बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबार खीर उत्सव भएको छ । प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको अवसर पारेर खीर उत्सव गरिएको उत्सव संयोजक खिमबहादुर खत्रीले जानकारी दिए ।
शनिबार लुम्बिनीमा २५६३ औं बुद्ध जयन्तीसँगै लुम्बिनी भ्रमण वर्षको उद्घाटन हुँदैछ । भ्रमण वर्षको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली लगायत अतिथिहरु लुम्बिनी आउँदैछन् । उद्घाटन अन्तर्गत रुपन्देही, कपिलवस्तु र नवलपरासीमा तीन दिनसम्म विभिन्न कार्यक्रमहरु हुनेछन् ।
मूल समारोहको उद्घाटन अघि शुक्रवार सुजाता खीर उत्सव गरेर भ्रमण वर्षको शुरुवात भएको छ । शुक्रबार ९ बजेदेखि ११ बजेसम्म लुम्बिनीमा रहेका दुईसय बढी भिक्षु–भिक्षुणी र अन्य आगन्तुकलाई ‘सुजाता खीर’ खान दिइएको थियो ।
भविष्यमा ‘सुजाता खीर’लाई लुम्बिनी आउने पर्यटकका लागि ब्राण्डेड परिकार बनाउन प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक खीर उत्सव आयोजना गरिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बताए । सुजाता खीर उत्सवका लागि प्रदेश सरकारले ५ लाख रुपैयाँ बजेट छुट्टाएको थियो ।
सिद्धार्थ गौतमले ज्ञानको खोजीमा गृह त्याग गरेपछि ६ वर्षसम्म भारतको बोधगयामा गएर महातपस्या गरे । धेरै गुरुको आश्रममा गएर सेवा गरे । एकपछि अर्को साधना गर्दै गए ।
तर ज्ञान प्राप्त भएन । एक दिन गुरुले दिन–प्रतिदिन भोजन कम गर्दै जानु । जुन दिन भोजनमा एउटामात्र चामलको दाना रहन्छ, त्यो दिन ज्ञान प्राप्त हुन्छ । सिद्धार्थले त्यहीअनुसार गर्दै गए । ६ महिनामा एउटा चामलको दानामात्र भोजन भयो । ज्ञान त प्राप्त भएन, तर शरीर पूर्णतया जीर्ण र कमजोर बन्दै गयो । शरीरमा हड्डी र छालामात्र बाँकी रह्यो । सिद्धार्थलाई निरन्जना नदी तरेर भिक्षाटनमा जानुपर्ने थियो । तर उनी नदी तर्न सकेनन्, बाटोमै ढले । हातखुट्टा गल्यो । तब सिद्धार्थको चेतना खुल्यो, ‘मलाई यो के भयो ? भवसागर तर्ने उद्देश्यले सन्यास लिएको हुँ । तर आज यो सानो नदी पनि तर्न सकिन ?’
एक बिहान निरन्जना नदीमा स्नान गरेर बसेका थिए । सुजाता नामक युवतीले दान गरेको खीर भोजन गरे । निराहार तपस्या बसेका गौतमबुद्ध कमजोर र जीर्ण भइसकेको अवस्थामा सुजाताले ल्याएको खीर खाएपछि सोही राती सिद्धार्थले ज्ञान प्राप्त गरे ।
खाना नखाएर स्वास्थ्य अवस्था खराब हुँदा होइन, शुद्ध भोजन खाएर स्वस्थ भएपछि नै ज्ञान प्राप्त हुँदो रहेछ भन्ने धारणा त्यति बेला बनेको तर यो कुरा अहिलेसम्म उजागर नभएकाले बुद्धले ज्ञान प्राप्त गरेको त्यही घटनालाई उजागर गर्न सुजाता खीर उत्सवको रुपमा मनाउन थालिएको हो ।
लुम्बिनी शान्ति भूमि पनि भएकाले यहाँ आउने आन्तरिक र वाह्य पर्यटकका लागि पवित्र र शुद्ध शाकाहारी खाना खीरलाई लुम्बिनीको ब्राण्डेड परिकार बनाएर व्यवसायिक रुपमा विक्रि गर्न सुजाता खीर उत्सवले टेवा पुग्ने भ्रमण वर्ष सचिवालय संयोजक टुकराज पाण्डेले बताए ।