प्रदेश नम्बर पाँचमा सवारी दुर्घटनाका कारण प्रतिमहिना ४८ जनाको मृत्यु हुने गरेको ट्राफिक प्रहरीको तथ्याकंले देखाएको छ । प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलले शनिबारदेखि सञ्चालन गरेको ट्राफिक सप्ताह कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयले उक्त जानकारी गराएको हो । कार्यालयले बढ्दो सडक दुर्घटनाका घटनालाई कम गर्ने अभियानका साथ सप्ताह व्यापी कार्यक्रम आयोजना गरेको जनाएको छ । ट्राफिक नियमप्रति सडक प्रयोगकर्ताहरूको व्यवहार सुधार गरी नियमविपरीत सवारी चलाउने चालकहरूलाई ठाउँका ठाउँ कार्वाही गर्ने, नियमविपरीतका गतिविधि गर्नेलाई तत्कालै समातेर ट्राफिक नियमबारे जानकारी गराइने कार्यालयले जनाएको छ । अभियान मार्फत दुर्घटनाबाट हुने मृत्युको संख्यालाई ४८ बाट घटाई ३० मा झार्ने दावी गएको छ । त्यसैगरी हाल ८७ वटा सवारी साधन प्रतिमहिना दुर्घटना हुने गरेकोमा सो संख्यालाई ५० मा झार्ने, सवारी दुर्घटनाकै कारण प्रतिमहिना घाइते हुने ७०२ संख्यालाई पनि घटाएर ५ सयमा झार्ने ट्राफिक प्रहरीको योजना छ । ट्राफिक सप्ताहको शुभारम्भ गर्दै प्रदेश नम्बर पांचका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले दुर्घटना न्यूनिकरणका लागि प्रदेश सरकारले केही दिनमा यातायात ऐन ल्याउने बताए । उनले सवारी सधानको व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्नका लागि यातायात ऐन ल्याउनको लागि संसदमा विधेयक पेश गरिने बताए । मन्त्री केसीले दुर्घटना न्यूनीकरणका लागि सबैको सहभागि र सक्रियता आवश्यक पर्ने बताए । मन्त्री केसीले दुर्घटना न्यूनीकरणका लागि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्न लागेको बताउँदै ट्राफिक प्रहरीको पुरानो कार्य शैलीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । दुर्घटनापछि कसको गल्ती छ भन्ने कुरा पत्ता लगाउनका लागि प्रदेश सरकारले बर्दघाटदेखि बर्दियासम्मको सडकमा सिसिटिभी जडान गरी निगरानीका लागि तयारी गरिएको मन्त्री केसीले जानकारी गराए । उनले प्रदेश पाँचमा सञ्चालित सवारी साधनमा चढ्दा सुरक्षित रूपमा गन्तव्यमा पुगिन्छ भन्ने कुरालाई स्थापित गराउने गरी प्रदेश सरकारले काम गर्ने प्रतिवद्वता जनाए । प्रदेश पाँचका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआइजी) पिताम्बर अधिकारीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ठाउँ ठाउँमा सुधार अभियान सञ्चालन गर्न लागेको बताए । सडकलाई केन्द्रित गरेर सञ्चालन गरिएको अभियानले मानिसको सडक प्रयोग गर्ने आनीबानीलाई सुधार ल्याउने प्रहरी नायव महानिरीक्षक अधिकारीको भनाइ छ । सवारी दुर्घटनाबाट हुने मृत्यु घटाउने योजनासहित प्रदेश पाँचको ट्राफिक प्रहरीले सडक सभ्यता अभिवृद्धि मूलक साताव्यापी कार्यक्रम सुरू गरेको हो । प्रदेश नम्बर पाँचका १२ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्नेगरी बुटवलमा सडक सभ्यता अभिवृद्धिमूलक प्रभातफेरीसहित विशेष समारोह गरिएको हो । |