बुटवलमा निर्माण हुने अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको सोमबार शिलान्यास गरिएको छ।
एक अर्ब दुई करोडको लागतमा बुटवल १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण हुने बुटवल प्रदर्शनी केन्द्रको नेकपाका महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका हुन्।
प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै पौडेलले सम्झौता गरिएको २७ महिनाको अवधिमा निर्माण पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिए।
उनले बुटवल मण्डपमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रको लागि बजेटको कुनै पनि कमी हुन नदिने उल्लेख गर्दै तोकिएको समयमा निर्माण गर्न निर्देशन दिएका हुन्।
‘रुपन्देहीमा निर्माणाधीन र निर्माण हुने कुनै पनि विकास आयोजनामा बजेटको कुनै कमी हुने छैन तर निर्माण कार्य भने समयमा पूरा गर्नुपर्ने छ, २७ महिनामा एकदिन पनि नथपिओस्,’ उनले भने।
रामनगरस्थित बुटवल मण्डपको पश्चिमतर्फको ६ दशमलव ४ बिघा क्षेत्रफलमा प्रदर्शनी केन्द्र निर्माण हुँदैछ।
सहरी विकास मन्त्रालयमार्फत् निर्माण हुने यो प्रदर्शनी केन्द्र सरकारीस्तरको नेपालको सबभन्दा ठूलो प्रदर्शनी केन्द्र बन्ने पौडेलले दाबी गरे।
उनले यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले प्रदर्शनी केन्द्रको लागि आवश्यक जग्गा व्यवस्थापन, डिजाइन तथा बजेट विनियोजनमा समेत आफूले नेतृत्व लिने अवसर प्राप्त गरेको भन्दै आफैंले शिलान्यास गर्न पाउँदा गर्व महशुस गरेको बताए।
वर्षौदेखि बसपार्क, सडक डिभिजन परिसरलगायतका क्षेत्रमा औद्योगिक प्रदर्शनी केन्द्र तथा व्यापार मेला आयोजना गर्दै आएका यहाँका उद्योगी व्यवसायीले २०६५ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री र विष्णु पौडेल जलस्रोत मन्त्री रहेको बेला सरकराले प्रदर्शनी केन्द्र निर्माणको लागि बुटवल मण्डपको १६ बिघा जग्गा दिने निर्णय गरेको थियो। सोही अनुरूप बुटवल मण्डपको पूर्वतर्फको ९ दशमलव ६ बिघा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण भइरहेको छ।
प्रदर्शनी केन्द्र पनि बुटवल सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइमार्फत् निर्माण हुने छ। जसको लागि ‘ग्लोबल टेण्डर’ मार्फत् क्यापासिट इन्फ्रा प्रोजेक्ट्स-गौरी पार्वती जेभी कम्पनीले ठेक्का लिइसकेको आयोजना प्रमुख शिखर लामाले जानकारी दिए।
सहरी विकास मन्त्रालयका महानिर्देशक मनिराम गेलालका अनुसार प्रदर्शनी केन्द्रमा एउटा ठूलो प्रदर्शनी हल, दुइटा बैठक हल, प्रशासनिक भवन र खाजा घर हुने छन्।
१२ हजार स्क्वायर मिटरमा निर्माण हुने ठूलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे तीन सय स्टल सहभागी हुन सक्ने छन्।
बैठक हल भने एउटा साढे तीन सय स्क्वायर मिटर र अर्को साढे दुई सय मिटर स्क्वायर मिटरको हुने छ।
प्रदर्शनी केन्द्रमा सबै हलमा गरी ८ सय ३८ स्टल सहभागी हुन सक्ने छन्।
बाहिरबाट हेर्दा तीन वटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रलाई आवश्यकता अनुसार अलग/अलग गर्न मिल्ने गरी डिजाइन गरिएको गेलालले जानकारी दिए।
प्रदर्शनी केन्द्रमा एक पटकमा १० हजार जनाले अवलोकन गर्न सक्ने छन्। त्यस्तै, २० हजार अटाउन सक्ने हल, दुई हजार जनाले एकैपटक खाजा खाना सक्ने गरी फुड कोर्ट निर्माण हुनेछ।
यस्तै, एक लाख १० हजार वर्गफिट क्षेत्रफलमा बाल उद्यान, चार सय वटा चारपांग्रे र चार सय वटा मोटरसाइकल क्षमताको पार्किङस्थल बनाइने छ। बुटवल मण्डपमा हाल निर्माण गरिएको गणतन्त्र स्तम्भलाई पोखरी निर्माण गरी त्यसको बीचमा स्थानान्तरण गरिने परियोजनाले जनाएको छ।
प्रदर्शनी केन्द्रमा बालउद्यान र खुला प्रदर्शनी क्षेत्र समेत हुनेछ।
प्रदर्शनी केन्द्र निर्माणका लागि ५ सय २५ वटा रुख काट्नुपर्ने र त्यसको लागि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन गराई रुख काट्ने अनुमति समेत प्राप्त भइसकेकोले निर्माण कार्य समयमै सम्पन्न हुने आयोजना प्रमुख लामाले बताए।
स्थायी प्रदर्शनी केन्द्रको अभावमा हरेक वर्ष औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्दै आएकोमा स्थायी प्रदर्शनी केन्द्र निर्माण पछि ठूलो राहत मिल्ने भन्दै उद्योगी व्यवसायीले खुसी व्यक्त गरेका छन्।
स्थायी प्रदर्शनी केन्द्र नहुँदा प्रदर्शनी तथा मेला आयोजकहरूले अस्थायी स्टल, सचिवालय, प्रवेशद्वार लगायतका संरचना निर्माणमा वर्षेनी झण्डै एक करोड रुपैयाँ खर्च गर्दै आएका थिए।
वर्षा, जाडो तथा गर्मीका कारण हरेक महिना वस्तुगत प्रदर्शनी गर्न चाहेर पनि सञ्चालन गर्न नसकेका व्यवसायी तथा संघसंस्थाहरूलाई पनि यसले फाइदा पुग्ने विश्वास गरिएको छ।