बुटवल उपमहानगरपालिकाले मोतिपुर क्षेत्रका १ सय ५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र(लालपुर्जा) वितरण गरेको छ।
बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ मा पर्ने गाउँ ब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो।
लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१७ का टंकनाथ ज्ञवाली र सोधावती थारुलाई लालपुर्जा हस्तान्तरण गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले साविकका मोतिपुरमा रहेका गाउँब्लकका सबै जग्गालाई असार मसान्तसम्म जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता जाहेर गरे।
२०२७ सालमा पाउनुपर्ने लालपुर्जा अहिलेसम्म नपाएको बताउँदै अहिलेको सरकारले यो प्रकृया अगाडि बढाइ २०७६ सालमा यसको वितरण गरेको बताए।
नगर प्रमुख सुवेदीले धेरै वर्षदेखि भोगचलन गर्दै आएको जग्गामा आजबाट पूर्ण स्वामित्व हुने गरी जग्गाधनी प्रमाणपत्र पाएकोमा जग्गाधनीलाई बधाइ दिँदै औद्योगिक करिडोर र आसपासमा रहेका सबै अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउन लागेको जानकारी दिए।
‘प्रदेश सरकारले आयोग बनाएर काम अगाडि बढाए ठीकै छ, होइन भने कित्ता नं दिएर बहाल बिटौरी चलाइदिन्छौं,’ नगरप्रमुख सुवेदीले भने।
बुटवल वडा नं १७ र १८ का वडा कार्यालयको आयोजनामा दुई छुट्टाछुट्टै स्थानबाट लालपुर्जा वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बुटवल उपमहानगरपालिकाले कृषि र पर्यटनलाई समृद्धिको आधार बनाएको भन्दै लालपुर्जा पाएको भूमिलाई कृषि र पर्यटनसँग जोडेर व्यवसायिक रूपमा सदुपयोग गर्न सक्नुपर्ने बताइन्।
उपप्रमुख आचार्यले जग्गाको दुरुपयोग गरेमा धेरै कठिनाइ पश्चात आएको जग्गाको स्वामित्वको औचित्य नरहने बताइन्।
कार्यक्रममा नापी कार्यालय भैरहवाका प्रमुख नापी अधिकृत अजित कुँवरले वर्षैदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रदान गर्न सहयोग पुर्याउने सबै नगरप्रमुख शिवराज सुवेदी तथा सबै राजनीतिक दलहरूलाई धन्यवाद प्रदान गरे।
जग्गाधनी वितरण कार्यक्रममा वडा नं १७ र १८ का वडाध्यक्षद्वाय सन्तबहादुर राना र हुमनाथ आचार्य, नापी कार्यालयका पदाधिकारीलगायत जनप्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो।