पाटनको कुम्भेश्वर महादेवबाट हिरण्यवर्ण महाविहार (गोल्डन टेम्पल) जाँदा झतापोल भन्ने ठाउँ आउँछ। यहाँ सानो चोकमा एउटा स्तम्भ ठडिएको छ। यही स्तम्भका आधारमा यो ठाउँको नाम झतापोल रहन गएको स्थानीय बताउँछन्।
झतापोललाई 'ललित स्तम्भ' पनि भनिन्छ। स्तम्भ उक्लिने भर्याङसँगै जोडेर पर्खाल बनाइएको छ। एकातिर भित्तामा एउटा रंगीन मूर्ति कुँदिएको छ, जसमा लेखिएको छ– ढुंगामा कुँदिएको यो मूर्तिको नाम ललित हो।
टोपीको आकृति, ठूल्ठूला आँखा, ओठमाथि जुँगा। नेवार समुदायका पुरूषको झल्को दिने यी ललित को हुन्?
यिनको मूर्ति र यिनै नामको स्तम्भ यति महत्वसाथ किन बनाइएको छ?
यसको एकखाले जवाफ भाषा वंशावलीमा छ। त्यसमा उल्लेख भएअनुसार ललित ती मान्छे हुन्, जसको काम र नामबाट 'ललितपुर' नामाकरण भएको थियो। झतापोल मात्र नभएर समग्र ठाउँको नामका प्रेरणा यिनै ललित घाँसी थिए।
वंशावलीमा उनको कथा यस्तो छः
त्यो बेला राजा श्री वीरदेवले शिखरापुर (फर्पिङ) सहरमा राज्य गर्थे। उनी प्रायः शिखरापुर दरबारको झ्यालबाट बाहिर हेरेर बस्छन्। त्यसरी हेर्दा एक जना घाँसी सधैं एक्लै घाँस काट्न आएको देख्छन्। घाँसीलाई कुष्ठरोग लागेको हुन्छ। उनको अनुहार र हातगोडा देखेर राजालाई नराम्रो लाग्छ।
एकदिन त्यसैगरी झ्यालबाट हेर्दा राजा छक्क पर्छन्। घाँसी निको भइसकेका हुन्छन्। उनी मूर्तिझैं सुन्दर भएको देखेपछि राजालाई लाग्छ, 'रातारात यो चमत्कार कसरी भयो?'
उनलाई यो कुरा जान्न हुटहुटी हुन्छ र ललितलाई बोलाउँछन्। राजाले नै बोलाएपछि ललित उत्साहित हुँदै सुनाउँछन्।
‘म हिजो बागमतीबाट दक्षिणमा रहेको ललितारण्य वनमा घाँस काट्न गएको थिएँ। चर्को घामले निकै गर्मी भयो। म आफ्नो नोल (खर्पन) एक ठाउँमा गाडेर नजिकै पोखरीजस्तो पानी जमेको ठाउँमा नुहाउन गएँ,’ उनले सुनाउँदै गए, ‘नुहाएर पानीबाट बाहिर निस्कँदा मेरो कुष्ठरोग निको भइसकेको थियो। तर, मेरो नोल निकाल्न मिलेन।’
राजा वीरदेव ललितका कुरा सुनेर अचम्म पर्छन्। भगवानमा निकै विश्वास गर्ने वीरदेवले यो सबै भगवानकै चमत्कार भन्ने सोच्छन्। र, घाँसी ललितलाई आफ्नो मन्त्री बनाउँछन्।
वीरदेवले पहिल्यैदेखि सुन्दर सहर बसाउने सपना देखेका हुन्छन्। ललितका कुरा सुनेर उनलाई थप जोश आउँछ। त्यस्तो रोग पनि निको पार्ने ठाउँमा सहर बनाउने इच्छा हुन्छ।
एकदिन वीरदेवका सपनामा भगवान आउँछन् र भन्छन्, 'हे राजा, तिमी सुन्दर सहर बनाउने भए यो ललितारण्य वन फाँडेर सहर बनाऊ। त्यसका लागि तिम्रो मन्त्री ललितलाई अख्तियारी गर।'
भगवानको सुझावअनुसार राजाले ललितलाई हुकुम दिन्छन्। साइत पारेर ललितले काम थाल्छन्। धेरै धन-सम्पत्ति खर्चेर २४ वटा टोल बनाउँछन्। पहिले भइरहेको सहरसँग जोडिएको नयाँ सहरमा पाँच थुम्का हुन्छन्। करिब नौ हजार घर थपिन्छन्। धारा, इनार, पोखरी, देवी–देवता स्थापना गर्छन्। दरबार पनि बनाएर राजा उतै सर्छन्।
ललितारण्य वन फाँडेर र ललितको सक्रियतामा बनाएको सहर भएकाले यो नयाँ सहरको नाम ‘ललितपत्तन’ राखिन्छ। ललितपुर र पाटन दुवै 'ललितपत्तन' बाटै अपभ्रंश भएका शब्द मानिन्छन्।
त्यस्तै, ललितले जहाँ नोल (खर्पन) गाडेका थिए, त्यही ठाउँलाई पछि 'झतापोलदो' भन्न थालियो। ललित स्तम्भ भएको यहीँ ठाउँलाई आज झतापोल भनिने भाषा वंशावलीमा उल्लेख छ।
इतिहास–संस्कृति अध्येता एवं अनुसन्धाता नुतन्धर शर्माका अनुसार ललित एक 'ज्यापू' पनि हुन्, जसले मच्छिन्द्रनाथलाई आसामबाट काठमाडौं ल्याउन भूमिका खेलेका छन्।
किम्बदन्तीअनुसार गुरु गोरखनाथले आफूलाई कसैले भिक्षा नदिएको झोंकमा सम्पूर्ण नागलाई वशमा लिन्छन्। नागमाथि नै बसिदिएपछि देशमा वर्षा हुँदैन। अनिकाल सुरू हुन्छ। हाहाकार मच्चिन थालेपछि राजा नरेन्द्रदेव र उनका सल्लाहकारले पानी ल्याउने उपाय खोज्न थाल्छन्।
उनीहरूले जुक्ति लगाउँछन्- गोरखनाथका पनि गुरू मच्छिन्द्रनाथलाई आसामबाट नेपाल ल्याउने। आफ्ना गुरू आएपछि दर्शन गर्न गोरखनाथ नागमाथिबाट उठ्नै पर्छ। त्यसपछि राजा नरेन्द्रदेव, बन्धुदत्ताचार्य र एक जना व्यक्ति आसामको कामारु पीठ पुग्छन्, जहाँ मच्छिन्द्रनाथ हुन्छन्।
कामारु जानेमध्ये नाम नखुलेका ती एक व्यक्ति ललित ज्यापू भएको अनुसन्धाता शर्मा बताउँछन्।
झतापोलमा रहेको ललित स्तम्भमा यो कुरा अर्थ्याउने वर्णन पनि छ– मच्छिन्द्रनाथलाई आसामबाट पाटनसम्म बोकेर ल्याउन ललितले यो लामो ढुंगालाई नोल (खर्पनजस्तै) का रुपमा प्रयोग गरेका थिए भन्ने विश्वास गरिन्छ।
यही कारण ललितको मूर्तिलाई 'ज्यापू' कै स्वरूपमा रंगरोगन गरिएको हुनसक्ने अनुमान छ। रंगरोगन गर्नुअघि यो ढुंगामा कुनै आकार नभएको स्थानीय बताउँछन्। अनुसन्धाता शर्मा यो मूर्ति ढुंगेयुगको हुनसक्ने अनुमान गर्छन्। उनका अनुसार त्यो बेला आकारप्रकार दिने क्रम सुरू नभएकाले ढुंगालाई त्यसै छाडिन्थ्यो।
भाषा वंशावली र अध्येता शर्माका कथा भिन्न सुनिए पनि दुवैको सार एकै छ- झतापोलमा उभिएको स्तम्भ र ललित दुवै ललितपुरको इतिहासमा महत्वपूर्ण छन्।
यो स्तम्भ र मूर्तिअगाडि एउटा घर पनि छ। ललितपुर नगरपालिकाले उक्त घरलाई वर्णन गर्दै पौराणिक पुरुष ललितको निवास भएको उल्लेख गरेको छ। अहिले यो घर भजन सत्तलमा परिणत भएको छ। पाटीजस्तो देखिने पहिलो तला भने सामुदायिक कामका लागि प्रयोग हुँदै आएको छ।