जिल्ला प्रशासन कार्यालय रूपन्देहीले आइएसओ (गुणस्तर प्रमाणपत्र) मान्यता प्राप्त गरेको छ।
जर्मनीस्थित ड्यूटेस्च एक्रिडिएसन बोर्ड (डीएबी)ले क्वालिटी म्यानेजमेन्ट सिस्टम राख्न सफल भएको भन्दै प्रशासन कार्यालयलाई आइएसओ प्रदान गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए। विभिन्न मापदण्ड पूरा गरेपछि आइएसओ मान्यता प्रदान गरिन्छ। यो संस्थाले सामान र सेवा दुबैको गुणस्तर मापन गरेर आइएसओ दिन्छ।
रूपन्देही प्रशासन आइएसओ प्राप्त गर्ने देशभरका सरकारी कार्यालयहरुमध्ये पहिलो भएको राना मगरले दाबी गरे। गत पुसदेखि हरेक महिना नयाँ कामको सुरूआत गर्दै आएको जिल्ला प्रशासन कार्यालयको व्यवस्थापकीय मापदण्डलाई हेरेर उक्त आइएसओ प्रदान गरिएको हो।
कर्मचारीबीचको वातावरण, सेवाग्राहीसँगको सम्बन्ध र उनीहरूलाई गर्ने व्यवहार, प्रविधिको प्रयोग, नेतृत्वको क्षमतालगायत सात वटा चरण पूरा गरेपछि आइएसओ प्रदान गरिन्छ। प्रशासनले उक्त सात चरण पूरा गरेकाले आइएसओ पाएको सहायक प्रजिअ कल्पना घिमिरे नेपालले बताइन्।
पहिलो पटक भएकाले एक वर्षका लागि मात्रै आइएसओ प्रदान गरिएको हो। प्रशासनले छोटो समयमै प्रशासनमा थुप्रै सुधारका काम गरेको छ।
प्रशासन भित्रै बगैंचा, गोलघर, प्राथमिक उपचार कक्ष, पुस्तकालय, अभिलेखीकरण कम्प्युटराइज, स्तनपान कक्ष, सुरक्षा सूचना केन्द्र, सेवाग्राहीलाई टोकन सिस्टम, कामपूर्व राष्ट्रिय गान सुरू गरेर सेवा प्रवाह गर्ने लगायत व्यवस्था गरेको छ।
सेवाग्राहीलाई नि:शुल्क चिया कफी, चिसो तातो पानी पनि दिँदै आएको छ।
प्रमुख जिल्ला अधिकारी रानामगरले सबैको सहयोगले प्रशासन कार्यालयले आइएसओ प्राप्त गर्न सफल भएको बताए। उनले हरेक जिल्लाले प्रशासन सुधार गर्न आफूहरुको कामले प्रेरणा मिल्ने जनाए। आगामी दिनमा प्रशासनका बाँकी कामलाई समेत चुस्तदुरूस्त पारिने उनले बताए।