रातो मच्छिन्द्रनाथ (बुंगद्य) को मूर्तिलाई आइतबार पाटनको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा विराजमान गराइयो।
र, योसँगै सुरू भयो, पाटनको सबभन्दा ठूलो उत्सव रातो मच्छिन्द्रनाथको जात्रा।
काठमाडौंमा यँया पुन्ही, अर्थात् इन्द्रजात्रा र भक्तपुरमा बिस्का: को जति ठूलो महत्व छ, पाटनमा त्यति नै ठूलो उत्सवका रूपमा मनाइन्छ रातो मच्छिन्द्रनाथको जात्रा।
वर्षकै लामो यो रथयात्रा बुधबारबाट सुरु हुनेछ। यसबीच मच्छिन्द्रनाथको पूजा र स्तोत्र पाठ हुनेछ।
रातो मच्छिन्द्रनाथको रथ प्रत्येक वर्ष पुल्चोकको दमकल चोकस्थित जोगाम्बर पीठ र १२ वर्षमा एकपटक बुंगमतीको रथ चउरमा रहेको जाेगाम्बर पीठमा बनाइन्छ। रथमा पांग्रा जोडेको र खट निर्माण गरेको हेर्नु भनेको खुला संग्रहालयमा घुमेजस्तै हो, जहाँ हाम्रो सयौं वर्ष पुरानो संस्कृति र सभ्यता जीवित भएको अनुभूति हुन्छ।
केही दिनअघि हामीले त्यही खुला संग्रहालय अवलोकन गर्यौं, रथ निर्माणमा संलग्न ७० वर्षीय सूर्यमान डंगोलका साथमा।
करिब १० वर्षदेखि रथ निर्माण गरिरहेका सूर्यमानले रथको इतिहास भन्ने क्रममा हामीलाई १४ सय वर्ष अगाडिको समयमा डोर्याए।
किम्बदन्तीअनुसार गुरु गोरखनाथले आफूलाई कसैले भिक्षा नदिएको झोँकमा सम्पूर्ण नागलाई वशमा लिन्छन्। नागलाई वशमा लिएपछि देशमा वर्षा हुन्न। अनिकाल सुरु हुन्छ।
त्यसपछि स्वयम्भुको शान्तिपुरमा ध्यान बसेका शान्तिकराचार्यले मच्छिन्द्रनाथलाई यहाँ ल्याउँछन्। भारतको आसामदेखि ल्याइएका मच्छिन्द्रनाथ गोरखनाथका गुरू हुन्। उनकै दर्शन गर्न गोरखनाथ उठ्छन्। यही मौकामा नागहरू गोरखनाथको वशबाट मुक्त हुन्छन्, अनि वर्षा हुन्छ। अनिकाल हराउँछ।
डंगोलका अनुसार मच्छिन्द्रनाथलाई राजा नरेन्द्रदेवका पालामा यहाँ ल्याइएको हो। मच्छिन्द्रनाथलाई यहाँ ल्याउँदा ललितपुरमै वर्षभरि ३२ देवदेवीको जात्रा हुने रहेछ। मच्छिन्द्रनाथले जुक्ति लगाएर भनेछन्, ‘युगअनुसार चल्नुपर्छ। वर्षमा यति धेरै भगवानको जात्रा गरेर हुन्न। म एक हात बराबर एक भगवानलाई अदृश्य रूपमा रथमा लिएर हिँड्छु।’
सबै देवदेवता उनको प्रस्तावमा सहमत हुन्छन्। अध्यक्ष रहेका मीननाथ भने झोंक्किन्छन्। भन्छन्, ‘तिम्रो अधिनायकवाद मलाई मन परेन।’
रिसको झोंकमा मच्छिन्द्रनाथलाई बज्रले प्रहार गर्न खोज्दा त्यो तंगालमा रहेको पञ्चबुद्धको चैत्यमा लाग्छ। पछि आफूले गल्ती गरेको महशुस गरेर मीननाथले माफी माग्छन्। मच्छिन्द्रनाथले पनि आफूसँगै मीननाथको रथयात्राको कुरा राखेपछि दुवैबीच सहमति हुन्छ।
‘त्यसैले हामीले देख्ने ३२ हात (४८ फिट) अग्ला मच्छिन्द्रनाथमा ३२ भगवान रहेको विश्वास गरिन्छ,’ डंगोलले भने, ‘उनीसँगै मीननाथको रथयात्रा पनि हुन्छ।’
डंगोलका अनुसार मच्छिन्द्रनाथको रथ निर्माणको अघिल्लो रात महास्नान गरिन्छ। त्यसपछि रथ बनाउने पीठमा ‘हाम्बः की’ जोड्ने काम हुन्छ। रथ कहीँ ढल्यो वा बिग्रियो भने हाम्ब: की जोडेर बनाउने गरिन्छ।
रथ बनाउने विभिन्न मानिस हुन्छन्, जसलाई 'बाराही' भनिन्छ। बेतको काम गर्नेलाई 'ञँवा' भनिन्छ। घकुले रथलाई निश्चित दिशा देखाउने र रथ तान्ने काम गर्छन्।
‘पांग्रा र खट बाँध्ने कार्यलाई 'गथांम्बः बाँध्ने' भनिन्छ। यो कार्य रथ निर्माण सुरु भएको तीन दिनभित्र सक्नुपर्छ,’ डंगोलले भने, ‘त्यसपछि फेरि तीन दिनभित्र चार तला राखेर बाँध्ने गरिन्छ। परेवाका दिन रथको खटमा कःसिम्बः (कौसीको पर्खाल), ढोका र अन्य सजावट सामग्री राखेर पूजाआजा गरेपछि मूर्ति राखिन्छ र जात्रा सुरु हुन्छ।’
मच्छिन्द्रनाथको रथमा रहेका पांग्रालाई भैरव भनिन्छ। ती पांग्रा चार भैरवका प्रतीक हुन्– हरिसिद्धि, लुभु, टिकाभैरव र इखल्खुको कुन्दीभैरव।
जात्रामा मच्छिन्द्रनाथलाई यी चार भैरवले बोकेसरह हुने डंगोल बताउँछन्।
रथ निर्माणका लागि नागब्वसिँ जातको रूख (सौर) चाहिन्छ। त्यो रूख खोज्ने र गुठी अड्डालाई खबर गर्ने काम ब्वसिँ भन्नेहरूले गर्नुपर्ने चलन छ। त्यसैगरी, रथका अन्य विभिन्न भाग बनाउन विभिन्न प्रकारका रूख आवश्यक हुन्छन्।
‘रथको खटलाई चाहिने तूसिँ (लाकुरे जातको काठ), रथकाठ भनेर रथको चारैतिर हालिने १६ वटा स्वसिँ (फलास जातको काठ) र रथ लडे वा बिग्रेर बनाउनुपर्ने भए नपुग काठ विभिन्न जंगलबाट ल्याइन्छ,’ डंगोलले भने, ‘बढी प्रयोगमा आउने भनेको फलास जातकै काठ हो।’
डंगोलका अनुसार वर्षको एकपटक मात्रै रथको पांग्रा फेरिन्छ। त्यो पाटनको यम्पी महाविहार पछाडि बैलाछेँमा राखेर बनाइन्छ। पांग्रा बनाइसकेपछि बाराहीहरूले जीवदान दिने भनेर सिद्धिपूजा गर्छन्। त्यो बेला विश्वकर्मा र चार पांग्रासमेत गरेर पाँच भेडा बलि दिनुपर्ने चलन छ।
अघिल्लो पटक २०७२ सालमा नयाँ पांग्रा त्यसरी नै फेरिएको डंगोलले बताए।
‘मच्छिन्द्रनाथको रथ बुंगमतीदेखि १२ वर्षमा तानेर ल्याउन सम्पूर्ण सामान नयाँ प्रयोग गर्नुपर्ने परम्परा छ,’ डंगोलले भने।
रथको अगाडि लामा-लामा दुई काठ हुन्छन्। त्यसमा डोरी राखेर रथ तानिन्छ, जसलाई घःमाः पासा भनिने रहेछ। नेवाः भाषामा पासा भनको साथी हो। त्यसैगरी, घःमाः भनेको कर्कोट नागराज हो, जुन मंगलबजार भीमसेनस्थानको ढुंगेधारा र उकुबहालको ढुंगेधारामा रहने डंगोल बताउँछन्। त्यसैको अगाडि निलवर्ण भैरवको प्रतिमा राखिन्छ।
रथमा प्रयोग भएका रूखहरू आवश्यकताअनुसार वर्षैपिच्छे फेरिन्छ। त्यसको टुप्पोमा रहेको कमल फूल आकारको प्रतिमा भने फेर्न नमिल्ने डंगोल बताउँछन्।
‘यसलाई ढकी ब्यामो भनिन्छ। यो भनेको हजारवटा पात भएको कमलको फूलसरह हो। भगवान अमिताभ बुद्धका बुबा आएको र हजारवटा कमलमा बसेको स्वरुप हो यो। सबै फेर्न मिले पनि यसलाई फेन मिल्दैन,’ उनले भने।
आइतबार यसलाई पूजाआजा गरी रथको टुप्पोमा राखिएको थियो। त्योसँगै सूर्य र चन्द्रमाका प्रतीक पनि थिए। त्यसले रात र दिनको संकेत गर्ने र प्रत्यक क्षण निगरानी गर्ने डंगोल बताउँछन्।
मच्छिन्द्रनाथको रथ निर्माण भइरहँदा भने ञँवाहरू दमकल नजिकैको सितुपोखरीमा बेत भिजाइरहेका थिए। सडकछेउमै रहेको यो पोखरी मच्छिन्द्रनाथ निर्माणका लागि महत्वपूर्ण रहेको डंगोल बताउँछन्। यही पोखरीमा कुनै समय यमराजले मरेका मान्छेलाई थुपारेर यातना दिने गरेको भनाइ रहेछ।
‘पहिले मरेका मान्छे थुपार्ने ठाउँ अहिले बेत थुपार्ने ठाउँ भएको छ,’ डंगोलले हाँस्दै भने।
उनका अनुसार कुनै समय बेत नेपालकै बर्दिया राष्ट्रिय निकुञ्जबाट ल्याइन्थ्यो। सरकारले निकुञ्जमा बन्देज लगाएपछि भारतको आसामदेखि ल्याउने झन्झट भएको छ।
संस्कृतिविद् ज्योतिरत्न शाक्यका अनुसार रातो मच्छिन्द्रनाथ १०८ लोकेश्वरमध्ये एक हुन्। १०८ मध्ये चार जनाको मात्रै रथ यात्रा हुन्छ– बनेपाको शिष्टिकान्त, चोभारको आन्दादी, बुंगमतिको पदमपानी (रातो मच्छिन्द्रनाथ/बंगद्य) र काठमाडौंको अमोदपानी (सेतो मच्छिन्द्रनाथ)।
यहाँको मच्छिन्द्रनाथ रातो हुनुमा विभिन्न भावार्थ जोडिन्छन्। यसलाई सूर्य र रगतको रंगसँग पनि व्याख्या गरिन्छ। यस्तै अहंकार र अविद्या नास गर्ने र करुणाका खानी भएकाले पनि उनको मुहारको रंग रातो भएको मानिन्छ। यसलाई प्रत्येक वर्ष चित्रकार समूहले रंगरोगन गर्छन्। मच्छिन्द्रनाथको जात्राले सामूहिकताको अर्थ पनि जनाउँछ।
‘बेतको काम गर्ने डंगोल हुन्छन्, रथको भित्र बसेर पूजाआजा गर्ने पाञ्जुको काम शाक्य, बाजा बजाउने कपाली लगायत विभिन्न काम बाँडिएको हुन्छ। त्यसैले हामी सामूहिकता पनि यो जात्रामा देख्छौं,’ उनले भने।
यो रथयात्रा गाबहाल, सुन्धारा, लगनखेल, थथीटोल हुँदै जावालखेलमा भोटो देखाएपछि सकिन्छ। त्यसपछि रथलाई बुंगमति लगिन्छ। त्यहाँ लगेपछि मुख हेर्न जाने कार्य चार दिनपछि हुन्छ।
भोटो जात्राको पनि फरक इतिहास छ।
कर्कोटक नागकी रानीको आँखा दुखेको हुन्छ। नागले आफ्नी श्रीमतीको आँखा सन्चो गराउन वैद्य खोज्दै हिँडछन्। मानिसको रूप धारण गरेर नागपोखरीबाट बाहिर निस्किन्छन्। एउटा किसान आफ्नो खेतमा काम गरिरहेका बेला नागराजले यिनै वैद्य हुन् भन्ने सोचेर उसलाई बोकेर नागलोकमा लगेछन्।
आफ्नो शरीरको मयल रानीको आँखामा लगाइदिएपछि रानीको आँखा सन्चो भएछ। त्यसपछि नागराज खुसी भएर पत्थरहरू जडिजडाउ भएको अमूल्य भोटो दिएछन्। एकदिन खेतमा काग गर्न जाँदा भूतले भोटो चोरेर लगेछ। रथयात्रा हेर्ने क्रममा दुवैको जम्काभेट भएछ। कसको भोटो भन्ने विवाद भएछ। त्यसैले मच्छिन्द्रनाथ जात्रामा भोटो देखाउने प्रचलन रहेको किम्बदन्ती छ।
डंगोलका अनुसार मच्छिन्द्रनाथको रथयात्रा नटुगिंएसम्म केही नबिग्रिएमा सुलक्षण मानिन्छ। यसलाई सिधा बनाउन दायाँ–बायाँ मोटो डोरीले तानिन्छ। दायाँतर्फको देवगण र बायाँतर्फको राक्षसगणले तान्ने भनिन्छ।
‘पहिले पहिले रथमा लः स्वा: अर्थात पानी फूल चढाउने चलन थियो। अहिले त्यसको सट्टा तामा पाताको फूल चढाइन्छ,’ डंगोलले भने, ‘सिद्धिनरसिंहको पालादेखि हःखासम्म ल्याउने दिन चाँदीको पताहा चढाउने गरिन्थ्यो। त्यो चलन पनि अहिले लोप भइसक्यो।’
डंगोलका अनुसार मच्छिन्द्रनाथलाई सत्ययुगमा खगेन्द्र, त्रेतायुगमा कुर्माचार्य, द्वापरयुगमा मेष र कलियुगमा मच्छिन्द्र भनियो।
मच्छिन्द्रनाथको रथ परम्परागत सामग्री र चुकुलकै भरमा निर्माण भएको हुन्छ। संस्कृति अध्येता आलोकसिद्धि तुलाधरका अनुसार मच्छिन्द्रनाथको रथ निर्माण भूकम्पसँग जोडिन्छ। यसको निर्माण प्रक्रियाले हामीलाई भूकम्परोधी घर बनाउन प्रेरित गर्छ।
‘रथलाई यताउता तानिन्छ, घिसारिन्छ। रथ हल्लिन्छ, धर्मराउछ तर कहिले गर्लयाम्गुम्लुङ खस्दैन,’ उनले भने, ‘हामी अहिले आधुनिकताको नाममा आधुनिक सामाग्री प्रयोग गरेर घर बनाउछौं। त्यही पनि भूकम्पमा गर्लयाम्गुम्लुङ खस्छ। रथ निर्माण मात्रै हेरे पनि हामीले पाठ सिक्न सक्छौं।’