ता गरेका छैनन्। यसले घर निर्माण सक्न ढिलाइ पनि भएको छ।’
जंगलबाट मोटरबाटोसम्म गाउँलेले काठ बोक्नुपर्छ। त्यसपछि ट्याक्टरमा राखेर गुप्सीसम्म काठ ल्याइन्छ र तला छाप्ने काम एनआरएनएले गरिदिन्छ। गाउँलेले घर निर्माणमा लाग्ने काठ, ढुंगा, गिटीको जोहो श्रमदानबाट गर्ने एनआरएनए र गाउँलेबीच सम्झौता नै गरिएको थियो।
एनआरएनएले बनाएका यी घर लाप्राकीलाई बस्न मिल्ने खालकै रहेको वडाध्यक्ष गुरुङले बताए। ‘चारकोठे घर बनेको छ, तल दुइटा, माथि दुइटा कोठा,’ उनले भने, ‘एक परिवारलाई बस्न मज्जाले पुग्छ। अन्न भण्डारण गर्न पनि हुन्छ।’
गुप्सीपाखामा हिउँदमा हिउँ पर्छ। त्यसैले यो बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना वडाले लिएको गुरुङले सुनाए।
‘एकनासे यति सुन्दर घर अनि प्रकृति। हिउँदमा दुई महिनाजसो हिउँ खेल्न पाइन्छ,’ उनले भने, ‘यी सबै घर होमस्टे (घरबास कार्यक्रम) चलाउन मिल्ने छन्।’
तीन वर्षमा एनआरएनएले घर ठड्याए पनि शौचालय निर्माणको टुंगो छैन। घरैघरले जग्गा भरिएकाले एक घर एक शौचालय निर्माण गर्न गाह्रो छ। बुधबारसम्म बस्ती निर्माण ७७ प्रतिशत सकिए पनि शौचालय घरघरै बेग्लाबेग्लै बनाउने कि सामूहिक प्रयोग गर्न मिल्ने बनाउने भन्ने बहसमै छ।
शौचालय बनाउने लगायत विषयमा छलफल गर्न बिहीबार एनआरएनएका अध्यक्ष भवन भट्टको टोली लाप्राक पुग्दैछ।
‘अध्यक्षज्यू आएर गाउँलेहरूसँग छलफल गर्नुहुन्छ,’ गुप्सीमै रहेका एनआरएनएका प्रोजेक्ट म्यानेजर लक्ष्मण अर्यालले सेतोपाटीसँग भने, ‘शौचालय एनआरएनएले नै बनाउने पक्कापक्की भइसकेको छ। स्थानीय बासिन्दाको सहभागिताका लागि छलफल त गर्नुपर्यो।’
अबका दुई महिनामा शौचालयसहित गाउँलेलाई घर हस्तान्तरण गर्ने तयारीमा एनआरएनए छ। एउटा घरले यहाँ तीन आना एक पैसा आधा दाम जमिन ओगटेको छ। ‘एउटा घर बनाउन १२ लाखजति खर्च भयो,’ उनले भने, ‘स्थानीय बासिन्दाले उत्तिकै श्रमदान पनि गर्नुभएको छ।’
तीन सय हाराहारी एनआरएनएका कामदार र १७० जना नेपाली सेना मिलेर गुप्सीपाखामा घरहरू उभ्याएका हुन्। यी घर रंग्याउने काम बिहीबारसम्म सकिन्छ।
सिरिरि हावा चलिराख्ने गुप्सीपाखा पुरानो लाप्राक गाउँभन्दा सात सय मिटर बढी उचाइ (२७ सय मिटर) मा छ। यहाँ हिउँदमा भारी हिमपात हुन्छ।
घर, शौचालय बाहेक एनआरएनएले सामुदायिक भवन पनि बनाउने तयारी गरेको छ। मणिकामदेवी माध्यमिक विद्यालय पुनर्निर्माण भइसकेको छ। गाउँमा घरघरै पानीसहित धारा ल्याउने काम पनि अबको एक महिनापछि सकिनेछ।
सबै तस्बिर: जेपी श्रेष्ठ