प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी ग्राममा वृक्षारोपणसँगै २५६३ औं बुद्धजयन्तीको दिनको शुभारम्भ गरेका छन्।
नयाँ लुम्बिनी ग्राममा आपको बिरुवा रोप्दै प्रधानमन्त्री ओलीले बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को बिहानी कार्यक्रम सुरू गरेका हुन्।
वृक्षारोपणपछि प्रधानमन्त्री ओलीले म्युजियम अगाडि नेपालमा अहिलेसम्मकै सबभन्दा अग्लो राष्ट्रिय झण्डा फहराएका छन्।
अहिले बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्षको उद्घाटन कार्यक्रमको तयारी गरिएको छ। लुम्बिनीस्थित सम्मेलन हलमा उद्घाटन कार्यक्रमको तयारी गरिएको छ।
लुम्बिनी विकास कोषले हरेक वर्ष आयोजना गर्ने बुद्ध जयन्ती तथा प्रदेश नम्बर पाँच सरकारले पहिलो पटक आयोजना गरेको लुम्बिनी भ्रमण वर्षको उद्घाटन कार्यक्रमसँगै हुने भएपछि लुम्बिनीमा त्यसको व्यापक तयारी गरिएको छ।
कार्यक्रमको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आउँदै छिन् भने प्रधानमन्त्री ओली शुक्रबारदेखि नै लुम्बिनीमा छन्।
अहिले मायादेवी मन्दिरदेखि शान्ति र्याली निकाली कार्यक्रमस्थलमा ल्याइएको छ।
मायादेवी मन्दिरदेखि रथारोहण गरी ल्याइएको बेबि बुद्ध मूर्ति सभाहलमा ल्याइएको छ।
उद्घाटन कार्यक्रम अघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले निर्माणाधीन अन्तर्राष्ट्रिय सभाहल तथा ध्यानकेन्द्रको अवलोकन गर्ने छन्।
उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै प्रदेश पाँच सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी प्रधानमन्त्री ओलीबाट थाई विहारमा भिक्षु संघलाई भोजनदान र अष्टपरिस्कार दान दिने कार्यक्रम तय गरिएको छ।