२०३१ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठक नेतृत्वको समितिले पोखरामा घर तथा भवन बनाउने मापदण्ड तोक्यो। त्यो मापदण्डअनुसार साढे दुईदेखि साढे तीन तलासम्म भवन बनाउन पाइने भयो।
०५७ सालमा पोखरामा घर बनाउने मापदण्डबारे विभिन्न अध्ययन भए। ती अध्ययनले पनि २०३१ सालकै मापदण्ड उचित रहेको रिपोर्ट दिए।
अघिल्लो स्थानीय सरकारका मेयर कृष्ण थापाका अनुसार कहाँ कसरी बस्ती विकास गर्ने सन्दर्भमा अध्ययनबाट आएका सुझावअनुसार नगरले ०५८ सालको अन्तिमतिर २० वर्षे ‘ल्याण्ड युज प्लान’ बनायो।
जसमा बढीमा साढे तीन तलाको संरचना बनाउने उल्लेख थियो।
‘योजना बनाएको एक वर्ष नपुग्दै स्थानीय सरकार भंग भयो। त्यहीबेलाको योजनाअनुसार अहिले पनि संरचना बनिरहेका छन्, त्यो योजनामा पोखराको जमिन र भूगोलको अवस्था परीक्षणपछि मात्रै विशेष संरचना निर्माण गर्ने भन्ने थियो,’ थापाले भने।
त्यो योजनामा ठूला र अग्ला भवन बनाउनै परे जमिन परीक्षण आवश्यक ठानिएको थियो।
महानगरपालिकाले पुरानै मापदण्डअनुसार बढीमा तीन तलाको संरचना बनाउन स्वीकृति दिइरहेको छ। यस अनुसार ३५ फिटसम्म उचाइका घर तथा भवन निर्माण गर्न सकिन्छ।
पोखरा पर्यटकीय गन्तव्य हो। यहाँबाट हिमशृंखला अवलोकन गर्ने धेरै पर्यटक चाहना हुन्छ। अग्ला संरचना बनाउँदा हिमाल छेकिने भएकाले महानगरले अनुमति दिएको छैन।
त्यसमाथि पोखराको जमिन र भूगोल कच्चा छ। नयाँ माटो छ। त्यसैले यहाँ ठूला र अग्ला संरचना बनाउन उपयुक्त नभएको इन्जिनियरहरूको भनाइ छ।
तर, यसैबीच धेरै व्यवसायीले यो मापदण्ड मिचेर घर बनाउन थाले। मुख्यगरी लेकसाइसमा मापदण्ड मिचेर अग्ला होटल बने।
स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि चुनिएर आएपछि उनीहरूले पोखरा महानागरमा भवन निर्माणको मापदण्डबारे छलफल सुरू गरे।
पोखरा महानगरपालिको २०७५ वैशाख ७ गतेको कार्यपालिका बैठकले भवन निर्माण मापदण्ड परिमार्जन विज्ञ समिति गठन गर्यो।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानका पूर्वडिन प्रा.डा. भरतराज पहारीको संयोजकत्वमा पाँच सदस्यीय विज्ञ समिति गठन बन्यो।
जुन बेला उनी संयोजकमा नियुक्त भए, उनी आफैं मापदण्डविपरीत लेकसाइडमा ११ तले होटल बनाउँदै थिए। यसरी सिधासिधी ‘स्वार्थ बाझिए’को मानिसलाई विज्ञ बनाइयो।
पहारी संयोजक हुनुमा उनको राजनीतिक पृष्ठभूमिले साथ दिएको थियो। कम्युनिस्ट पृष्ठभूमिका भएकाले मेयर मानबहादुर जिसीको रोजाइमा पहारी नै परेक।
पहारी संयोजकत्वको समितिमा आमन्त्रित विषयविज्ञ भनेर अन्य दुई जनालाई पनि सहभागी गराइएको थियो।
आफ्नै नेतृत्वमा भवन संहिता निर्माण समिति गठन भएपछि पहारीलाई झन् सजिलो भयो। पोखरा महानगरपालिका–६ मा पहारीले आफ्नो होटल निर्माणलाई तीव्रता दिए। अर्कोतिर भवन निर्माण मापदण्ड रिपोर्ट ‘अनुकूल’ बनाउँदै गए।
उक्त समितिले २०७५ साउन ९ गते महानगरलाई भवन निर्माणको नयाँ मापदण्ड निर्माणबारे प्रतिवेदन बुझायो।
यो समितिको रिपोर्टले मुख्य सारले पनि पहारीजस्तै केही व्यवसायीको स्वार्थ सम्बोधन गर्छ।
रिपोर्ट भन्छ – पोखरामा जमिनको क्षेत्रफलअनुसार घरमा तला थप थप्न मिल्ने। अर्थात् अग्लो घर बनाउन मिल्ने।
अग्ला संरचना बन्ने क्रम बढेको बेला पहारी संयोजकत्वले ल्याएको प्रतिवेदन हेरेपछि जनप्रतिनिधि नै झस्किए। यो प्रतिवेदनमाथि छलफल र निर्णय भने भएको छैन।
‘प्रारम्भिक रिपोर्ट आयो, त्यसमाथि निर्णय भइसकेको छैन, निस्कृयजस्तै छ,’ वरिष्ठ इन्जिनियर सुरेन्द्र पाण्डे भन्छन्, ‘अहिले त्यो प्रतिवेदनले खासै महत्व पनि राखेको देखिँदैन।’
पहारीले पोखराको लेकसाइडमा दुई भुईं तलासहित ११ तले होटल निर्माण गरेका छन्। ‘स्वीस इन्टरनेसनल’ नामको उक्त होटल सञ्चालनमा आइसकेको छ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट होटल उद्घाटन गराउने पहारीको कार्यक्रम विवादमा पर्यो। भवन आचारसंहिता पालना नगरेको होटल उद्घाटन नगरीकन ओली फर्किए। होटलमा ओलीको नाम खोपेर शिलालेख तयार गरिएको थियो।
१ अर्ब २५ करोड रूपैयाँ लगानीमा बनेको पहारीको होटलले भवन आचारसंहिता पालना गरेको थिएन, त्यही आचारसंहिता समितिमा पहारी थिए भन्ने बुझेपछि प्रधानमन्त्री शिलालेख अनावरण नगरी फर्केका हुन्।
पहारी प्रतिवेदन कार्यान्वयनमा आए पोखरामा यस्ता अग्ला संरचनाको निर्माणको भयावह नै सुरू हुने पोखरा महानगर ६ नम्बरका वडाध्यक्ष जगतबहादुर पाल बताउँछन्।
‘भवन निर्माण मापदण्ड समितिमा उहाँलाई खटाउनुपूर्व नै लेकसाइडमा यस्ता घर धेरै बनिसकेका थिए, यस्ता घरलाई कसरी दायरामा ल्याउने महानगरले कडा रूपमा कदम चालेन,’ पालले भने।
उनका अनुसार नगरसभामा पहारीलाई जिम्मेवारी दिने निर्णय भइरहँदा भने धेरैको विरोध थिएन।
‘बाहिर–बाहिर कसैले टिप्पणी गरे पनि धेरैले समर्थन नै जनाएका थिए,’ उनले भने, ‘त्यो समितिले बुझाएको प्रतिवेदन पनि कार्यान्वयनमा नआएकाले धेरै सोधीखोजी गरिएन।’
जसले अग्लो भवन बनाइरहेको छ, उसैलाई मापदण्ड तोक्न दिँदा भने समस्या हुने उनले बताए।
‘जसले अग्लो संरचना बनाइरहेको छ, उसैलाई भवन संहिताको रिपोर्ट खोज्न लगाउँदा स्वार्थ बाझिन्छ भन्ने बुझ्नुपर्ने हो,’ उनले भने।
प्रधानमन्त्री आउने भनिएको होटल उद्घाटन समारोहमा पोखरा नगरका मेयर पनि आएनन्।
मेयर मानबहादुर जिसीले भने पहारीको होटलले घर–नक्सा सम्पन्नताको वैधानिकता पूरा नगरेको स्पष्ट थाहा भएर नै आफू उद्घाटन कार्यक्रममा नगएको बताए।
जिसीका अनुसार पहारीको योग्यता र क्षमता मूल्यांकन गरेर मापदण्ड रिपोर्ट संकलनको जिम्मा दिइएको थियो।
‘यसो भन्दैमा उहाँले आफ्नो लागि उपयुक्त खालको रिपोर्ट बनाउनु भएन होला, हामी उहाँको घर पनि परीक्षण गर्दैछौं,’ उनले भने, ‘मापदण्ड पुगेन भने दायरामा ल्याइन्छ।’
स्थानीय सरकार गठन हुनुपूर्व नै पोखरामा मापदण्डविपरीतका संरचना बनाउन थालिएको उनी बताउँछन्।
‘प्राविधिक रूपमा यस्ता संरचना ठीक या बेठीक हुन्छन्, हामी अध्ययन गरिरहेका छौं,’ जिसीले भने, ‘केही न केही ‘एक्सन’ थाल्छौं।’
‘हामीले नयाँ मापदण्डका लागि रिपोर्ट ल्याउन भनेका हौं, तर, त्यो रिपोर्टबारे निर्णय त भएको छैन नि,’ उनले भने।
पहारीले भने आफ्नो होटलको संरचनाले मापदण्ड पालना गरेको बताए।
‘सहरी विकास र विश्वस्तरीय मापदण्ड हेर्ने हो भने जमिनको क्षेत्रफलको आधारमा संरचनाको तला थप्न पाइन्छ,’ उनले भने, ‘मापदण्ड पुगेको छैन भने महानगरले तीन गुणा जरिवाना तिराएर कर उठाएकै छ, यसमा किन आपत्ति?’
पहारीले भने आफ्नो समितिले दिएको प्रतिवेदनको राय पनि क्षेत्रफलको आधारमा संरचना बनाउन दिनुपर्ने रहेको बताए। अब बहुतला घर र बस्ती विकासलाई पनि प्राथमिकता दिनुपर्छ भन्ने सुझाव हाम्रो हो,’ उनले भने, ‘पोखरामा खुला ठाउँ थुप्रै छन्। त्यस्ता ठाउँमा क्षेत्रफलको हिसाबले बहुतलाका घर बनाउन सकिन्छ भन्ने हो।’
मेयर जिसीले पहारीको मात्र नभएर अन्य त्यस्ता अग्ला संरचनाको मापदण्ड परीक्षण र कानुनी दायरामा ल्याउन ३५ दिने सूचना जारी भइसकेको बताए। ३५ दिनभित्र यस्ता संरचनाको प्राविधिक र भवन संहिता परीक्षण गरिँदैछ। आगामी दिनमा अग्ला संरचना बनाउन रोक लगाउने गरी त्यस्ता भवनलाई तेब्बर राजश्व उठाएर दायरामा ल्याइने बताए।
प्रधानमन्त्री आफैं आउने भएपछि मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्रीहरू होटल उद्घाटन कार्यक्रममा पुगेका थिए। तर, आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री होटल उद्घाटन गर्न आउँदा मेयर जिसी भने त्यहाँ थिएनन्। ‘मेरो कार्यक्रम अन्यत्र पनि थियो, पैंतीस दिने सूचना जारी गरेर त्यस्ता संरचनाको नियमन थालिरहेको बेला त्यहाँ जानु उपयुक्त देखिनँ,’ मेयर जिसीले भने।