शिशाको टिलिक्क ढोका। मार्बलको टलक्क भुइँ। सेतो चमक्क भित्ता।
हप्हप्ती गर्मी शान्त पार्ने शितल हावा। फराक कोठा, कोठाका कुना-कुनामा माटोका गमला, गमलामा हरिया बोट।
मान्छेहरू काउन्टरमा झुम्मिएर ठेलमठेल गर्दै छैनन्। बरू टोकन लिएर कुर्सीमा बसेका छन्, भित्तामा राखिएको टिभी हेर्दै, आफ्नो पालो कुर्दै।
यो दृश्य काठमाडौंको आँखा अस्पतालको हो। निजी होइन, त्रिपुरेश्वरस्थित नेपालकै पहिलो आँखा अस्पताल, जुन खुलेकै ४५ वर्ष भयो। रूप फेरिएको चाहिँ भर्खरै।
वीर अस्पतालबाट आँखा विभाग छुट्ट्याएर डाक्टर रामप्रसाद पोखरेलको सक्रियतामा खुलेको यो अस्पताल आफ्नो जमानाको 'नम्बर एक' थियो। देशका विभिन्न ठाउँबाट आँखाका जटिल रोग उपचार गराउन मान्छे यहीँ आउँथे।
विस्तारै अरू आँखा अस्पताल खुले। तिलगंगा खुल्यो, महाराजगन्ज टिचिङ अस्पतालको आँखा विभागले राम्रो सेवा दिन थाल्यो। निजी आँखा क्लिनिकहरू पनि छ्यासछ्यास्ती भए।
यिनको गुणस्तर उक्सिँदै गयो, पुरानो आँखा अस्पताल ओझेल पर्दै गयो। सेवा खुम्चियो, पूर्वाधार खुम्चियो, मान्छेको विश्वास खुम्चियो।
हुँदाहुँदा केही वर्षयता यसको आँगन 'पार्किङ' थलोमा बदलियो। ढोकामै खुलेका दर्जन बढी चस्मा पसलमा आउने ग्राहकका सवारीले खचाखच। स-साना सटरका ती झिलिक्क पसलले नेपालकै पहिलो आँखा अस्पताललाई 'बूढो' बनाइदिए।
यही 'बूढो' अस्पतालको अहिले कायापलट भएको छ। पूर्वाधारमा पनि, सेवामा पनि।
अस्पतालको यो 'पुनरागमन' यात्रा २०७० सालबाट सुरू हुन्छ, जब सेनामा मेजर जनरल भएर अवकाश पाएका दमनबहादुर घले नयाँ सिइओ भएर आए।
उनी ३७ वर्षे सैनिक जीवनबाट भर्खरै अवकाश पाएर बसेका थिए। अस्पतालकै अध्यक्ष विश्वकान्त मैनालीले उनलाई आँखा अस्पतालको जिम्मेवारी सम्हाल्न आग्रह गरे।
'अस्पतालको काम समाजसेवा नै हो भन्ने सोचेर आएँ,' घलेले भने, 'युद्ध, हतियार र लडाइँ व्यवस्थापनको अनुभव भएको सैनिकले अस्पताल कसरी चलाउँला भन्ने पनि लागेको थियो। त्यसमाथि यहाँको अवस्था देख्दा कहाँबाट के थाल्ने भन्ने नै अन्यौल थियो।'
उनले सबभन्दा पहिला यहाँका समस्या केलाए।
पहिलो, यो अस्पताल समयअनुसार प्रतिस्पर्धामा भिड्न नसकेको उनको ठम्याइ रह्यो।
पछि खुलेका अरू अस्पताल सुधारिँदै अघि बढे, यो पछि पर्दै गयो। हुँदाहुँदा मान्छेलाई अस्पतालको भन्दा धेरै भर चस्मा पसलमाथि भयो। यहाँ डाक्टरसँग सल्लाह लिनुको साटो पसलमै पावर जाँच्नेहरू बढे।
दोस्रो, डाक्टर र अरू प्राविधिकहरूले अस्पताललाई 'कमाइ खाने भाँडो' बनाए। बिरामीलाई आफैं जाँच्नुको साटो बाहिरी क्लिनिक वा चस्मा पसलतिर पठाउन थाले। कतिपयले आफैं पसल खोलेर फाइदा लिने प्रवृत्ति बढ्यो। उनीहरू अस्पताललाई कम समय दिन्थे, क्लिनिकमा बढी भुल्थे।
यसरी अस्पतालमा अनुशासनको बोट खङ्ग्रङ्गै सुक्यो।
तेस्रो समस्या थियो, सरसफाइ र भौतिक पूर्वाधार। अस्पताल परिसर एकदमै फोहोर थियो। पछाडिको भाग त डम्पिङ साइट। चर्पी जानै नसकिने।
समस्या पहिचान गरेर सल्टाउने इच्छा भएपछि केहीले छेक्दैन। घले आफ्नो व्यवस्थापनमा परेड खेल्न थाले। सबभन्दा पहिला आफूले ३७ वर्षसम्म देख्दै-मान्दै आएको अनुशासनकै हाँगो समाते।
'अनुशासनलाई परिधिमा राख्न मलाई समस्या थिएन। गर्नुपर्ने कामको गाइडलाइन बनाएँ,' उनले भने, 'मुख्य कर्मचारीहरू सहकार्य गर्न हिच्किचाएनन्। बाधा पार्नेहरू कोही छेउमै बसे, कोही विदा भए।'
उनको गाइडलाइनमा कर्मचारीका जिम्मेवारीको लेखाजोखा थियो। केही चिकित्सक र कर्मचारी आउनेजाने भए। आँखाका सबै रोग जाँच्ने विशेषज्ञ नियुक्त भए। अहिले यहाँ मोतियाविन्दु, रेटिना, ग्लाउकोमा, बाल विभाग लगायत सबै क्षेत्रमा गरी १२ जना विशेषज्ञ डाक्टर छन्।
'पहिले एउटा शल्यक्रिया गरेर भाग्ने डाक्टर पनि थिए,' उनले भने, 'अहिले सबै फुलटाइम हुनुहुन्छ।'
फोहोरले भरिएको अस्पतालपछाडिको खुला जग्गा हरियो दूबोले ढपक्कै छ। रंगीबिरंगी फूल र होचा बिरूवा चिटिक्क छन्। 'पहिले यता हेर्दा उदेक लाग्थ्यो, अहिले आनन्द हुन्छ,' उनले बगैंचा देखाउँदै भने।
बगैंचा नजिकै सफा क्यान्टिन छ। क्यान्टिनमा आरामदायी बेन्च-कुर्सी छन्। हात धुने ठाउँ छ। बिरामी, कर्मचारी र अरूलाई खाजा सुविधा होस् भनेर केही महिनाअघि यो क्यान्टिन खोलिएको उनले बताए।
अस्पतालको भुइँतलाले रूप फेरेको पनि पाँच महिना मात्र भयो। माथिल्लो तला, भर्याङ, गल्ली र चर्पी पनि सुग्घर छ। बगैंचा व्यवस्थापनदेखि सरसफाइसम्मको जिम्मा निजी कम्पनीहरूलाई छ।
'कर्मचारी बढाएर गनगन गर्नुभन्दा कम्पनीलाई जिम्मा दिँदा ढुक्क। काम मननपरे भन्न पाइयो,' उनले भने, 'धेरै सुधार्न बाँकी छ। प्रयास गर्दैछौं।'
प्रशासनिक व्यवस्थापन त अनुशासनले सुध्रिएला, भौतिक सुधारका निम्ति चाहिने पैसा कसरी जुट्यो?
उनका अनुसार यो अस्पताललाई सरकारले वार्षिक तीन करोड रूपैयाँ दिन्छ। पहिले यही बजेटको व्यवस्थापन भद्रगोल थियो।
'अस्पताललाई आत्मनिर्भर बनाउन शल्यक्रिया संख्या बढाउनु पर्थ्यो। ५० रूपैयाँको टिकटले दिनमा हजार जना आए पनि भरथेग हुँदैन,' घलेले भने, 'हामीले नयाँ अपरेसन थिएटर बनायौं। शुल्क पनि अन्तभन्दा सस्तो छ।'
विश्व स्वास्थ्य संगठन मापदण्डअनुसारको नयाँ 'अपरेसन थिएटर' सुविधासम्पन्न भएको उनको दाबी छ। कुनै बेला दिनमा दुई-तीन शल्यक्रिया हुनेमा अहिले २०-२५ वटा हुन्छन्। दिनकै पाँच सय हाराहारी बिरामी जाँचिन्छ।
भौतिक पूर्वाधार बनाउन दाताहरूको पनि सहयोग छ। क्यानडा, जापान, मलेसिया लगायत देशसँग पूर्वाधार निम्ति पहल गरेको उनले बताए।
'बाहिरी संस्थासँग सम्पर्क राखेर काम गर्ने चलनै थिएन। अहिले धेरै सहयोगी हात पाएका छौं। तिनकै भरमा पूर्वाधार बनाउन सकेका छौं,' उनले भने।
उनका अनुसार यहाँ डाक्टरी र नेत्र सहायक पढ्ने विद्यार्थी इन्टर्नसिपका लागि आउँछन्। अस्पतालले दुर्गम जिल्लाहरूमा वर्षको १५-१६ वटा निःशुल्क शिविर चलाउँछ। आँखा जाँचदेखि शल्यक्रियासम्म त्यहीँ गरिन्छ। काठमाडौंमै पनि एकदिने शिविर हुन्छ। शल्यक्रिया गराउनुपरे अस्पतालै ल्याइन्छ र शुल्कमा आधा छुट दिइन्छ।
अस्पतालको पहुँच बढाउन क्यानेडियन संस्थाको सहयोगमा टोखा, साँखु, खोकना र थानकोटका स्थानीयलाई उपचार सेवा दिइँदै आएको घलेले बताए।
उनले आँखा अस्पतालको शाखा विस्तार गर्ने योजना पनि बनाएका छन्। 'बाराको सिमरामा अस्पतालको ५ कठ्ठा जग्गा छ,' उनले भने, 'पहिलो शाखा त्यहीँ खुल्छ।'
आफ्नो कार्यकालमा सोचेअनुसार काम गर्न पाएकामा घले सन्तुष्ट छन्। छ वर्षअघि र आजको दृश्यमा उनी ठूलो फड्को देख्छन्।
'हेर्नु न, बगैंचामा टहलिँदै गरेका, शितल हावामा कुर्सीमै सुतेका, लाइन नबसी खुट्टा तन्काउँदै आरामले टिभी हेर्दै बसेका मान्छे देख्दा म सफल हुँदैछु भन्ने लागेको छ,' उनले भने, 'यो उमेरमा अरू के चाहियो?'
घले सधैं यही पदमा हुने छैनन्। आफू गएसँगै अस्पतालको नयाँ अनुहार फेरि नचाउरियोस् भन्ने उनको चाहना छ।
भन्छन्, 'मैले उदाहरण बनाइदिएको छु। जो आए पनि यसलाई जागिर हैन जिम्मेवारी ठानेर निरन्तरता दिऊन् भन्ने अनुरोध छ।'
तस्वीर तथा भिडिओः निशा भण्डारी/सेतोपाटी