आज वैशाख पूर्णिमा अर्थात् २५६३ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ।
यसै अवसरमा काठमाडौंको बौद्धमा बुद्ध धर्मावलम्बीहरूले विशेष पूजापाठ गरी बुद्ध जयन्ती मनाएका छन्।
नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो। यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे।
छ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रूपमा उनले विश्व प्रसिद्धि पाए।
वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ।
काठमाडौंको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा यो दिन विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ।
बुद्ध धर्म र गौतमबुद्धका उपदेश मान्ने अनुयायीहरू नेपालसहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन्।
संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ। गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीले भगवान विष्णुका १० अवतारमध्ये एक अवतार मान्दछन् ।