रुपन्देहीको तिलोत्तमास्थित पुरानो पब्लिक क्याम्पस राममणि बहुमुखी क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रयायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ।
विश्व विद्यालय अनुदान आयोगले क्याम्पसको पठनपाठनको स्तर, प्राध्यापकहरूको शैक्षिक योग्यता, सरोकारवालाहरूसँगको सम्बन्ध, संस्थागत सुशासन, अध्ययन अनुसन्धान, अभिभावक तथा पूर्वविद्यार्थीहरूसँगको सम्बन्ध, प्रकाशन लगायतका क्षेत्रका १ सय २१ वटा प्रश्नहरूको स्वमूल्यांकन गरी सो प्रमाण पत्र प्रदान गर्ने गर्दछ ।
राममणि बहुमुखी क्याम्पसले विश्व विद्यालय अनुदान आयोगले तोकेका सबै मापदण्ड पूरा गरी गुणस्तर सुनिश्चितता प्रयायन प्रमाणपत्र प्राप्त गरेको क्याम्पसका अध्यक्ष रोमणिप्रसाद पाठकले जानकारी दिए।
यसअघि विश्व विद्यालय अनुदान आयोगका पदाधिकारी तथा अधिकृतहरूको टोलीले क्याम्पसको पटक/पटक विशेष अनुगमन, निरीक्षण र अध्ययन गरेको थियो।
अध्यक्ष पाठकले गुणस्तर सुनिश्चितता प्रयायन प्रमाणपत्र प्राप्त गरेपछि क्याम्पसको अहिलेको शैक्षिकस्तर कायम राख्दै विद्यार्थीहरूको उत्तिर्ण प्रतिशत बढाउने चुनौती थपिएको बताए।
तिलोत्तमाको मणिग्राममा २०४५ सालमा शान्ति नमूना माविको भवनमा आइकम कार्यक्रमसहित कक्षा सञ्चालन गरेको क्याम्पसले २०५२ सालदेखि आफ्नै भवनमा कक्षा सञ्चालन गरेकोमा अहिले सुविधा सम्पन्न भवनबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
क्याम्पस प्रमुख मोहनराज शर्माले क्याम्पसलाई संस्थागत स्वायत्तता हुँदै मानित विश्वविद्यालयको रूपमा स्थापित गर्न तयारी सुरू गरिएको बताए।
शर्माले मानित विश्वविद्यालयतर्फ लैजानका लागि आफ्नै ३० बिघा जग्गा आवश्यक पर्ने भएको र त्यसको लागि तिलोत्तमा नगरपालिकामा योजनासमेत अगाडि बढाइएको बताए।
क्याम्पसमा स्नातकोत्तर तहमा सेमेष्टर प्रणालीबाट व्यवस्थापनतर्फ एमबिएस, चार वर्षे बिबिएस, मानविकी तथा सामाजिकशास्त्रतर्फ समाजशास्त्र र मानवशास्त्रमा एम ए, बिए, शिक्षाशास्त्रतर्फ चार वर्षे र एक वर्षे विएड कक्षा सञ्चालन गर्दै आएको प्राध्यापक मुक्तिनाथ गैह्रेले जानकारी दिए।
राममणि क्याम्पसमा त्रिभुवन विश्वविद्यालयतर्फ एक हजार दुई सय विद्यार्थी अध्ययनरत रहेका छन्।