विश्व सम्पदा सूचीकृत स्वयम्भूमा बन्न लागेको आधुनिक प्रवेशद्वार भत्काइएको छ। काठमाडौं महानगरपालिकाले पुरातत्वलाई स्वयम्भूको गरिमा बचाइराख्न र नयाँ संरचना निर्माण स्वीकृत नगर्न पत्राचार गरेपछि शुक्रबार यहाँ डोजर लगाएर पर्खाल भत्काइएको हो।
भगवानपाउस्थित पूर्वी प्रवेशद्वारमा रहेको यो गेट कंक्रिट प्रयोग गरेर निर्माण गर्दा विवादित बनेको थियो। २०७२ को भूकम्पमा भत्किएको यो प्रवेशद्वारलाई मनाङ समाज नामक संस्थाले २०३२ सालकै मापदण्डअनुसार निर्माण गर्न थालेका थिए।
आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै स्थानीयले चर्को विरोध गरेका थिए। त्यस विषयमा सूचना पाएपछि वडा कार्यालयले निर्माण पक्षलाई वैशाख ३० गतेदेखि काम रोक्का गरी निर्माणसम्बन्धी जानकारी महानगरको केन्द्रीय कार्यालयमा पठाएको थियो।
सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठका अनुसार शुक्रबार भने प्रवेशद्वारको डण्डी काटेर खाल्डो पुरिएको छ।
‘यो भनेको महानगरपालिकाको निकै सरहानीय काम हो। यहाँ भइरहेका अन्य विनाशका गतिविधि पनि चाँडै रोकिने आशा छ,’ श्रेष्ठले भने।
आधुनिक तरिकाले प्रवेशद्वार निर्माणबाहेक स्वयम्भूमा आफूखुसी मूर्तिमा रंगरोगन, चैत्य निर्माण, मापदण्ड विपरीत संरचना, पानीको लागि ड्रिलिङ लगायतका गतिविधि भने कायम छन्। यसले युनेस्कोको विश्व सम्पदा सूचीबाटै स्वयम्भूको नाम हट्ने खतरा भएको स्थानीय बताउँछन्।
‘स्वयम्भू संरक्षण एवं निर्माण मापदण्ड २०६४’ का अनुसार स्वयम्भू डाँडामा अवस्थित महाचैत्य वरिपरिका संरचनाले पनि अधिकतम उचाइ २४ फिट कायम गर्नुपर्छ।