गुल्मीमा ६ दिनदेखि फैलिएको झाडापखालाको कारण एक जनाको मृत्यु भएको छ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ दजाकोटका १२ वर्षीय रेशम सिंजालीको झाडापखालाबाट मृत्यु भएको हो।
उनी कक्षा ६ मा अध्ययनरत थिए। झाडापखालाबाट बालककी हजुरआमा र आमा पनि बिरामी परेका छन् । उनीहरूको अहिले गुल्मी अस्पतालमा उपचार भैरहेको छ।
मुसिकोट नगरपालिका ४ बडागाउँस्थित दजाकोट गाउँभरी झाडापखाला फैलिएको छ।
स्थानीय नूरखोलाको खानेपानी प्रयोग गर्ने गाउँका ८५ घरपरिवारमा झाडापखाला फैलिएको हो।
स्थानीय नूरखोलाको खानेपानी प्रयोग गर्ने ८५ घरपरिवारका एक सय ६० जना बढी बिरामी भएको नगरपालिकाले जनाएको छ।
गाउँमा एकाएक सबै मानिसहरू बिरामी हुन थालेपछि जिल्ला अस्पताल तम्घासबाट स्वास्थ्यकर्मीको टोली गाउँमै पुगी उपचार भैरहेको छ।
केही बिरामीलाई जिल्ला अस्पताल तम्घासमा पठाइएको छ।
बिरामी हुने अधिकांशमा टाउको दुख्ने, रिंगटा लाग्ने, ज्वरोसँगै झाडापखाला लाग्ने समस्या देखिएको छ।
गाउँभरीका स्थानीयमा टाउको दुख्ने, रिगंटा लाग्ने, ज्वरोसँगै झाडापखाला लाग्ने समस्या रहेको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए।
स्वास्थ्यकर्मीहरू ल्याएर बिरामीहरूको उपचार भैरहेको बताए। स्थानीय सबै बिरामी परेपछि उक्त मुहानको पानी प्रयोग गर्नमा रोक लगाइएको छ।
दजाकोटमा झाडापखालाको प्रकोपबाट आइतबार बिहानसम्म बिरामी हुनेको संख्या १ सय ७० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिए ।