विशेष तामझामका साथ २५६३ औं बुद्धजयन्ती शनिबार मनाइयो।
विगतका वर्षहरूमा मनाइने बुद्धजयन्ती भन्दा यस पटकको बुद्धजयन्तीसँगै लुम्बिनी भ्रमण वर्ष २०७६ समेत शुभारम्भ हुने भएपछि एक डेढ महिना पहिलेदेखि नै यसको प्रचारप्रसार र तयारी गरिएको थियो ।
विश्वशान्तिका अग्रदूत महामानव गौतमबुद्धको जन्मस्थल भएर पनि विश्वसामु लुम्बिनीको व्यापक प्रचार प्रसार गर्न नसक्दा नेपालले लुम्बिनीबाट लाभ लिने प्रशस्त संभावना हुँदाहुँदै पनि लाभ लिन नसकेको गुनासो बेलाबेलामा सुन्ने गरिन्छ।
यो क्षेत्रमा लुम्बिनी रहेकोले पनि प्रदेश नं पाँच सरकारले कृषि र उद्योगपछि पर्यटनलाई प्रदेशको समृद्धिको आधार मानेको छ।
लुम्बिनी प्रदेश पाँचको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल भए पनि यो अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र भएकोले यसबाट प्रदेशले मात्र नभइ समग्र राष्ट्रले नै लाभ लिनुपर्छ भन्ने उद्देश्यले पहिलो पटक लुम्बिनी भ्रमणवर्षको शुभारम्भ गरिएको छ।
‘बुद्धजन्मस्थल लुम्बिनी जाऔं, लुम्बिनी भ्रमण वर्ष २०७६ सफल पारौं’ भन्ने नाराका साथ शनिबारदेखि सुरू गरिएको लुम्बिनी भ्रमण वर्ष अर्को वर्षको बुद्धजयन्तीको दिन समापन गरिने छ।
यो अवधिमा लुम्बिनीमा २५ लाख पर्यटकलाई भित्राएर लुम्बिनीको अवलोकन गराउने प्रदेश सरकारको लक्ष्य छ।
सोही अनुसार प्रदेश सरकारले प्रचारप्रसारका कार्यक्रमसँगै वर्षभरि आयोजना गर्ने कार्यक्रम तालिका समेत सार्वजनिक गरिसकेको छ।
तर, लुम्बिनी विकास कोषबाट टाढा रहेका स्थानीयलाई लुम्बिनीप्रति अपनत्व जगाउन नसक्दा कतै लुम्बिनी आउने पर्यटकमा नकारात्मक सन्देश जाने त होइन भन्ने आशंका उब्जिन थालेको छ।
विश्वभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्र, विश्वशान्तिका अग्रदूत महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई लुम्बिनी विकास कोषले पर्खालभित्र मात्र सीमित राखेको स्थानीयले गुनासो गर्दै आएका छन्।
न त लुम्बिनी विकास कोषले स्थानीयवासीलाई लुम्बिनीको महत्व बारेमा बुझाउन सक्यो, न त स्थानीयवासीले पनि लुम्बिनीप्रति आफूहरूको अपनत्व स्वीकार गर्न सके।
त्यसको प्रभाव २५६३ औं बुद्धजयन्ती तथा लुम्बिनी भ्रमण वर्षको उद्घाटन कार्यक्रममा देखिएका केही दृश्यहरूले प्रष्ट गराएको छ।
वर्षभरि पर्खालभित्रै सीमित रहने लुम्बिनी विकास कोषले बुद्धजयन्तीको दिन भने स्थानीय विद्यालयका बालबालिकालगायत सर्वसाधारणलाई सहभागी गराउँदै शान्ति र्याली निकाल्ने गर्छ।
यसवर्ष पनि शान्ति र्यालीमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
बुद्धजयन्ती तथा लुम्बिनी भ्रमण वर्षको उद्घाटनसँगै गरिए पनि मञ्च व्यवस्थापन, र्याली व्यवस्थापन, सहभागीहरूलाई भोजन लगायतको कामको जिम्मेवारी लुम्बिनी विकास कोषले लिएको थियो।
लुम्बिनी विकास कोषको आग्रहमा हरेक वर्ष जस्तै यस वर्ष पनि होटल कासाईले सहभागीलाई नि:शुल्क भोजनको व्यवस्था गरेको थियो।
कार्यक्रमस्थल म्यूजियम परिसरमै मेस चलाइएको थियो। शान्ति र्यालीका अधिकांश सहभागीहरू स्थान अभावका कारण कार्यक्रमस्थलमा प्रवेश गर्न पाएनन्। उनीहरू मेसको खाना खाएपछि घर फर्किए।
झण्डै १० हजार जनालाई नि:शुल्क भोजनको व्यवस्थापन गरेको होटल कासाई सँगै लुम्बिनी विकास कोषले समेत फोहोर व्यवस्थापन गर्ने कुनै व्यवस्था नगर्दा कार्यक्रमस्थल नजिकै फोहोरको रास थुप्रिएको थियो।
सभाहलकै नजिकै भिआइपीको लागि राखिएको मेस नजिकै खुला चौरमा भाडा माझ्दा भिआइपीहरूले समेत खाना खान हिच्किचाएका देखिन्थे।
सहभागीहरूले मेसमा नि:शुल्क भोजन गरे पनि खाना खाएको जूठो प्लेट मेस चलेकै स्थल वरिपरि यत्रतत्र फालेर हिँडेका थिए।
१० हजार जनालाई नि:शुल्क भोजनको व्यवस्था गरेको भनिए पनि जूठो प्लेट राख्ने भाडाको व्यवस्था नहुँदा एकै क्षणमा संग्रहालय नजिकैको पवित्र पोखरी वरिपरि प्लेटको रास थुप्रिएको थियो।
सहभागीहरूले प्लेटमा फालिएको जूठो भात समेत त्यही पोखरीमा फाल्दै प्लेट सफा गरेका थिए। लुम्बिनी बाहिर वर्षेनी थपिँदै गएका उद्योगबाट निस्किने प्रदूषण, सडक निर्माणको क्रममा उड्ने धूलो, सवारी साधनको धूँवा तथा खेतबारीमा लगाइने आगोका कारण लुम्बिनी प्रदूषित बन्दै गएको रिपोर्ट सार्वजनिक हुने गरेको छ ।
त्यसैमाथि स्थानीयलाई सरसफाइप्रति सचेतना दिन नसक्दा लुम्बिनीभित्र र बाहिरको फोहोर व्यवस्थापन जटिल बन्दै गएको छ।
लुम्बिनी विकास कोषले वर्षमा एकपटक बुद्धजयन्तीमा शान्ति र्याली निकाल्नकै लागिमात्र स्थानीयलाई खोज्ने गरे पनि अरु समय वेवास्ता गर्ने गरेको स्थानीय राहुल चौधरी बताउँछन्।
बगैंचा सरसफाइ गर्ने, झाडी फाड्ने र बिरुवा गोडमेल गर्ने जस्ता काम बाहेक लुम्बिनी विकास कोषभित्र स्थानीयवासीको खासै पहुँच देखिँदैन।
आन्तरिक तथा बाह्य गरी वर्षेनी १५ लाख बढी पर्यटक भित्रिने लुम्बिनीमा पर्यटकहरूलाई कस्तो व्यवहार गर्नुपर्छ भन्नेबारे स्थानीय अनविज्ञ देखिएका छन्।