शनिबारको साँझ।
मध्यपुर थिमीका प्रमिला पोखरेल र उनकी आमाजू सिर्जना घिमिरे स्कुटरमा घर फर्कंदै थिए। गठ्ठाघर पुग्दा साढे सात बजेको थियो।
स्कुटर हाँकिरहेकी प्रमिलाको दाहिने कुममा एक्कासि धक्का लाग्यो। स्कुटर धर्मरिएर लड्यो। दुवै सडकमा पछारिए।
अठ्ठाइस वर्षीया प्रमिलाको कुम र घुँडा रगताम्मे भयो। अत्तालिँदै आमाजूलाई हेरिन्। मोटोघाटो ज्यानकी ५५ वर्षीया सिर्जना धर्खरिँदै उभिन खोज्दै थिइन्। हात टाउकोमा थियो। सडकमा टाउको बजारिएछ।
पछि-पछि एउटा मोटरसाइकल आउँदै थियो। मोटरसाइकल चालकलाई प्रमिला र सिर्जनाले चिनेका थिएनन्। तै उनले दगुर्दै गएर स्कुटर लडाउने बा५ख ९५४ नम्बरको मिनीबस रोके।
प्रमिलाका अनुसार ओभरटेक गर्दा मिनिबसको पछिल्लो भागले ठक्कर दिएको थियो।
'मलाई त गाडीको चक्कामुनि नै परिएला कि जस्तो भाथ्यो। दिमागले केही कामै गरेन। मुटु स्याइँय्य भयो,' उनले भनिन्, 'यति भइसक्दा पनि चालकलाई केही थाहै रहेनछ। उनलाई देख्नेबित्तिकै 'मलाई किन हानेको' भन्दै दुई हातले प्याटप्याट पारेँ।'
वरपरका मान्छेले थुम्थुम्याए। पछाडि आइरहेका ती अपरिचित मोटरसाइकल चालकले ट्राफिक प्रहरी बोलाइदिए। उनको नाम सुरज दास रहेछ।
ट्राफिक आउन त आए, तर प्रमिला र सिर्जनाको अवस्था सोधखोज गरेनन्। बरू उनीहरूलाई छेउ लगाएर सिधै चालकसँग कुरा गर्न थाले।
ट्राफिक र चालक दुवै एकछिन हराएको प्रमिलाले बताइन्। अलि बेरमा ट्राफिक आएर हप्काउँदै भनेछन्, 'पछाडिबाट गाडीले कसरी हान्यो? तपाईंहरूले नै ठोक्नुभयो होला।'
प्रहरी देखेर ढुक्क भएकी प्रमिला उल्टै हप्की खानुपरेपछि अत्तालिइन्।
'के-कसो भयो सोध्लान् भनेको त, देख्दै नदेखेको घटनामा हाम्रै पो दोष देखाए,' प्रमिलाले सुनाइन्, 'म अक्कबक्क परेँ। मैले हानेको भए मेरो स्कुटरको ह्यान्डलले पो लाग्ने हो। ढाडमा कसरी ठोक्किन्थ्यो?'
गाडी र स्कुटर दुवैको गति कम भएकाले ठूलो दुर्घटना टरेको उनले बताइन्।
कुरो यतिमै सकिएन।
ट्राफिक र चालक दुवैले एकै स्वरमा 'धम्क्याएको' प्रमिला बताउँछिन्।
'तपाईंहरूकै गल्ती छ। जता पायो त्यतै स्कुटर कुदाउने, केटी मान्छे राम्ररी चलाउँदैनन्। अब मिल्नुभयो भने मिल्नुभयो, नभए भोलि तपाईंलाई झनै खतरा हुन्छ,' ट्राफिकको भनाइ उद्धृत गर्दै प्रमिलाले भनिन्।
छेउछाउका मान्छेले बसकै गल्ती भन्दै थिए। चालक र ट्राफिक भने कसैका कुरा सुनिरहेका थिएनन्। एकोहोरो घाइतेमाथि नै खनिए।
यही गलफतीबीच प्रमिलाले बुबा र भाइलाई फोन गरेर बोलाइन्। सिर्जनाले पनि आफ्ना श्रीमान डाकिन्। सबैले ट्राफिक कार्यालय जाऔं भने। ट्राफिक प्रहरी र चालक भने टसमस थिएनन्। एकोहोरो उनीहरूकै गल्ती देखाउँदै भनिरहेका थिए, 'कुरा लम्बिए तपाईंलाई नै खतरा हुन्छ। मुद्दामा जानुभयो भने झनै अप्ठ्यारो पर्छ, भोलिको पनि सोच्नुहोस्।'
प्रमिलाका आफन्तले 'गल्ती भएको भए सिसिटिभी क्यामरामा हेरौं' भने। वरपर भेला भएकाले पनि दबाब दिन थाले।
बल्लतल्ल महानगरीय ट्राफिक प्रभाग, गठ्ठाघरमा घटना दर्ता भयो। बस र स्कुटर त्यहीँ राखियो। गठ्ठाघरको सिसिटिभी क्यामरा बिग्रिएको उनीहरूले त्यहीँ गएर थाहा पाए।
प्रमिला र सिर्जनाले नागरिक अस्पतालमा उपचार गराए। प्रमिलाको घुँडा र कुमको घाउ ड्रेसिङ गरियो। सिर्जनाले टाउको अलिअलि दुखेको छ भनिन्। भोलिपल्ट आइतबार भने उनलाई हनहनी ज्वरो आयो। फेरि अस्पताल गएर सिटिस्क्यान गराइन्।
'धन्न केही असर देखिएन। तर दिदी आजसम्म ज्वरोले थलिनुभएको छ,' मंगलबार सेतोपाटीसँगको भेटमा उनले सुनाइन्, 'म पनि बल्ल आज उठेकी हुँ। तीन दिन ज्वरोले सुतेको सुत्यै। पसल पनि आजै खोलेकी।'
मध्यपुर अस्पतालसामु प्रमिलाको मेडिकल पसल छ। श्रीमान दोलखाको विद्युत प्राधिकरणमा काम गर्छन्। उतै बस्छन्। प्रमिला र उनका साना छोरा मध्यपुर बस्छन्।
उनको घुँडा र कुमको चोट आलै देखिन्थ्यो। ढाड र जिउ दुखेर अझै राम्ररी बस्न नसकेको उनले बताइन्।
प्रमिलाका अनुसार घटनाको भोलिपल्ट, आइतबार बिहान सात बजेतिर उनका आमाबुबा र सिर्जनाका श्रीमान गठ्ठाघर ट्राफिक कार्यालय पुगे। ठक्कर दिने चालक र बस समितिका प्रतिनिधि पनि आएका थिए। केही समयपछि प्रमिलाका देवर विशालकुमार भण्डारी पुगे।
प्रमिलाका आफन्तले चालकलाई कारबाही हुनुपर्ने, स्कुटर मर्मत गरिदिनुपर्ने र उपचार खर्च बेहोर्नुपर्ने माग राखे।
चालक र समितिले मानेनन्।
'उनीहरूले स्कुटरकै गल्ती हो भन्दै हामीलाई हप्काए,' प्रमिलाका देवर विशालले सेतोपाटीसँग भने, 'हामी जम्मा तीन-चार जना थियौं, उता धेरै मान्छे। उनीहरूको चर्को आवाजले हाम्रो कुरा त्यसै दबियो।'
प्रमिला र बस पक्षबीच चर्काचर्की भइरहँदा प्रहरी पक्षले कुनै वास्ता नगरेको विशालको भनाइ छ।
'चालकले हामीलाई दोषी देखाउँदै गर्दा प्रहरीले केही सोधीखोजी गरेनन्,' विशालले भने, 'बस समितिका मान्छेले बारम्बार हाम्रै दोष हो भन्दै जिम्मेवारीबाट पन्छिन खोज्दै थिए। ट्राफिकले पनि मिल्नुस् मात्रै भनिराखे। उनीहरू हाम्रा लागि भन्दा समितिलाई सहयोग गर्न बसेझैं लाग्यो।'
बिहान सात बजे सुरू भएको वार्ता दिउँसो तीन बजेतिर टुंगियो। प्रहरीबाट कुनै सहयोग नपाएपछि उनीहरू समितिको कुरा मान्न बाध्य भए।
समितिले उपचार खर्चबापत् पाँच हजार रूपैयाँ बेहोर्ने सहमति जनायो। स्कुटर बनाउन भने मानेनन्। दुर्घटनाका कारण प्रमिला र सिर्जनाको स्वास्थ्यमा पछि आइपर्ने समस्यामा बसवाला जिम्मेवार नहुने भयो।
समितिका प्रतिनिधिले 'मायाले अलिकति खर्च बेहोर्ने भनेका हौं, अरू कुरा नगर्नुस्' भन्दै सहमति गर्न दबाब दिएको उनले बताए।
'समितिको त्यस्तो पकड रहेछ, अनि जनताको कुरा कसरी सुनुवाइ हुन्छ?' विशालले भने, 'हाम्रो आशा ट्राफिकले सहयोग गरून् भन्ने थियो। तर त्यहाँ त हामीले आफ्नै बलबुतामा चालक र उसको टोलीसँग मोलमोलाइ गर्नुपर्ने रहेछ।'
प्रमिला पनि घटनास्थलमा उपस्थित ट्राफिक प्रहरीले चालककै पक्षमा लागेर धम्कीपूर्ण रूपमा मिलेमतो गर्न दबाब दिएपछि प्रहरीमाथि भरोसा नरहेको बताउँछिन्।
'न अघिल्लो दिन लड्दा सहयोग गरे, न कार्यालयमा,' उनले भनिन्, 'मलाई अब उनीहरूको भर छैन। हामीलाई सहयोग गर्नुको साटो चालकसँग मिलेर धम्क्याउने रहेछन्।'
हामीले यो दुर्घटनाबारे गठ्ठाघरका सब-इन्सपेक्टर राजाराम कार्कीसँग कुरा गर्यौं।
'हामील सहयोग नगरेको भन्ने होइन,' उनले भने, 'पीडितको उपचार खर्च बस समितिले बेहोर्ने सहमति भएको हो। पीडित पक्षलाई हामीले सहयोग नगर्ने कुरै हुँदैन।'
प्रमिला र विशालको भनाइमा असहमति जनाए पनि सडकमा खटिएका ट्राफिकले 'अन्जान' मा गल्ती बोलेको हुनसक्ने उनले बताए।
'भर्खरै आएका नयाँ र अनुभव नभएकाहरूले नबोल्नुपर्ने कुरा बोल्न सक्छन्,' कार्कीले भने, 'त्यसका निम्ति हामी माफी माग्छौं।'
उनका अनुसार कुनै पनि दुर्घटनामा 'दोषी को' भनेर ठम्याउने काम घटनास्थलमा भएका ट्राफिक प्रहरीकै हो। त्यसमा उनीहरूले आँखाले देखेका भए सोहीअनुसार निर्णय गर्छन्, नभए सिसिटिभी क्यामरा हेर्छन्। सिसिटिभी नभएका ठाउँमा दुवै पक्षका चालकसँग कुराकानी र प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गर्छन्।
'सबै बुझेर गल्ती ठम्याउने हो। त्यहीअनुसार सहमतिको प्रक्रिया अघि बढ्छ,' उनले भने, 'अनुभव नभएका ट्राफिक परे प्रक्रिया नबुझी केही गल्ती गर्न सक्छन्। नबोल्ने कुरा बोल्न सक्छन्।'
उसो भए यस्ता सबै दुर्घटना सहमतिमै टुंगिने हुन्? कारबाही हुँदैन?
उनका अनुसार अहिलेसम्म यस्ता दुर्घटनामा विरलै मुद्दा पर्छ। सबैजसो सहमतिमै टुंगिएका छन्। चाहे सानो दुर्घटना होस्, वा गम्भीर।
'चालकको लापरबाही वा मापसे भए हामी चिट काटेर थप कारबाही गर्छौं,' कार्कीले भने, 'नभए सामान्य दुर्घटनामा सहमति नै हुने हो।'
पीडित प्रमिला भने यो प्रक्रिया नै गलत भएको बताउँछिन्। वस्तुको भाउ लगाएझैं उपचार र क्षतिपूर्तिको मोलमोलाइ प्रक्रियाले धेरै पीडित मर्कामा परेको उनको भनाइ छ।
'हाम्रो त अंगभंग भएन, बाँच्यौं। गम्भीर घटनाहरूमा के हुन्छ? आफ्ना कुरा राख्न नसक्नेको के हुन्छ,' प्रमिलाले प्रश्न गरिन्, 'हामीले बलियो भएर कुरा राख्दा त निरीह सावित भयौं, सोझासाझाको के गति होला?'
'ट्राफिक प्रहरीले सहयोग गर्नुपर्ने हो। पीडित आफैंले हारगुहार गरेर मागेर कसरी सक्छ?' उनले भनिन्।