नेपाल भारत सीमा क्षेत्रमा २ सय ८४ वटा सीमा स्तम्भ बनेका छन्। भारतसँग सीमा जोडिएका रुपन्देही र कपिलवस्तु जिल्लाको सीमा क्षेत्रमा गरी २ सय ८४ वटा सीमा स्तम्भ बनाइएको हो। जसमध्ये ७ वटा मुख्य, ६८ मध्यम र २ सय ९ सामान्य सीमा स्तम्भ हुन्।
नेपाल-भारत सीमा सर्वेक्षण नं. ३ टोलीले सन् २०१८ को डिसेम्बर १५ देखि २०१९ को मे २९ अर्थात् बुधबारसम्म नयाँ सीमा स्तम्भ निर्माण गरेको हो। निर्माण गरिएका सीमा स्तम्भहरूलाई बुधबार भैरहवामा आयोजित दुई देशको दोस्रो संयुक्त बैठकले प्रमाणिकरण गरेको छ।
नेपालका तर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर, भारत सिद्धार्थनगर जिल्लाकी प्रमुख विकास अधिकारी हर्षिता माथु, बलरामपुर जिल्लाका सहायक विकास अधिकारी अरुणकुमार शुक्ला तथा महाराजगंज जिल्लाका सहायक विकास अधिकारी जस्धिर सिंहले प्रमाणिकरण गरेको सीमा सर्वेक्षण प्रमुख उमेश कुमारले जानकारी दिए।
सिंहले सन् २०१५ देखि सीमा क्षेत्रमा सर्वेको काम सुरू गरिएकोमा हालसम्म २ सय ८४ वटा पिल्लर निर्माण गरी प्रमाणिकरण गरिएको बताए।
नवलपरासीदेखि बर्दियासम्म ४ सय १८ किलोमिटर क्षेत्रमा सीमा स्तम्भ निर्माण र सर्वेक्षणको जिम्मा पाएको नं. ३ टोलीले यो सिजनमा रुपन्देही र कपिलवस्तुको मात्रै सीमा स्तम्भ निर्माण गरेको हो।
सर्वेक्षण टोलीकाअनुसार रुपन्देहीको सीमामा ३ सय ५१ सीमा स्तम्भ निर्माण गर्नुपर्ने भए पनि यो वर्ष ८१ वटामात्रै नयाँ सीमा स्तम्भ बनाइएको छ। जसमध्ये ४० वटा नेपालले बनाएको हो भने ४१ वटा सीमा स्तम्भ भारतले निर्माण गरेको हो। २ सय ७० सीमा स्तम्भ भने बनाउन अझै बाँकी छन्।
यस्तै, कपिलवस्तुमा २ सय ४२ वटा स्तम्भ निर्माण गर्नुपर्नेमा २ सय ३ वटा निर्माण गरिएको छ। कपिलवस्तुमा ३८ सीमा स्तम्भ निर्माण गर्न बाँकी छन् भने नेपालले १ सय ३६ र भारतले ६७ वटा निर्माण गरेको छ।
कपिलवस्तुमा १ सय ५ वटा सीमा स्तम्भ नयाँ बनाइएको हो भने ३१ वटा पुरानालाई मर्मत गरी नयाँ बनाइएको हो। दुई देशको सहमतिअनुसार विजोर नम्बर भएको सीमा स्तम्भ नेपालले निर्माण गर्नुपर्ने हुन्छ भने जोर नम्बरको भारतले निर्माण गर्नुपर्ने हुन्छ।
सीमा सर्वेक्षण प्रमुख उमेश कुमारले यसवर्ष जंगल, नदी, सुख्खा नदी लगायत अप्ठ्यारा ठाउँमा समेत सीमा स्तम्भ निर्माण गरिएको बताए। ५ सय ८० नं पिल्लरदेखि ५ सय ८९ नं सम्मका पिल्लर जंगल क्षेत्रमा परेको उनले बताए। त्यस्तै, ५ सय २२ देखि ५ सय २७ सम्मका सुख्खा क्षेत्रमा र त्यसभन्दा तलका पिल्लरहरू नदीमा परेका थिए। कपिलवस्तुमा ५ सय ७५ देखि ५ सय ८८ नं. सम्मका पिल्लर केही भाग जमिन र बाँकी नदीमा परेका थिए।
यस वर्ष गहिरो नदी परेको ठाउँमा भने सीमा स्तम्भ निर्माण गरिएको छैन। निर्माण बाँकी रहेका सीमा स्तम्भ आगामी वर्षबाट निर्माण सुरू गरिने छन्।
सर्वेक्षण प्रमुख कुमारले अब बस्ने नेपाल-भारत सर्वे अफिसियल कमिटी (एसओसी) को संयुक्त बैठकले जुन-जुन ठाउँमा सीमा स्तम्भ बनाउन निर्देशन दिन्छ, सोहीअनुसार २०१९ को डिसेम्बरबाट पुनः सीमा स्तम्भ निर्माण थालिने बताए।
दुई देशका अधिकारीहरूको संयुक्त बैठकले सीमा सर्वेक्षणका क्रममा देखिएका समस्याहरूलाई समाधान गर्न माथिल्लो निकायलाई अनुरोध गर्ने सहमति गरेका छन्।