२ सय ३८ वर्ष लामो राजतन्त्र ढलेर देश गणतन्त्रमा गएको आज ११ वर्ष पुग्यो।
२०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा भएपछि राजतन्त्र ढलेको थियो। नारायणहिटी छाडेर तत्कालीन राजा ज्ञानेन्द्र शाह नागार्जुन दरबारमा बस्दै आएका छन्। नारायणहिटी दरबारलाई भने संग्रहालय बनाएर सर्वसाधारण जनताका लागि खुला गरिएको छ।
संग्राहलयभित्र तत्कालीन राजाहरूले प्रयोग गरेका विभिन्न कुराहरू राखिएका छन्।आगन्तुकहरूले नारायणहिटीको मुख्य भवनभित्र छिरिसकेपछि तत्कालीन राजाहरूले प्रयोग गर्ने विभिन्न वस्तुहरूको अवलोकन गर्न पाउँछन्। राजाले पहिरिने श्रीपेचदेखि उनीहरूको सयन कक्ष पनि हेर्न पाउँछन्।
यही दरबारको जग्गामा सरकारले गणतन्त्रको प्रतीक ‘गणतन्त्र स्मारक’ बनाएको छ।
११ औं गणतन्त्र दिवसकै दिन आज साँझ ७ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले स्मारक उद्घाटन गरेकी छन्। सहरी विकास तथा भवन निर्माण विभागले शिलान्यास भएको सात वर्षमा स्मारक निर्माणको काम सकेको हो।
नारायणहिटी दरबारको पूर्वी भागमा ३५ रोपनी क्षेत्रफलमा गणतन्त्र स्मारक बनाइएको हो। स्मारकभित्र पार्कदेखि भूमिगत हल छ।
‘गणतन्त्र स्तम्भकै अगाडि संविधानको प्रतिमूर्ति किताब कुँदेर राखेका छौं,’ विभागका सिनियर डिभिजन इञ्जिनियर मच्छाकाजी महर्जनले सेतोपाटीसँग भने।
स्मारकमा चार वटा मुख्य खम्बाहरू छन्। यी खम्बाका आफ्नै अर्थ छ। स्टीलका यी खम्बाले गणतन्त्र प्राप्तिका लागि शहीदले गरेका बलिदानीको प्रतिनिधित्व गर्छन्।
‘यी खब्बाहरूले गणतन्त्र स्थापना गर्दा भएका संघर्षमा शहीद, बेपत्ता, अंगभंग र मारिएका व्यक्तिहरूको याद दिलाउनेछन्,’ उनले भने, ‘चारवटै खम्बालाई एउटै रिङमा बाँधिएको छ।’
यी खम्बाभित्रबाट प्रकाश फैलने व्यवस्था मिलाइएको छ। ती किरण धर्तीमा पर्ने र शहीदका रगतहरू खेर गएका छैनन् धर्तीमै जीवन्त छन् भन्ने अर्थ लगाइएको छ। स्मारकभित्र पार्क, पार्किङको व्यवस्थापन, सुविधासम्पन्न हल तथा शौचालय पनि छ।
‘जमिनमुनि दुइटा हल छ, एउटामा कार्यक्रम गर्न मिल्छ र अर्कोमा गणतन्त्रसँग सम्बन्धित फोटो, सामग्री राख्ने ग्यालरी रहन्छन्,’ उनले भने।
स्मारक बनाउन दुई वर्षअघि ४२ करोड रुपैयाँ लाग्ने स्टिमेट भए पनि ढुंगाका प्रतिमूर्ति थप गर्दा लागत ४५ करोड रुपैयाँ पुगेको छ।
‘स्मारक नारायणहिटी संग्रहालयलाई हस्तान्तरण गर्छौं,’ महर्जनले भने, ‘अवलोकनकर्ताले नारायणहिटी दरबारसँगै एकै टिकटमा गणतन्त्र स्मारक पनि हेर्न पाउने गरी प्रस्ताव गरेका छौं। व्यवस्थापन संग्रहालयले नै गर्छ।’
सर्वसाधारण जनताका लागि स्मारक कहिलेदेखि खुला हुन्छ भन्ने यकिन छैन।
२०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले स्मारकको शिलान्यास गरेका थिए।
हेर्नुहोस् तस्बिरहरू