त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ वे थपिएको छ। ८ महिनाअघि पार्किङ वे निर्माणको काम सुरू भएको थियो। पार्किङ वे बनाउन ६० करोड रूपैयाँ लागेको छ।
अहिले विमानस्थलमा ९ वटा जहाज अट्ने पार्किङ वे छ।
‘हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नौ वटा जहाज पार्किङ गर्न सकिन्छ । तीन वटा वाइड बडी जहाज र छ वटा न्यारो बडी जहाज राख्न सक्छौं,’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले सेतोपाटीसँग भने, ‘रिमोट पार्किङ बनेपछि अब हामी थप दुई वाइड बडी र एउटा एटीआर ७२ जहाज पार्किङ गर्न सक्छौं। अथवा न्यारो बडी ३ वटा र एउटा एटीआर ७२ राख्न सक्छौं।’
रिमोट पार्किङ जहाजलाई बम थ्रेट वा ‘अनवान्टेड एक्टिभिटिज’ भएको थाहा हुँदा छुट्टै राख्नका निर्माण गरिएको हो। तर त्रिभुवन विमानस्थलले भने रिमोट पार्किङलाई दैनिक प्रयोगमा ल्याउन लागेको हो।
‘हाम्रो देशमा यस्ता घटना भएका छैनन्,’ क्षेत्रीले भने, ‘त्यसैले हामीले बिहान आएर बेलुका जाने जहाजलाई यहाँ पार्किङ गराउने सोचेका छौं।’
उनले पार्किङ क्षमता थप भएपछि जहाज होल्ड हुने समस्यामा कमी आउने बताए।
‘आधा घन्टा होल्ड भएका केही उदाहरण छन्,’ क्षेत्रीले भने, ‘पार्किङमा प्रशस्त नहुँदा समस्या थियो। हामीले यो पार्किङ बनायौं। चार-पाँच महिनापछि विमानस्थलको दक्षिणतर्फ जिरो-वे मा थप पार्किङ बन्छ।’
उनले आफूले एयरलाइन्सलाई समेत जहाज समयमा उडाउन निर्देशन दिएको बताए।
‘दुई-चार मिनेट तलमाथि हुनु समस्या होइन। तर जानीजानी जहाज ढिला भए कारबाही हुन्छ भनेपछि सेड्युअलमा पनि सुधार भएको छ,’ क्षेत्रीले भने।
उनले आफूले विमानस्थल सुधार गरिरहेको बताए।
‘सम्पूर्ण विषयमा फेल हुने विद्यार्थी पास मार्क ल्याएर पास हुनुलाई अविभावकले राम्रो मान्छ,’ क्षेत्रीले भने, ‘एयरपोर्टले विगतभन्दा केही विषयमा परिवर्तन गरेको छ। हाम्रो एयरपोर्ट पनि केही राम्रो छ भन्ने बनेको छ।’
क्षेत्रीले विमास्थलमा आपतकालमा प्रयोगका लागि मोबाइल टावर ल्याउने तयारी भैरहेको बताए।
आन्तरिक विमानस्थलको पार्किङमा समेत सुधारको प्रयास गरिरहेको उनले बताए।
अहिले आन्तरिकतर्फ १७ देखि २० वटा जहाज बस्ने पार्किङ छ।
‘नाइट बेस पोखरा र नेपालगञ्जमा राख्छु भन्ने अनि जहाज काठमाडौं राख्ने गरेका थिए,’ क्षेत्रीले भने, ‘त्यसलाई हामीले अहिले रोकेका छौँ। सुधार भैरहेको छ।’