जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पछिल्लो दस दिनमा जन्मको आधारमा नागरिकता लिएका बुवाआमाका सात सय २४ जना सन्तानले वंशजको आधारमा नागरिकता लिएका छन्।
गृह मन्त्रालयको परिपत्रलाई सर्वोच्च अदालतको अन्तरिम आदेशले सदर गरेपछि जन्मसिद्धको आधारमा नागरिकता लिएका सन्तानले वंशजको आधारमा नागरिकता लिन थालेका हुन्।
सोही अनुरूप वैशाख ८ गतेदेखि १८ गतेसम्म जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ७ सय २४ वटा नागरिकता वितरण गरिएको हो।
जिल्ला प्रशासन कार्यालयसँगै त्यस मातहत रहेका ईलाका प्रहरी कार्यालय बुटवल र मझगावाङबाट नागरिकता वितरण भइरहेको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरले जिल्ला प्रशासन कार्यालयबाट पछिल्लो दस दिनमा जन्मको आधारमा नागरिकता लिएका बुवाआमाका ६ सय १७ जना सन्तानले वंशजको आधारमा नागरिकता लिएको जानकारी दिए।
त्यस्तै, ईलाका प्रहरी कार्यालय बुटवलबाट ५५ र मझगावाङबाट ५२ वटा यस्ता नागरिकता वितरण गरिएको छ ।
जन्मसिद्धको आधारमा नागरिकता पाएकालाई वंशजको आधारमा नागरिकता दिने गरी गृह मन्त्रालयले मन्त्रिस्तरीय निर्णय भन्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेसँगै रुपन्देहीमा पनि जिल्ला प्रशासन तथा ईलाका प्रशासन कार्यालयहरूमा नागरिकता लिनेहरूको घुइँचो लागेको छ।
खासगरी जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको बाक्लो भीड लाग्ने गरेको छ। नागरिकता लिनेहरूमा युवादेखि प्रौढ अवस्थाका समेत रहेका छन्।
प्रशासनका अनुसार २०६३ सालमा जन्मको आधारमा नागरिकता लिएका बुवाआमाका सन्तानलाई मात्रै वंशजका आधारमा नागरिकता दिइएको छ ।
नेपालको संविधान २०७२ जारी भएपछि जन्मसिद्धका आधारमा नागरिकता बनाएकाहरूलाई भने वंशजका आधारमा नागरिकता नदिइएको प्रमुख जिल्ला अधिकारी रानाले बताए ।
‘२०६३ सालमा नागरिकता प्राप्त गरेका बुवाआमाका सन्तानलाई मात्रै नागरिकता वितरण गरिएको छ, रानाले भने, ‘२०७२ साल असोज ३ गते संविधान जारी भइसके पछाडि नागरिकता लिएकाहरूका सन्तानलाई भने हामीले नागरिकता दिएका छैनौं।’
त्यसका अतिरिक्त प्रशासनले गैर नेपालीले नागरिकता बनाउन नपाओस् भनेर विभिन्न १४ वटा मापदण्ड बनाएर वंशजका आधारमा नागरिकता वितरण गरिरहेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले बुवाआमाको जन्मको आधारमा लिएको नागरिकतासँगै थप प्रमाणहरू नेपालमै बसोबास भएको हुनुपर्ने, बसोबास प्रमाणित गरेको हुनुपर्ने, जग्गाको लालपूर्जा राख्नुपर्ने जस्ता प्रावधान राखेको जनाएको छ ।
नागरिकता ऐन २०६३ बमोजिम जन्मका आधारमा नागरिकता पाएका बुवाआमाका सन्तानहरूले बालिग भइसक्दा पनि नागरिकता नपाउँदा पढाइ र रोजगारीको अवसरबाट बञ्चित भएको भन्दै नागरिकता पाउनुपर्ने माग गर्दै आएका थिए।
रुपन्देहीमा २०६३ सालमा करिब ३० हजार व्यक्तिले जन्मका आधारमा नागरिकता लिएको अनुमान गरिएको छ। अब यी सबैका सन्तानले मापदण्ड पूरा गरी वंशजका आधारमा नागरिकता लिनेछन् ।