प्रदेश नम्बर ३ सरकारले युवा वैज्ञानिक सम्मेलन गर्ने भएको छ।
प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग कीर्तिपुरसँगको सहकार्यमा सार्कस्तरीय जेठ २२ -२३ गते (बुधबार र बिहीबार) युवा वैज्ञानिक सम्मेलन गर्न लागेको हो।
अन्तर्राष्ट्रिय सार्क युवा वैज्ञानिक सम्मेलनका सम्पर्क व्यक्ति त्रिविका सहप्राध्यापक डाक्टर विनोद दवाडीका अनुसार युवा वैज्ञानिक सम्मेलनको तयारी पूरा भएको छ। सम्मेलनमा भाग लिन विभिन्न देशबाट वैज्ञानिकहरु मंगलबार साँझसम्म काठमाडौं आइपुग्नेछन्। सम्मेलन ललितपुरस्थित होटल हिमालयमा हुनेछ।
सार्क क्षेत्रमा विज्ञान तथा प्रविधिमा भए गरेका उपलब्धिको अनुभव साटासाट गर्दै विज्ञान तथा प्रविधि क्षेत्रको विकासमा सहयोग पुर्याउन युवा वैज्ञानिक सम्मेलन गर्न लागिएको दवाडीले जानकारी दिए। सम्मेलनमा नेपाल, बंगलादेश, भुटान, भारत, पाकिस्तान, श्रीलंका, जर्मनी, बेलायत, चीन, फिनल्याण्डसहित दश राष्ट्रका युवा वैज्ञानिक सहभागी हुनेछन्।
सम्मेलनमा १६ जना अन्तर्राष्ट्रिय युवा वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुने सम्मेलनका संयोजक त्रिविका प्रा.डा. दीपक अर्यालले जानकारी दिए।
‘विभिन्न देशका १६ युवा वैज्ञानिक र नेपालका ३५ जना वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ,’ अर्यालले भने, ‘नेपालका सातै प्रदेशका वैज्ञानिक सहभागी हुन्छन्।’
सम्मेलनमा नेपालका तीन जना र भारतका दुई जना वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्नेछन्। सम्मेलनमा सरकारी, गैरसरकारी निकाय, राष्ट्रिय/अन्तराष्ट्रिय संघसंस्था र प्राज्ञिक क्षेत्रबाट सहभागिता रहने उनले बताए।
सम्मेलनले नेपाललाई के फाइदा हुन्छ? भन्ने प्रश्नमा अर्यालले भने, ‘सार्क क्षेत्रका मुलुकमा जे-जस्ता आविष्कार भएका छन् त्यसबारे हामीले ज्ञान, सीप लिन सकिन्छ। यसले नीति तथा कार्यक्रम निर्माण गर्न सजिलो हुन्छ।’
सार्क क्षेत्रका मुलुकका वैज्ञानिकलाई सम्मेलनमा आउन हवाइ टिकट र खानाबस्नको व्यवस्थासमेत आयोजकले नै गरेको उनले बताए।
‘प्रदेश सरकारले सम्मेलन गर्न ५० लाख उपलब्ध गराउने भनेको छ। त्यही रकमबाट वैज्ञानिकलाई खानबस्न र हवाइ टिकट पनि उपलब्ध गराउँछौं,’ उनले भने।
सम्मेलनले दक्षता, सीप र अनुभब आदानप्रदानमा सहयोग पुर्याउने अपेक्षा लिएको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले जानकारी दिए। ‘वैज्ञानिक सम्मेलनले विकास र ज्ञानलाई जोड्ने काम गर्छ भन्ने हाम्रो अपेक्षा छ,’ मन्त्री नेपालले भने।
वैज्ञानिक सम्मेलनले नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई कार्यान्वयन गर्न पनि सहयोग गर्ने मन्त्री नेपालले बताए। अन्तराष्ट्रियस्तरमा भइराखेको नयाँ अध्ययन, अनुसन्धान, खोज र विकासबारेका अनुभव साटासाट गर्ने, जलवायु परिवर्तन, दीगो विकासका सन्दर्भमा नेटवर्क बनाएर नीति निर्माणमा सहयोग पुर्याउने अपेक्षा लिइएको छ।
सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले गर्नेछन्