कपिलवस्तुकी सिर्जना (नाम परिवर्तन) १५ वर्षकी भईन्। ट्रक चलाउने उनका बुवा दशअघि नै बिते, दुर्घटनामा परेर। बाबु गुमाएको तीन वर्षमा सिर्जनालाई आमाले पनि छोडिन्।
आमाले अर्को विवाह गरेपछि सिर्जना फुपुको घरमा बस्न थालिन्। बेलाबेलामा आमा आउँथिन् अलिकति खर्च दिएर जान्थिन्।
सिर्जना बढ्दै गइन्। फुपूको घरमा खान लाउन पुग्दैनथ्यो।
फुपूले बुटवलको कालिकानगरमा रहेको न्यु राप्ती होटलले काम गर्ने मान्छेको खोजेको थाहा पाइनँ। उनले होटलका मालिकसँग कुरा गरिन् र सिर्जनासँग काम गर्न गइनँ।
होटलको कोठा सरसफाइ गर्ने भन्दै आएकी बालिकालाई होटल सञ्चालकले जबर्जस्ती यौन धन्दामा लगाए। आफ्नो होटलमा आएका पाहुनामात्र होइन सिर्जनालाई अन्य होटलमा पनि पठाए। बाग्लुङ निसीखोला गाउँपालिकाका अनिल भन्ने टेकबहादुर कुंवरले बुटवलमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
होटलमा बालिकाहरु जम्मा पार्ने, होटलमा आएका ग्राहकको यौन तृष्णा मेटाउने मात्र होइन अन्यत्रबाट समेत माग भएमा तिनै बालिकाहरुलाई जवर्जस्ती ग्राहकसंग पठाउने गर्थे।
एकपल्ट होटलका सबै बालिकाले भाग्न प्रयास गरे। भाग्न लाग्दा अनिल र उनकी श्रीमती मीनाकुमारी बस्नेतले फेला पारिहाले।
फेरि उही दुष्चक्र दोहोरियो।
‘नजिक भएका कारण मलाई क्लव डेनेभोको नाम थाहा छ, त्यहाँ हिँडेर धेरै पटक गएकी छु,’ उनले भनिन्,‘अरू साथीहरू पनि त्यहीँ जान्थे।’
यौन पिपासुहरूसँग सुतेबापत् श्रृजनाको कुनै मुल्य थिएन। होटल सञ्चालकले मूल्य कायम गर्थें, आफैं असुल्थे। एक घण्टा बसे १ हजार ५ सय, रातभर बसे ६ हजार तोकेका रहेछन्। सिर्जनाले भने तलबबाहेक थप पैसा कहिल्यै पाइनन्।
होटलमा प्राय भारतीय नागरिक आउँथे।
‘बुटवल र भैरहवाका सुन व्यापारी पनि आउँथे। पहिले तिम्री साहुनीसँग रात बिताउथ्यौं, अहिले तिमी आयौ है भन्थे,’ सिर्जनाले भनिन्।
दुई महिनाअघि सिर्जना निकै बिरामी भइन्। होटल सञ्चालक कुँवरले लगाएको काम नगरी सुखै दिएनन्। ज्वरो आउँदा र रजस्वला हुँदा पनि उनी ग्राहकसँग जानुपर्यो।
असह्य भएपछि श्रृजनाले आमालाई बोलाइन्। तर साहुसाहुनीले छोड्न मानेन ।
‘आमाले बहिनीको भात खुवाउने कार्यक्रम छ भनेर लिन आउनु भयो अनि मात्र म घर जान पाएँ,’ उनले भनिन्।
घर गएपछि उनले होटलको नरकीय जीवनबाट त मुक्ति पाइनँ खानलाउनको समस्या आयो।
सिर्जनाका ठूलाबुवा ठूलीआमा सपरिवार भारत गएका थिए। घर आएर फर्किने बेला उनीहरूकै पछि लागेर सिर्जना पनि भारत जान हिँडिन्। बेलहीया सिमामा पुगेपछि आफन्त नेपाल संस्थाले सोधपुछ गर्यो। त्यही बेला सिर्जनाले आफूले होटलमा पाएको सबै पीडा पोखिन्। उक्त संस्थाले उनलाई भारत जान दिएन बरू नेपाल प्रहरीको सम्पर्कमा पुर्याइदियो।
प्रहरीले अनुसन्धान थाल्यो। अहिले होटल सञ्चालक अनिल भन्ने टेक बहादुर कुँवर र उनकी श्रीमती मीनाकुमारी बस्नेत प्रहरी हिरासतमा छन्। उनीहरूमाथि मानव वेचबिखन तथा ओसारपसार कानुन अन्तर्गत मुद्दा दायर गरिएको छ।
बुटवलका साना होटलमा बालिकालाई यौनधन्दामा लगाइने घटना यसअघि पनि सार्वजनिक हुन्थे। सिर्जनाले त्यस्ता घटना ठूला होटलमा पनि हुन्छ भन्ने प्रमाण ल्याइदिएकी छन्।