जस्ता पातामा खिया लागेको जीर्ण भवन। कक्षाकोठामा फाट्टफुट्ट विद्यार्थी । विद्यार्थी भर्ना हुने समय चलिरहेकाले अझ पनि विद्यार्थी भर्ना हुन आउँछन् कि भनेर कुरिरहेका तीन जना शिक्षिकाहरू ।
यो सुर्खेतको वीरेन्द्रनगर–७ ईत्राममा रहेको पदमलिला प्राथमिक विद्यालयको दृश्य हो।
२०४१ सालमा विद्यालयको स्थापना भएको हो। त्यसबेला गाउँका दुई जना अगुवाले दुई कठ्ठा संयुक्त रूपमा जग्गा सहयोग गरेपछि त्यही जमिनमा स्थापना भएको विद्यालय हो यो। त्यस समयमा प्रत्येक वडामा अनिवार्य एउटा विद्यालय स्थापना गर्ने नीति थियो।
कक्षा ५ सम्मको पढाइ हुने पदमलिला प्राथमिकमा जम्मा ४६ जना मात्र विद्यार्थी छन् । विद्यालयको अवस्था सुरूदेखि भने यस्तो होइन। ३ वर्षअघि मात्र यो विद्यालयमा करिब ३५० जनाको हाराहारीमा विद्यार्थीले अध्ययन गर्थे।
वीरेन्द्रनगरकै कतिपय विद्यालयमा विद्यार्थी भर्ना हुने समयमा धेरै आएर प्रवेशिका परीक्षा लिनुपर्ने अवस्था छ। तर पदमलिलामा भने विद्यार्थी न्यून हुने अवस्था आउनु अभिभावकले नै महँगो विद्यालय रोज्नु भएको बताउँछिन् प्रधानाध्यापक चन्द्रप्रभा आचार्य ।
‘नजिकै बाक्लो बस्ती छ, विद्यार्थी पढ्न अन्यत्रै जाने गर्छन्,’ उनले भनिन्, दलित, गरिब, विपन्न, जो मजदूरी गरेर साँझ, बिहानको छाक टार्छन् ती परिवारका बालबालिकामात्र आधा घण्टा पैदल हिँडेर यहाँ पढ्न आउँछन्।’ आँगनमै विद्यालय हुँदाहुँदै पनि अभिभावकहरूले निजी र अंग्रेजी माध्यममा पढाइ हुने विद्यालय रोज्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या न्यून भएको आचार्यले बताइन्।
२०४६ सालबाट पदमलिलामा अध्यापन गराउँदै आएकी शिक्षिका आचार्य २०६४ सालबाट प्रध्यानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी छन्। उनलाई विद्यालयको चिन्तासँगै अभिभावकसँग गुनासो पनि छ । उनी भन्छिन्, ‘नजिकैको विद्यालय छोडेर त्यति टाढासम्म छोराछोरी स्कुल पुर्याउन जानुभन्दा जति विद्यालय छ त्यतिसम्म त यहाँ पढाए पनि हुने।’
अभिभावकको सहयोग विद्यालयलाई नभएको प्रधानाध्यापक आचार्यको भनाइ छ।
‘अभिभावकको सहयोगबिना विद्यालय चल्न मुश्किल पर्छ, छोराछोरी नपढ्ने विद्यालयमा किन सहयोग गर्नुपर्यो भनेर सहयोग गर्दैनन्,’उनले भनिन्,‘अरु विद्यालयले विभिन्न शिर्षक तयार पारेर अभिभावकबाट सहयोग लिने गरे पनि यो विद्यालयमा भने त्यस्तो छैन। यहाँ त बालबालिकाको नतिजा हेर्न आउनुस् भन्दासम्म अभिभावक आउनुहुन्न।’
पछिल्लो समय अभिभावकहरूलाई आफ्नो बालबालिकाको अंग्रेजी ज्ञानबारे बढी चिन्ता भएको उनी बताउँछिन्।
प्रारम्भिक कक्षादेखि निजी विद्यालय रोज्नु सरकारी विद्यालयलाई बेवास्ता गर्नु नै अंग्रेजीप्रति अभिभावकको मोह धेरै भएको बुझ्न सकिने उनी बताउँछिन् । ‘बोर्डिङमा पढाए मेरो बच्चाले अंग्रेजीमा राम्रो गर्छ अनि सबै प्रगति गर्छ भन्ने भ्रमका कारण यस्ता सरकारी विद्यालयहरू मारमा परेका छन्,’ आचार्यले भनिन् ।
विद्यालयको अवस्था सुधार्न स्थानीय सरकारसँग समेत समन्वय गरिएको तर सहयोग हुन नसकेको उनले गुनासो गरिन्।
‘विद्यायको अवस्था नाजुक छ, यो सबैलाई थाहा छ,’ आचार्यले भनिन्, ‘स्थानीय सरकारसँग समन्वय नभएको पनि होइन, तर सहयोग हुन सकेको छैन।
आफूहरूले निजी विद्यालय जत्तिकै राम्रो नतिजा निकाल्ने योजना बनाए पनि भौतिक पूर्वाधार, बजेट, जनशक्ति जस्ता कुराको अभावले समस्या भएको आचार्यले बताइन्।
‘यसरी विद्यालयलाई राम्रो बनाउन सके यहाँ आउने कमजोर समुदायका विद्यार्थीहरूले बलियो शिक्षा लिन सक्थे,’ आचार्यले भनिन् ।
घरदैलो अभियान गरेर भए पनि विद्यालयमा विद्यार्थीको संख्या बढाउन प्रयास गर्ने योजना भने प्रधानाध्यापक आचार्यको छ।
वैशाख महिनासम्म आफैं आउने विद्यार्थी कुर्ने र जेठ महिनामा घरदैलो गरेर विद्यार्थी ल्याउने योजना बनाइएको उनले बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुबकुमार चपाइँले आगामी आर्थिक वर्षको बजेटबाट भवन निर्माणको लागि छुट्याउन नगरपालिकासँग माग गरिएको बताए। चपाइँ सोही वडाको निर्वाचित अध्यक्ष पनि हुन्।
‘मन्त्रालयमा पनि कर्मचारी व्यवस्थापनको लागि अनुरोध गरेको छु,’ उनले भने, ‘अब छिट्टै व्यवस्थापनमा लाग्ने आश्वासन दिएका छन् ।’
केही विद्यालयलाई थेगिनसक्नु चाप
वीरेन्द्रगनर–७ मा रहेको पदमलिला प्राविमा विद्यालय कुर्नुपर्ने अवस्था भैरहँदा वडा नं. ६ मा रहेको जन नमूना माध्यमिक विद्यालयलाई भने विद्यार्थीको चाप थेगिनसक्नु छ ।
विद्यालयमा १, ६, ८ र ९ कक्षाका लागि चार सय जनाको सीमित कोटा छुट्याइएको थियो । तर भर्ना हुनका लागि १ हजार ७ सयको आवेदन आयो । प्रवेश परीक्षा लिएर १ हजार ३ सय विद्यार्थीलाई अस्वीकार गर्नुपरेको जन माविका प्रधानाध्यापक याम श्रेष्ठले बताए। विद्यार्थीलाई कक्षा कोठामा सजिलो बसाइका साथ कोलाहलमुक्त वातावरणमा अध्यापन गराउन सीमित कोटामात्र निर्धारण गरिएको उनले बताए ।
उता, वडा नं. ७ मै रहेको कृष्ण संस्कृत तथा साधारण विद्यालय इत्रामले पनि भर्ना हुन आएका ३५० विद्यार्थीलाई प्रवेशिका परीक्षाबाट अस्वीकार गर्नुपरेको छ। विद्यालयका सहायक प्रधानाध्यापक सुधा रेग्मीका अनुसार बाहिरबाट २५० जनाको लागि कोटा निर्धारण गरिए पनि ६ सय जनाले आवेदन दिएका थिए ।
वीरेन्द्रनगरकै अमरज्योति माध्यमिक विद्यालयले पनि भर्ना हुन आएका ७११ जना विद्यार्थीमध्येबाट प्रवेशिका परीक्षा लिएर ३२१ जना मात्र भर्ना गरेको छ।