असी वर्षका उमेरमा आफू जन्मिएकै जग्गाको लालपूर्जा हातमा पर्दा रुपन्देहीको सैनामैनाका दासु थारुको हर्षको सीमा थिएन।
आइतबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री पद्यमा कुमारी अर्यालले लालपूर्जा हातमा थमाइदिँदा सिंगो जीवन नै जितेजस्तो खुसी उनको अनुहारमा छचल्किएको थियो।
बाबुबाजेको पालादेखि नै बसोबास गर्दै र जोतभोग गर्दै आएको जग्गाको लालपूर्जा नातिको पालासम्म आइपुग्दा पनि हातमा नपाउँदा उनलाई आफ्नो पालामा लालपूर्जा पाउँछु भन्नेमा विश्वास थिएन।
लालपूर्जा वितरण सुरू नहुँदै मञ्चको बायाँ कुनामा बसेका थारु मन्त्री अर्यालले तपाईंहरू वर्षौंदेखि बस्दै आएको घर र जग्गाको मालिक आज बन्दै हुनुहुन्छ भन्दै भाषण गरिरहँदा एकोहोरो टोलाइरहेका थिए।
दासु थारुसँगै सैनामैनाकै जानकी चौधरी, सोनादेवी चौधरी, ठागु प्रसाद चौधरी र हरी प्रसाद थारु पनि आइतबार बिहानैदेखि जग्गाधनी पूर्जा लिने पर्खाइमा कार्यक्रमस्थलमा बसिरहेका थिए। वर्षौंदेखि बसोबास गर्दै आए पनि जग्गाधनी पूर्जा पाउन नसकेका साविक सालझण्डी र पर्रोहा गाउँ विकास समितिका बासिन्दालाई सैनामैना नगरपालिकाले आइतबारदेखि जग्गाधनी पूर्जा वितरण सुरू गरेको हो।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री पद्यमा कुमारी अर्याल र नेकपाका महासचिव एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले दासु थारुलाई पूर्जा प्रदान गर्दै लालपूर्जा वितरणको सुरूआत गरेका हुन्।
पहिलो दिन आइतबार साविक पर्रोहा र सालझण्डी गाविसका ४ सय ६४ जनालाई लालपूर्जा वितरण गरिएको सैनामैना नगरपालिकाले जनाएको छ। अधिकांश थारु तथा मधेशी समुदायको बसोबास रहेको सो क्षेत्रमा जग्गाधनी पूर्जा पाउने पनि ९५ प्रतिशत थारु तथा मधेशी समुदायका व्यक्ति रहेका छन्।
सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले नगरपालिकामा अझै पनि झण्डै पाँच सय परिवार पुर्जाविहीन रहेको बताए। तीमध्ये साविक पर्रोहा र सालझण्डीका नापी भएको २ सय परिवार रहेका छन् भने नापी हुन बाँकी साविक दुधराक्षमा करिब ३ सय परिवारले लालपूर्जा नपाएको हुनसक्ने कार्कीले जानकारी दिए।
बाँकी अरुलाई पनि चारपाँच महिनामा प्रकृया पु¥याएर जग्गाधनी पूर्जा वितरण गरिने उनले जानकारी दिए।
कार्यक्रममा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री पद्यमा कुमारी अर्यालले जनतालाई रैतीबाट नागरिक बनाउने काममा नेकपाले अगुवाइ गरेको र अब आफू बसेको सम्पत्तिको मालिक बनाउने काममा सरकार लागेको बताइन्।
‘तपाईंहरू आफैं बसेको सम्पत्तिको मालिक बन्न पाउनु भएको थिएन आजबाट आफूले गरेको कमाइ र बसेको जमिनको मालिक बन्नु भएको छ’, उनले भनिन् ।
आफूहरूले प्रवाह गर्ने सेवाले जनता खुसी रहुन् भन्ने चाहेको बताउँदै केपी ओलीको नेतृत्वमा मुलुकभरका १५ लाख गाउँ ब्लकमा रहेको नागरिकलाई जग्गाको मालिक बनाउने गरी लालपुर्जा वितरणको काम थालनी भएको बताइन्।
उनले वर्तमान सरकार प्रवाह गर्ने सेवाबाट जनता खुसी र सुखी रहुन् भन्ने चाहेको बताइन्।
‘जनताको भावना जसरी सम्बोधन गर्दा जनता खुसी र सुखी रहन्छन् त्यसैगरी सरकार अगाडि बढ्छ,’उनले भनिन्।
मन्त्रालय भूमि हाम्रो स्रोत, सहकारी हाम्रो माध्यम र गरिबी अन्त्य हाम्रो लक्ष्य हो भन्ने ध्येयका साथ लागि परेको बताइन्।
मन्त्री अर्यालले संघीयता कार्यान्वयन गर्ने समयमा ठूलो द्वन्द्व सृजना गर्ने प्रयत्न गरिएको बताउँदै त्यसलाई निस्तेज गरेपछि संघ र प्रदेश, प्रदेश र स्थानीय तहबीचमा विवाद देखाउन खोजिएको बताइन्।
‘संघीयता असफल बनाउन संघीयताको कार्यान्वयनको सुरूआतदेखि नै एउटा गिरोह सक्रिय रहेको छ, उनीहरू विभिन्न ढंगले प्रहार गर्ने काममा लागिरहेका छन्।तपाईं हामी मिलेर उनीहरूको योजना असफल बनाउनु पर्छ,’उनले भनिन्।
मन्त्री अर्यालले साझा अधिकारका सूचीका कानुन नबन्दा समस्या देखिएको भन्दै ती कानुनहरूको निर्माणमा सरकार लागिरहेको बताइन्।
‘संघ र प्रदेश, प्रदेश र स्थानीय तहबीचमा विवाद छ भन्ने देखाउन खोजियो, तर दुइटा सुन्दर गुलाफबीच कुनै प्रतिस्पर्धा हुँदैन’, उनले भनिन्।
नेकपाका महासचिव विष्णु पौडेलले केपी शर्मा ओली प्रधानमन्त्री भएपछि जग्गाको पुन ः नापजांच गरी गाउंब्लकमा बसेका जग्गा धनीहरुलाई लालपुर्जा दिने निर्णय भएको बताए । ‘यो निर्णयबाट नेपालका १५ लाख परिवारले आफु बसेको जग्गाको बैधानीक मालीक बन्न पाउने छन् ।’ उनले भने ।
गरिब किसान र भूमिहीनका समस्या समाधानको लागि केपी ओली नेतृत्वको सरकारले पहल सुरू गरेको उनले बताए।
‘सरकार यसअघि पनि थिए, तर दृष्टिकोण कस्तो छ भन्ने मुख्य कुरा हो,’उनले भने ।
पाँच नं प्रदेश सरकारका कृषि भूमि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशका एक सय नौ वटै पालिकामा रहेका बासिन्दालाई एक वर्षभित्रै लालपूर्जा दिने सरकारले योजना बनाएको बताइन्।
उनले प्रदेशका ५२ वटा निर्वाचन क्षेत्रमा रहेको स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सबै पालिकाहरुमा पु¥याएर कृषिको माध्यमबाट प्रदेशलाई समृद्ध बनाउने सरकारको योजना रहेको बताइन्।
मन्त्री पौडेलले सरकार परिवर्तन गरेर होइन व्यवस्था परिवर्तन गरेर जनतालाई संघीयताको अनुभूति दिलाउनुपर्ने बताइन्।