बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पुग्दा बिहानको दस बज्न सात मिनेट बाँकी थियो।
दिनभरि सवारी साधन तथा सेवाग्राहीले भरिभराउ हुने प्रशासन कार्यालय परिसर पनि खाली थियो। कार्यालय सहयोगीहरू कार्यालयका शाखाहरू खोल्ने सरसफाइ गर्ने काममा व्यस्त थिए। अरु कर्मचारीहरू भने कार्यालयमा आउने क्रम जारी थियो ।
घडीमा दस बज्नै लाग्दा कार्यालयमा उपस्थित कर्मचारीहरू चनाखो बन्न थाले ।
यत्तिकैमा प्रशासन कार्यालय परिसरमा सयौं थुंगा फुलका हामी......भन्दै नेपाली राष्ट्रिय गितको धून बज्यो। बाहिर राखिएको माइकमा जोडिएको कारण राष्ट्रिय गीतको धून प्रशासन कार्यालय बाहिरसम्मै घन्किएको थियो।
राष्ट्रिय गीतको धूनसँगै त्यहाँको माहोल फेरियो।
कार्यालयभित्र र बाहिर रहेका कर्मचारी, सुरक्षाकर्मी, कार्यालयभित्र प्रवेश गर्दै गरेका सेवाग्राही सबै आफूरहेकै स्थानमा उभिएर राष्ट्रिय गीतमा सहभागी भए। सरकारी तथा गैरसरकारी कार्यालय तथा विभिन्न सामाजिक संघसंस्थाहरूले दिनहुँ आयोजना गर्ने औपचारिक कार्यक्रमको सुरूआत राष्ट्रिय गीतबाटै गर्ने गरे पनि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पछिल्लो समय कार्यालयको दैनिक सेवाको सुरूआत नै राष्ट्रिय गीतबाट गर्ने गरेको छ।
रुपन्देही भारतीय सीमा नाकासँग जोडिएको जिल्ला हो। संविधान जारी भएसँगै संविधानप्रति असहमति जनाउँदै मधेश केन्द्रित दलहरूले गरेको आन्दोलनको प्रभाव रुपन्देहीमा पनि व्यापक पर्यो।
वर्षौंदेखि एकआपसमा मिलेर सीमा रक्षा गरेका नेपालीहरूमा मधेशी र पहाडीको नाममा विभाजन ल्याउने प्रयास पनि नभएको होइन। तर सीमा क्षेत्रका सचेत नागरिकहरूको सुझबुझका कारण तराईका अरु जिल्लाहरूमा जस्तो रुपन्देहीमा आन्दोलनको प्रभाव कम पर्यो। तर पनि विभिन्न जातजाति, वर्ग, समुदायमा समाज विभाजनमा गइरहँदा राष्ट्रियता नै कमजोर हुँदै गएको टीकाटिप्पणी आउने गर्छन्।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना पछिल्लो समय राष्ट्रियता कमजोर बन्दै गएको आभास भइरहँदा राष्ट्रसेवक कर्मचारी तथा सेवाग्राहीलाई समेत राष्ट्रियताप्रतिको भावना जागृत गर्ने उद्देश्यले राष्ट्रगानबाटै सेवाको सुरूआत गर्न थालिएको बताउँछन्।
‘हामी विद्यालयमा एक कक्षाबाटै राष्ट्रिय गीत घन्काएर हुर्कियौं, अहिले पनि विद्यालयहरूले राष्ट्रिय गीतबाटै पठनपाठनका कामहरू सुरू गर्दै आएका छन्, त्यसैले पनि विद्यालयहरूमा पुग्दा त्यहाँको वातावरण नै फरक लाग्छ,’ उनी भन्छन्,‘विभिन्न समूह, वर्ग समुदायमा विभाजित मनहरूलाई जोड्न पनि जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय गीतबाट आफ्नो सेवा सुरू गर्न थालेको हो।’
गत माघ १ गतेदेखि हरेक महिना कुनै न कुनै नयाँ कामको सुरूआत गरेको जिल्ला प्रशासन कार्यालयले आफ्नो नौलो कामको सुरूआत पनि राष्ट्रिय गीतबाट सेवा सुरू गर्ने निर्णयबाट गरेको हो।
सुरूको महिना मेनुवल रूपमा बजाइने गरेको राष्ट्रिय गीत फागुनदेखि भने सफ्टवेयरमार्फत् अटोमेटिक रूपमा बजाउन थालिएको छ।
कार्यालयले सुरू गरेको टोकन प्रणालीमा जडान गरिएको सफ्टवेयरमा बिहानको १० बजे राष्ट्रिय गीतको धून बज्ने गरी सेटिङ गरिएको प्रमुख जिल्ला अधिकारी रानामगरले जानकारी दिए।
दस नबज्दै कार्यालयमा उपस्थित भएका कर्मचारीले राष्ट्रिय गीत नबज्दै कुनै पनि काम सुरू गर्दैनन् भने सेवाग्राही कार्यालयभित्र प्रवेश गर्न पनि राष्ट्रिय गीतकै पर्खाइमा बस्छन्।
कार्यालयको सेवालाई छिटो, सहज र पारदर्शि बनाउने अभियान सुरू गरेको जिल्ला प्रशासन कार्यालयले हरेक महिना यस्तै विभिन्न अभ्यासहरू गर्दै आएको छ ।
सोही अनुरूप बुधबारदेखि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई नि:शुल्क चिया र कफीको व्यवस्था गर्न सुरू गरेको छ।
बुधबार जिल्ला प्रशासन कार्यालय परिसरमा निर्माण गरिएको आकर्षक बगैंचा र गोलघरको उद्घाटनसँगै चिया कफी वितरण गर्ने कार्यको पनि सुरूआत गरिएको हो।
उद्योगी–व्यवसायी तथा विभिन्न सामाजिक संघसंस्थासँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीमैत्री कामहरूको थालनी गरेको जनाएको छ।
गोलघर र बगैंचा निर्माणपछि कार्यालय परिसरमा सौन्दर्य थपिदिएको छ। त्यस्तै सेवा लिन पालो पर्खिनुपर्ने र लामो समय प्रशासनमै बिताउनुपर्दा चियाकफी पिउन बाहिर जानु नपरोस् भन्ने उद्देश्यले कार्यालयभित्रै नि:शुल्क चिया कफीको भेन्डिङ मेसिन जडान गरिएको प्रमुख जिल्ला अधिकारी रानामगरले जानकारी दिए।
प्रशासन कार्यालयमा आवश्यक बजेट नभए पनि उद्योगी व्यवसायीहरूसँग रकम संकलन गरी जनमैत्री प्रशासन बनाउन आफूहरू लागेको प्रमुख जिल्ला अधिकारी रानामगरले बताए ।
यसअघि जिल्ला प्रशासनले सेवाग्राहीलाई टोकन प्रणाली, (तातो/चिसो) पिउने पानी हुलाक टिकटको व्यवस्था, नोटिस बोर्ड सेवा र प्रशासन बुलेटिनको प्रकाशन शुभारम्भ गरिसकेको छ।
यस्तै, जिल्ला सुरक्षा सूचना केन्द्र, स्तनपान कक्ष, वेटिङ स्थलमा टेलिभिजन, पुस्तकालय, कार्यालय समयभरि फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोगमा रोक, कर्मचारीहरूलाई पोशाकका अतिरिक्त अनिवार्य नामसहितको व्याच लगाएर सेवा दिने व्यवस्था लगायत ‘डिएओ रुपन्देही’ नामक मोबाइल एप्स पनि सञ्चालनमा ल्याइसकेको छ ।