सेवाग्राहीसँग घुस लिँदै गर्दा रुपन्देहीमा एक जना प्रहरी निरीक्षक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय रन्यौरामा कार्यरत प्रहरी निरिक्षक केशवबहादुर बस्नेत बिहीबार साँझ ६ बजेतिर १५ हजार घुस रकमसहित रंगेहात पक्राउ परेका हुन्।
बिहीबार बेलुका उनलाई कार्यालयबाटै नगद १५ हजार घूससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भूसालले जानकारी दिए।
खोलाबाट हुने गिट्टी बालुवा ढुवानीलाई सहज बनाइदिने भन्दै गिट्टी बालुवाको कारोबारमा संलग्न व्यवसायीसँग घुसबापत १५ हजार रुपैयाँ लिँदै गर्दा उनी पक्राउ परेका हुन्।
पक्राउ परेका बस्नेतलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको सूचना अधिकृत भूसालले जानकारी दिए।
दुई हप्ताअघि शुद्धोधनस्थित तिनाउ नदीमा लगाइएको ठेक्काबाट पैसा तिरेर बालुवा लिएर फर्कदै गरेको ट्याक्टर अवैध तरिकाले खोला उत्खनन् गरेर ल्याएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।
स्थानीय सन्तराम लोधले किनेर ल्याएको भन्दै रसिद देखाउँदा देखाउँदै जबरजस्ती प्रहरीले ट्याक्टर नियन्त्रण गरेको थियो।
पटक–पटक ट्याक्टर छाड्न आग्रह गर्दा समेत नमानेका प्रहरी निरीक्षक बस्नेतले १५ हजार रुपैयाँ दिएपछि मात्रै छाडिदिने बताएपछि लोनियाले अख्तियारलाई खबर गरेर पैसा दिन प्रहरी कार्यालय पुगेका थिए। पैसा दिएर लोनिया निस्कनेवित्तिकै अख्तियार टोलीले बस्नेतलाई पक्राउ गरेको हो।
अहिले रुपन्देहीका खोला स्थानीय तह र जिल्ला समन्वय समितिले ठेक्का लगाएको छ। ठेक्काको अन्तिम मिति नजिकिँदै जाँदा प्रहरीसँगको सेटिङमा ठेकेदारले अवैध उत्खनन् गर्दै आएका छन्।