२०६२ सालमा तत्कालीन स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटाको पहलमा मोटरसाइकल र स्कुटर पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियम लागू भयो।
दुर्घटना हुँदा पछाडि बस्नेको टाउकोमा चोट लागेर ज्यान जाने गरेको अनुभवका आधारमा मन्त्री देवकोटाले उक्त नियम सिफारिस गराएका थिए।
यातायात ऐनले २०४९ सालमै व्यवस्था गरे पनि पहिलोचोटि यो नियम कार्यान्वयन हुँदा धेरैले 'झमेला' माने, धेरैले सरहाना पनि गरे। रातारात हजारौं दुईपाङ्ग्रे सवारीधनीले नयाँ हेलमेट किने। ट्राफिक प्रहरीका आँखा दुईपाङ्ग्रेमा केन्द्रित भयो। हेलमेट नदेखे जरिवाना तिराउन थालियो।
हिजोआज 'मापसे' (मादकपदार्थ सेवन नियम) नियम जसरी प्रभावकारी कार्यान्वयन भइरहेको छ, डबल हेलमेटको नियम पनि त्यसरी नै लागू भयो।
चालक र पछाडि बस्ने दुवै अभ्यस्त भइसकेको यो नियम वर्षदिन पनि टिकेन।
मोटरसाइकल पछाडि बस्नेले हेलमेटमा अनुहार ढाकेर गोली हान्ने र लुटपाटको क्रम बढेको भन्दै सात महिनामै नियम हट्यो।
धेरैले किनेका अतिरिक्त हेलमेट कुनामा थन्किए। कति कबाडीमा गयो। राज्यको करोडौं स्वाहा भयो, आयात गर्ने व्यापारीले भने कुस्त कमाए।
चौध वर्षपछि काठमाडौंमा फेरि 'डबल' हेलमेटको नियम लागू गर्ने तयारी हुँदैछ। संशोधित यातायात ऐनको मस्यौदामा उक्त व्यवस्था अनिवार्य गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। मस्यौदा स्वीकृत भए छ/सात महिनापछि कार्यान्वयन हुने महाशाखाको भनाइ छ।
काठमाडौं उपत्यकामा मात्र करिब ९ लाख मोटरसाइकल र स्कुटर कुद्छन्। यो नियम लागू भए सबैजसोले नयाँ हेलमेट किन्नुपर्नेछ। एउटाको दुई हजार रूपैयाँ मात्र परे पनि १ अर्ब ८० करोड रूपैयाँ खर्च हुनेछ। मोटसाइकल र स्कुटर संख्या तीव्र वृद्धि भइरहेकाले यो रकम बर्सेनि बढ्दै जानेछ।
हेलमेट आयातमै वर्षको दुई अर्ब रूपैयाँ बराबर बिदेसिने यस्तो नियमले दुइटा प्रश्न खडा गर्छ।
पहिलो, चौध वर्षअघि डबल हेलमेटको नियम कार्यान्वयन भइरहेका बेला जुन सुरक्षा चासो देखाएर सरकार पछि हट्यो, के त्यो सुरक्षा चासोबाट काठमाडौं मुक्त भइसक्यो? के काठमाडौंमा अब त्यतिबेलाजस्तो हेलमेटले मुख छोपेर गोली हान्ने वा लुटपाट गर्ने खतरा रहेन?
दोस्रो, त्यो खतरा यथावत् छ भने दुई अर्बको हेलमेट आयात भई केही व्यापारीको स्वार्थसिद्ध भइसकेपछि यो नियम रद्द हुँदैन भन्ने ग्यारेन्टी के?
यो शंका त्यसै उब्जेको होइन। एक त विगतको अनुभव छँदैछ, त्यसमाथि ट्राफिक प्रहरीले हेलमेटमा गुणस्तर मापदण्ड लागू गरेर शंका बढाइदिएको छ।
महानगरीय ट्राफिक महाशाखा प्रमुख वसन्त पन्तका अनुसार उक्त नियम लागू भएपछि साधारण हेलमेट लगाउन पाइँदैन। गुणस्तर प्रमाणित लगाउनुपर्छ। यसको निम्ति गुणस्तर तथा नापतौल विभागले हेलमेटको मापदण्ड तयार पारेको उनले बताएका छन्।
यो नियमअनुसार पछाडि बस्नेले मात्र होइन, चालकहरूले पनि आफ्ना लागि गुणस्तर प्रमाणित नयाँ हेलमेट किन्नुपर्ने अवस्था आउनसक्छ। यो भनेको व्यापारीहरूको निम्ति अतिरिक्त लाभको ढोका खुल्नु हो।
उनका अनुसार हेलमेटको गुणस्तर मापदण्डमा बाहिरी र भित्री आवरणदेखि हेलमेट लगाउँदा आवाज सुन्ने क्षमता, लक र भाइजरको गुणस्तर उल्लेख हुनेछन्।
तोकिएका मापदण्ड पूरा नगरेको हेलमेटले गुणस्तर विभागको अनुमति पाउने छैन। त्यो निश्चित रूपले अहिलेभन्दा महँगो हुनेछ। व्यापारीहरूले गुणस्तरका नाममा यसै भाउ बढाइदिन पनि सक्छन्।
सुरक्षा दृष्टिले चालक र पछाडि बस्ने दुवैले हेलमेट लगाउनु राम्रो हो। अहिले नियमै नहुँदा पनि पछाडि बस्ने कसैले स्वैच्छाले लगाएर हिँड्न सक्छन्। तर, जब यो नियमलाई गुणस्तर मापदण्डसँग जोडिन्छ, तब केही अमुक व्यापारी मात्र अकुत रूपले पोसिने सम्भावना बढ्छ।
भोलि फेरि हेलमेटले अपराध बढ्यो भन्ने तर्क दिँदै नियम खारेज हुने डर त छँदैछ।
मापदण्डअनुसारको हेलमेट कसले बेच्छ भन्ने पनि प्रश्न छ। मापदण्ड लागू भएपछि बजारमा भएका वा चालकले प्रयोग गरिरहेका हेलमेट के गर्ने? त्यो पनि यकिन छैन।
अर्कातिर, गुणस्तर मापदण्ड बनाउने र कार्यान्वयन गर्ने जिम्मा गुणस्तर विभागलाई दिइँदैछ, जसले काठमाडौंमा गुड्ने केही हजार ट्याक्सीको मिटरधरि कहिल्यै दुरूस्त राख्न सकेन। एक वा दुई वर्ष होइन, कहिले पनि।
यस्तो निकायले उपत्यकाका ९ लाख हाराहारी दुईपाङ्ग्रेमा प्रयोग हुने १८ लाख हेलमेटको गुणस्तर कसरी जाँच्ला? यसले घुमिफिरी व्यापारीहरूलाई नै पोस्ने वातावरण बन्छ।
सबभन्दा महत्वपूर्ण प्रश्न, डबल हेलमेटले के साँच्चिकै दुर्घटना जोखिम वा ज्यान जाने डर कम हुन्छ त?
हामीले यही प्रश्न लामो समय ट्राफिक सेवामा बिताएका सीताराम हाछेथूलाई सोध्यौं।
उनका अनुसार ट्राफिक नियम पालनामा लापरबाही रहेसम्म डबल हेलमेटले मात्र दुर्घटना जोखिम कम गर्दैन, न ज्यान जाने खतरा घटाउँछ।
'हेलमेट लगाउनु राम्रो हो, यसले टाउकोमा लाग्ने चोटपटकबाट बचाउँछ,' उनले भने, 'तर, के दुर्घटना हुँदा टाउकोमा मात्र चोट लाग्छ? हातखुट्टा र ढाड भाँच्चिने समस्या छैन?'
उनको अनुभव र ट्राफिक तथ्यांकले पनि दुर्घटनामा मान्छे मर्नेभन्दा अपांगता हुनेको संख्या धेरै छ। त्यो भनेको हातखुट्टा वा ढाड भाँच्चिएर हो।
ट्राफिक नियम पालनामा कडिकडाउ गर्नुको साटो डबल हेलमेटजस्तो सजिलो काममा लाग्न खोजेकोमा उनको गुनासो छ।
'सुरक्षाप्रति सरोकार राख्नु राम्रो हो, तर यो सही तरिका होइन। दुईपाङ्ग्रे सवारी त्यसै पनि जोखिमपूर्ण हो, यसलाई सकेसम्म सुरक्षित राख्न ट्राफिक नियम पालनामै जोड दिनुपर्छ,' उनले भने।
पछाडि बस्नेलाई सुरक्षित राख्ने हो भने हेलमेटभन्दा अरू विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
उनका अनुसार पछाडि बस्नेलाई आधा जीउ बंग्याएर दुवै हात हल्लाई हल्लाई चालकसँग कुरा गर्न दिनुभएन। फोनमा बोल्न दिनु भएन।
अगाडिको भन्दा पछाडिको सिट माथि उठाएको र पछाडि बस्नेलाई समात्ने ठाउँधरि नभएको बाइक त प्रतिबन्धै लगाउनुपर्छ। त्यस्तो बाइक फ्याट्ट केही भए पछाडिको मान्छे स्प्रिङमा परेजस्तो उछिट्टिएर सडकमा बजारिन्छ।
मोटरसाइकल वा स्कुटरमा ढुवानी साधनजस्तो ठूल्ठूलो सामान ओसार्न पनि दिनुभएन। पछाडि बस्नेलाई दुवै हातमा झोला झुन्ड्याएर हिँड्न दिनुभएन। अप्ठ्यारो लुगा लगाएर एक साइडतिर मात्र बस्न दिनुभएन।
'हेलमेटको पनि मापदण्ड तोकिनुपर्ला, तर सुरक्षा हिसाबले कस्तो बाइक चलाउन दिने, कस्तो नदिने, कस्तो सिट राख्न दिने, कस्तो नदिने भन्ने मापदण्ड पहिले तोकिनुपर्छ,' हाछेथूले मोटरसाइकल र स्कुटरका केही जोखिमपूर्ण अवस्था सुनाउँदै भने, 'सुरक्षा निम्ति त्यो बढी जरूरी छ।'
विदेशको बाटो र सवारी नियम पालनाको अवस्था हेरेर बनाइएका बाइकका सबै डिजाइन नेपालको सन्दर्भमा उपयुक्त नहुने उनले बताए।
'जसरी हामी गाडीको छतमा बसेका मान्छे झार्छौं, झुन्डिनेलाई निकाल्छौं, त्यसरी नै बाइकको पछाडि सिट बस्न लायक छ कि छैन भनेर चेक गरिनुपर्छ। त्यस्ता बाइकको बिक्रीमा रोक लगाउनुपर्छ,' उनले भने।
बढीजसो दुर्घटना वा घाइते हेलमेट नलगाएरभन्दा यस्तै जोखिमपूर्ण अवस्थाले हुने गरेको उनको अनुभव छ। यस्ता लापरबाही नियन्त्रण गर्न मापसेजस्तै कारबाही र नियम मिच्नेलाई कडा जरिवानाको व्यवस्था गर्न उनले सुझाए।
यति मात्रले दुर्घटना जोखिम कम हुँदैन। दुईपाङ्ग्रे सवारी दुर्घटनाको एउटा मुख्य कारण सडकको जीर्ण अवस्था पनि हो।
सडकमा जताततै साना खाल्डाखुल्डी छन्, जसमा पाङ्ग्रा फसेर लड्ने सम्भावना उत्तिकै हुन्छ। सडक सुधार्नुको सट्टा हेलमेटको भार थप्दैमा यो खतरा कम हुँदैन।
आफ्नो लामो अनुभवका आधारमा हाछेथूले सवारी नियमसम्बन्धी जनचेतना अभिवृद्धि पनि फितलो रहेको बताए।
'प्राविधिक रूपमा चलाउन जानेर मात्र हुँदैन। व्यवहारिक ज्ञान पनि हुनुपर्यो,' उनले भने, 'हामीकहाँ यस्तो विषयमा लगानी हुँदैन। ट्राफिक सचेतना कार्यक्रमलाई बजेटै छैन। चालकहरूले सबै कुरा जानेर आएका हुँदैनन्। उनीहरूलाई जोखिमको महशुस नहुन सक्छ। त्यो कुरा हामीले नै सिकाउने हो।'
उनका अनुसार डबल हेलमेट अनिवार्य गरेर मात्र यी समस्या सल्टिँदैनन्, झमेला मात्र बढ्छ।
'टाउको मात्र जोगाउने कुरा गरेर हुँदैन, दुर्घटना कम गराएर शरीरै जोगाउने प्रयास थाल्नुपर्छ,' उनले भने।