परम्परागत शैलीमै पोखरी पुनर्निर्माण गर्नुपर्ने बहस चलिरहँदा पाटनको पूर्णचण्डी पोखरी भने सिमेन्ट, डन्डी लगायत सामग्री प्रयोग गरेर धमाधम आधुनिक शैलीमा बनाइँदैछ।
गाबहालमा रहेको यो पोखरी ललितपुर महानगरपालिका, वडा र उपभोक्ता समितिले पुनर्निर्माण गर्न लागेको हो।
पुनर्निर्माणमा संलग्न उपभोक्ता समिति पोखरीको मौलिकताबारे अनभिज्ञ सुनिन्छन्।
‘हामीलाई यस्तो कुरा थाहै भएन,’ पोखरी अनुगमन समितिका संयोजक अशोक श्रेष्ठले भने, ‘नगरपालिकाले जस्तो नक्सा दियो हामीले त्यस्तै निर्माण गर्न लागेका हौं।’
उनका अनुसार पोखरीमा पानी नअडिने समस्या बारम्बार देखिएपछि ढुंगाको ‘सेड वाल’ बनाउन लागिएको हो। त्यसपछि इट्टाको 'सेड वाल' लगाइनेछ। पोखरीमा भने कालो माटो र इट्टाको सोलिङ गरिने उनले बताए।
समितिका सदस्य विराज चित्रकारका अनुसार पोखरीको केही भाग पहिले बगैंचामा परिणत भएको थियो। हाल त्यसलाई जोडेर पुरानै आकारमा फराकिलो पोखरी निर्माण गरिनेछ। नजिकै गाडी गुड्ने बाटो भएकाले पोखरी मजबुत बनाउन ढलान गर्नुपरेको उनी बताउँछन्।
‘पुरानै शैलीमा निर्माण गर्दा पोखरी बारम्बार भत्किरहन्छ। त्यसैले, सेड वाल लगाउन परेको हो,’ उनले भने, ‘हामीले पोखरीको सौन्दर्य र मजबुतीमा विशेष ध्यान दिएका छौं।’
स्थानीय विजय शर्मा राजोपाध्यायका अनुसार यो पुरातात्विक महत्व बोकेको पोखरी हो।
किम्बदन्तीअनुसार पहिले यहाँ खोला थियो। खोला किनारमा स्वामी पूर्णानन्ददेवले तपस्या गरेका थिए। उनलाई सिद्धिलक्ष्मी देवीले दर्शन दिइन्। उनले आफ्नो तन्त्रमन्त्रको बलमा सिद्धिलक्ष्मीलाई वशमा पारेर त्यहाँ प्रतिस्थापन गरे। पोखरीसँगै पूर्णचण्डी मन्दिर पनि देख्न सकिन्छ।
‘यो मन्दिर स्वामी पूर्णानन्ददेवकै नामबाट रहेको हो,’ राजोपाध्यायले भने, ‘मन्दिरमा तन्त्रविद्याबाट हुने नित्य पूजा राजोपाध्याय पुजारीबाट हुन्छ भने मन्दिरको रेखदेख ज्यापु समुदायले गर्छन्। मन्दिरमा रहेको सिद्धिलक्ष्मीको प्राचीन मूर्ति भने चोरी भइसक्यो।’
पूर्णचण्डीलाई दुर्गा भवानीको दस अवतारमध्ये एक मानिन्छ। पाटनमा हुने हरेक जात्रामा पूर्णचण्डी मन्दिर परिक्रमा गर्ने चलन रहेको उनले बताए। पूर्णचण्डी मन्दिरमै १२ भुजाको विशेष पूजा हुन्छ।
यो मन्दिरमा तुङ्गल र ढुंगाका सिँढी छन्। यसले यहाँ पहिले घाट रहेको संकेत गर्ने राजोपाध्याय बताउँछन्।
‘मन्दिरमा योगेश्वर शिवलिंग छ। यो मसाननजिकै बस्ने शिवलिंग हो। यसले पनि यो पोखरी पहिले खोला भएको जनाउँछ,’ उनले भने, ‘विस्तारै खोला मासिएर पोखरी मात्र बचेको हुन सक्छ।’
राजोपाध्यायका अनुसार पहिले यहाँ एकमहिने मेला लाग्थ्यो। खोलामा बाँदर नुहाउँदा शुभसाइत मानिन्थ्यो। कुनै व्यक्तिले पोखरीमा बाँदर आएर नुहाएको देख्यो भने त्यो महिनाभरि मेला चल्ने गरेको उनले बताए।
पोखरीमा नागदेवताको मूर्ति पनि छ। बच्चाहरूलाई रुन्चे लाग्दा यहाँको पानीले आँखा भिजाए ठिक हुन्छ भन्ने स्थानीय विश्वास छ।
करिब दुई रोपनी तीन आना क्षेत्रफलमा फैलिएको यो पोखरी अतिक्रमणमा परेर खुम्चँदै जाँदा शंखपोखरी पनि भनिन थालेको छ।
‘यो शंखपोखरी भएको कुनै प्रमाण छैन, बरु अतिक्रमण गरेर खुम्च्याउँदा खुम्च्याउँदा शंखजस्तो आकार बनेको हो,’ राजोपाध्याले भने, ‘पोखरी पुनर्निर्माण गर्ने नाममा धेरैले यसलाई कमाई खाने भाँडो बनाए। अहिले पनि पुनर्निर्माणको नाममा त्यही कार्य दोहोरिएको देखिन्छ।’
पाटनका ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका पोखरी मास्न विभिन्न समयमा विभिन्न प्रयास भएका छन्।
अनुगमन समितिका संयोजक अशोक श्रेष्ठका अनुसार पञ्चायतकालमा पोखरी सफा गर्ने भन्दै सुख्खा चउरमा परिणत गरिएको थियो।
लिच्छविकालदेखि नै काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति गर्न राजकुलो प्रणाली स्थापना गरिएको थियो। त्यसमध्ये तीनवटा राजकुलो प्रमुख थिए– काठमाडौंका लागि बुढानिलकण्ड, भक्तपुरका लागि बागेश्वरी र पाटनका लागि टीकाभैरव।
टीकाभैरवदेखि पाटनसम्म सोह्र किलोमिटर लामो राजकुलोबाट आउने पानीले नै यहाँका पोखरी भरिभराउ हुन्थे। पोखरी भरिएपछि ढुंगेधाराहरू रसाउँथे।
‘पञ्चायतकालमा आएर विकासका नाममा राजकुलो विनाश सुरु भयो। टीकाभैरवबाट आउने राजकुलो मासिएपछि पोखरी सुक्दै गयो,’ श्रेष्ठले भने।
यसैको पारि करिब २०० मिटरमा रहेको पिम्बहाल पोखरी पनि सुख्खा चउरमा परिणत भएको थियो। पछि तत्कालीन नगरपालिकाले आधा भाग पार्क र आधामा व्यापारिक स्थल बनाउने प्रस्ताव ल्याएको थियो। स्थानीयको विरोधपछि त्यो योजना कार्यान्वयन हुन सकेन। त्यही योजना पूर्णचण्डीमा कार्यान्वयन भयो।
पोखरीमा पर्खाल लगाएर बगैंचा बनाइयो। यहाँ व्यापारिक स्थलसमेत बनाउने प्रयास भएको अनुगमन समितिका श्रेष्ठ बताउँछन्।
‘पोखरीलाई व्यापारिक स्थल बनाउने भन्दा हामीले चर्को विरोध गर्यौं। पोखरीमा बगैंचा त बनाइसकेको थियो, व्यापारिक स्थल बनाउने प्रस्ताव ल्याएपछि भने हामीले मानेनौं,’ उनले भने।
पोखरी नजिकै दुइटा पाटी छन्। २०७२ को भुइँचालोमा एउटा पाटी भत्किएको थियो। त्यसको पुनर्निर्माण पनि भइरहेको छ। अर्को पाटी पनि जिर्ण भएकाले भत्काएर नयाँ बनाइँदैछ।
यी दुवैको पुनर्निर्माण लागत करिब ५० लाख लाग्ने श्रेष्ठले बताए। त्यसबाहेक पोखरी वरिपरि ढुंगा छाप्ने भनेर प्रदेश सभाले ५५ लाख दिएको छ। विश्व बैंकले वरिपरि सोलार बत्ती हालिदिएको छ। पोखरी वरिपरि बिरुवा पनि रोपिने र पर्यटकीय स्थलका रूपमा विकास गर्ने श्रेष्ठ बताउँछन्।
पोखरीको बीचमा युएन हेबिट्याटले बनाएको ट्यांकी छ। कुनै समय पोखरीको पानी ‘ओभरफ्लो’ भएर बाहिर नजाओस् भनेर उक्त ट्यांकी बनाइएको थियो। काम नआएपछि त्यसलाई हटाउन लागिएको छ। पोखरीमा पानी भर्न आकाशे पानी र बोरिङको पानीमा भर पर्ने श्रेष्ठ बताउँछन्।
‘२०६७ सालमा तत्कालीन नगरपालिकाले बनाएको यो डिप बोरिङ अलपत्र थियो। जापानी कम्पनीले बनाएको बोरिङको साढे ९ लाख रुपैयाँ तिर्नै बाँकी छ। त्यो पैसा तिरेर सफा गरेपछि पोखरी भर्ने योजना बनाएका छौं,’ उनले भने।
यो पोखरी निर्माणका लागि नगरपालिकाले करिब १ करोड बजेट छुट्याएको छ। त्यसको १० प्रतिशत रकम मात्रै उपभोक्ता समितिले बेहोर्नुपर्छ। पोखरीनजिकै निर्माण आयोजना टाँसिएको छ। जसअनुसार जेठ २५ गतेसम्म पोखरी निर्माण गर्नुपर्नेछ।
‘हामी तोकिएकै समयमा पोखरी निर्माण गर्न धमाधम काम अघि बढाइरहेका छौं,’ श्रेष्ठले भने।
पोखरी चौडा बनाएर पुरानै स्वरुपमा फर्काउने भनिए पनि त्यसअनुरूप निर्माण नगरिएको स्थानीय विजय राजोपाध्याय बताउँछन्।
‘मौलिक एवं प्राचीन पोखरीका विषयमा वस्तुगत अध्ययन नै गरिएको छैन। सम्पदामा ढलान गरेर पोखरी बनाउनु भनेको खोक्रो भव्यताबाहेक केही होइन,’ उनले भने।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी