चुरे र तराईलाई जोड्दै बुटवलमा चक्रपथ निर्माण गरिएको छ।
बुटवलका ऐतिहासिक तथा पर्यटकीय क्षेत्र र सबै बस्तीलाई सडक सञ्जालसँग जोड्ने गरी बुटवल उपमहानगरपालिकाले चक्रपथ निर्माण गरेको हो ।
यहाँका १९ वटै वडा र छिमेकका अरु स्थानीय तहसँग समेतलाई सञ्जालमा जोड्ने गरी बाइपाससहितको चक्रपथ निर्माण भइरहेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए।
आउँदो दसैंसम्ममा नगर बस सञ्चालन गर्नेगरी चक्रपथ निर्माणको काम चलिरहेको छ।
उपमहानगरका १९ वटै वडाका सबै बस्तीलाई सहरसँग जोड्ने र सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारी स्वरूप चक्रपथ निर्माण थालिएको नगर प्रमुख शिवराज बताए।
बुटवलको चक्रपथले बुद्धबल्लीको जितगढी हुँदै लुम्बिनी र गौतमबुद्ध विमानस्थलसम्मका सिधा सडकहरूसँग समेत जोड्ने छ। आन्तरिक बाइपासहरूलाई पनि यहीँ सडक सञ्जालमा जोडिने छ।
बस्ती तथा बजार क्षेत्र र खुला क्षेत्रहरूलाई जोड्दै निर्माण भइरहेको चक्रपथले बुटवलका पार्कहरू, खुला चउरहरू, शैक्षिक क्षेत्र, अस्पताल तथा स्वास्थ्य संस्थाहरू, कृषि फार्महरू, औद्योगिक क्षेत्र, बैंकिङ क्षेत्र, खेलमैदानहरू, सामुदायिक तथा साझेदारी वन र नदी तटका बस्तीहरूलाई सञ्जालमा जोड्ने गरी निर्माण भइरहेको उपमहानगरपालिकाको भनाइ छ।
केही स्थानमा हरियालीसहितको पदमार्ग समेत बनाइने छ।
४० किलोमिटर लम्बाइको चक्रपथले ऐतिहासिक सम्पदा बुटवल जितगढी किल्ला, पुरातात्विक सहरका रूपमा विकास गर्न लागिएको पुरानो बुटवल हुँदै तिनाउ र दानव वारिपारिका सबै क्षेत्रहरूलाई सडक सञ्जालमा जोड्ने छ।
गोलपार्कबाट सुरू हुने चक्रपथले पुरातात्विक सहरका रूपमा संरक्षण भइरहेको पारी बुटवल हुँदै ऐतिहासिक मणिमुकुन्द सेन उद्यान क्षेत्र, जितगढी हुँदै चुरेको फेँदीबाट जवई मैदानसम्म पुग्नेछ।
गोलपार्क पुलचोकमा नयाँ पक्की पुल निर्माण कार्य पूरा भइसकेको छ भने त्यसबीचमा पर्ने विभिन्न ठाउँमा कल्भर्ट निर्माण भइसकेका छन्।
जवाई मैदानलाई बुटवलले प्रदेश सरकारको सहकार्यमा अन्तर्राष्ट्रियस्तरको स्टेडियम बनाइरहेको छ।
जवई खेल मैदानमा पुगेको चक्रपथलाई मिलनपार्क हुँदै बुटवल ग्लोबल पिसपार्कसम्म पुर्याइने छ। यी दुवै यहाँका शान्ति र मनोरञ्जनका महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास भएका पार्कहरू हुन्।
मिलनपार्कलाई उपमहानगरकै नमूना पार्क बनाउने गरी काम भइरहेको छ।
पिसपार्कबाट अगाडि बढेको सडक सोइलहार, सैनामैना नगरपालिकाको सीमाना कर्साघाट हुँदै रतनपुर, डहरगाउँबाट ऐतिहासिक नरैनापुर धाम क्षेत्रमा पुग्ने छ।
कर्साघाटमा पुल निर्माणको काम चलिरहेको छ भने सोही ठाउँमा बुटवल उपमहानगर र सैनामैनालाई जोडेर केन्द्रीयस्तरको कृषि उपज केन्द्र बनाउने तयारी स्वरूप डिपीआर बनिरहेको छ।
नरैनापुरलाई बुद्धबलीको (बुद्ध खेल्ने, डुल्ने र हिँड्ने ठाउँ) महत्त्वपूर्ण ठाउँ र पशुपतिनाथभन्दा पनि पुरानो धामका रूपमा लिइन्छ।
यो धाममा अध्ययन केन्द्रसहितको भ्यू टावर बनाउने र त्यसलाई सिमसार क्षेत्र कपरकट्टी तालसम्म जोडेर गुरुयोजना बनिरहेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।
चक्रपथले नरैनापुर धाम र कपरकट्टी ताल हुँदै त्यहाँका पुराना बस्ती केद्ली डाँडा, हिरा चोक हुँदै फर्साटिकर रोडमा जोडिने छ।
फर्साटिकर रोड बुटवल–बेलबास–बेथरी सडकमा जोडिएको विमानस्थल र लुम्बिनी जाने बाइपास सडक हो।
फर्साटिकर रोडमा जोडिएको चक्रपथलाई बाझापुर, विनायकपुर, भाटा, मनोहरापुर, सातकुला हुँदै मोतिपुर चोकमा लगिएको छ।
मोतिपुरदेखि झण्डापुर, हरिहरपुर, रानीगञ्ज हुँदै योगिकुटीको तिलोत्तमा घाट (मगरघाट) मा जोडिने छ।
तिलोत्तमा घाटमा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ।
१६ देखि १९ वटा वडा र सीमानामा रहेका सैनामैना, शुद्धोधन, गैंडहवा र कञ्चन स्थानीय तहसँग सञ्जाल जोड्ने छ।
सोही सडक डहरगाउँ, सोरहीया–सेमलार हुँदै नयाँ गाउँको मुक्तिनाथ धाम क्षेत्र जोड्दै राजमार्गमा मिसिने छ।
महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गको संगममा रहेको बुटवललाई सडक सञ्जालमा थप विस्तार गर्दै चक्रपथ निर्माणको काम सुरू गरिएको र सडकले यहाँका बस्ती, बजार र कृषि क्षेत्रलाई पर्यटनसँग सिधा सडक सञ्जालमा जोड्ने गरी काम भइरहेको उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए।
यो गुरुयोजनाका लागि २ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
एक वर्ष लगाएर यो नगर गुरुयोजना बनेको थियो। उपमहानगरले हालसम्म करिब पाँच करोड बराबरको बजेटको काम सम्पन्न गरिसकेको जनाएको छ।