काठमाडौंको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतलाई सोमबार बिहानदेखि फरक-फरक नम्बरबाट तारन्तर फोन आयो।
फोन गर्नेहरूले मेयरलाई अभिवादन गरेपछि एउटै कुरा सोधे- बाटो किन बन्द? कसैले नेपाल बन्द पनि गरेको त छैन।
घटनाबारे बस्नेत आफैंलाई भने थाहा थिएन।
सडक किन बन्द भएछ त? मेयर बस्नेतले सोधिखोजी गरे।
एकैछिनमा थाहा पाए, सडकमा धुलो उड्यो भन्दै वडा नम्बर ८ छैमलेका बासिन्दाले सडक बन्द गरेछन्। धुले सडक छिटो कालो पत्रे गर्नुपर्ने र पानी हालेर धुलो हटाउनु पर्ने उनीहरूको माग रैछ।
फर्पिङ बसस्टपबाट मकवानपुरको केराबारीसम्मको सडक धुलाम्ये छ। यो बाटो केही वर्षपहिला पिच भएको थियो। तर दैनिक ६-७ सय गाडी हिँड्ने उक्त बाटो अहिले कच्चीजस्तै भइसकेको छ।
बाटोको गुणस्तर खस्किए पनि गुड्ने गाडीको संख्या भने घटेको छैन। छिनछिनमा गुड्ने गाडीले उडाउने धुलोले आक्रान्त बनेका स्थानीयले मंगलबार सडक नै बन्द गरिदिए।
‘धुलोले स्वास्थ्य बिग्रिसक्यो पानी हाल्नुपर्यो भनेर आमजनताको माग छ,’ सेतोपाटीसँग कुराकानी गर्दै मेयर बस्नेतले भने, ‘जनताले दु:ख पर्दा, अप्ठेरो हुँदा भन्ने नगरलाई नै हो। मेयरलाई नै हो। तर के गर्नु पानी हाल्न र बाटो पीच गर्न स्रोत साधन छैन।’
स्थानीय बासिन्दाले नगरप्रमुखको ध्यानआकर्षण गर्न नयाँ जुक्ति निकाले। जसले बाटो किन बन्द भनेर सोध्छ उसलाई नगरप्रमुखलाई थाहा छ सोध्नुस् भन्दै मेयरको नम्बर दिए। अनि त बस्नेतको मोबाइल छिनछिनमा बज्न थाल्यो।
धुलो उडेर स्वास्थ्यमा खेलवाड हुँदा पनि नगरपालिका चुप बसेको भन्दै स्थानीय बासिन्दा आक्रोशित छन्।
‘धुलो उडेर बसिसाध्य छैन। धुले सडकमा पानी हालौं न त भन्यो। ट्यांकरले पानी हाल्दै गयो सुक्दै जान्छ। यस्तो चर्को घाम छ, गर्मी छ,’ मेयर बस्नेतले भने, ‘ट्यांकर पनि भनेको बेला नपाइने। पाइहाले पनि एक ट्यांकर पानीको सात/आठ हजार। दमकलबाट पनि एक/दुई दिन त पानी हालियो।’
ट्यांकरबाट पानी बोकेर धुले सडकमा हाल्न नगरपालिकाको स्रोतले नधान्ने उनले बताए।
‘अझै एक महिना धुलो उड्छ,’ उनले भने, ‘त्यसपछि बर्खाले छोप्छ। बाटो फेरि हिलैहिलो।’
स्थानीय बासिन्दासँग कुराकानी गरेर अहिले सडक खुलाए पनि समस्या ज्युँकात्युँ रहेको बस्नेतले बताए।
‘१५ किलोमिटर धुले बाटोमा दिनमा दश ट्यांकर पानी हाले पनि धुलो उडिरहन्छ,’ उनले भने, ‘पानी किन्ने पैसो नगरमा छैन। कहाँबाट ल्याउनु। एक ट्यांकर पानीले एक किमी सडकमा छेप्न पनि पुग्दैन।’
तर स्थानीयहरुले भने नगरपालिकाले पानी पनि हालिदिएन भन्ने गुनासो गर्दै आएको बताए।
‘जनताका माग जायज छ। भोलिदेखि नै पिच गरिदिउँ न त भन्न पनि सक्ने अवस्था छैन,’ उनले भने, ‘प्रदेश र केन्द्र सरकारले बजेट नपठाए यो बाटो कालोपत्रे गर्न सकिँदैन। नगरमा धेरै बजेट हुँदैन।’ स्थानीयको माग अहिले नै पूरा गर्न र चित्त बुझाउन भने सकस परेको उनले बताए।
‘मलाई बडो गाह्रो परिराखेको छ। पीच नगरेसम्म धुलो उड्न छोड्दैन। पीच गर्न बजेट छैन,’ उनले भने, ‘आन्दोलन नगर्नुस् भोलिदेखि धुलो उड्दैन भन्ने ग्यारेन्टी पनि दिन सकिँदैन। चित्त बुझाउन गाह्रो छ।’
सडकमा धुलो उडेर स्वास्थ्यमा गम्भीर असर परेको स्थानीय बासिन्दाको भनाइ छ। सडकमा दीर्घकालीन रुपमा नै धुलो हटाउन केन्द्र सरकारले बजेट सहयोग गरिदिनुपर्ने मेयर बस्नेत बताए।