मलिन अनुहार लिएर राजगढ बजार आइपुगेकी बाह्रदशीस्थित चकचकीकी देवन्ती राजवंशी फर्केर जाँदा दंग परिन्। तल्लो पेट दुख्ने समस्याले ग्रसित २९ वर्षीया राजवंशी शुक्रबार सहारा नेपालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा विज्ञ चिकित्सकको परामर्शपछि खुसी देखिइन्।
‘भारी काम गरेपछि सहनै नसक्नेगरी मेरो तल्लो पेट दुख्छ, तीन सन्तानकी आमा देवन्तीले आफ्नो समस्या चिकित्सकलाई खुलाउँदै भनिन्, ‘सहाराले राम्रो डाक्टर ल्याउने सुनेपछि यहाँ आएकी हुँ।’
दवन्तीजस्तै समस्या भोग्दै आएकी घेराबरीकी इन्द्रावती राजवंशी पनि शिविरबाट आफूले लाभ लिएको बताउँछिन्।
महिनावारी रोकिएकी ५० वर्षीया इन्द्रावतीको तल्लो पेट दुखिरहन्छ। गाउँदेहातका महिलाको पाठेघर र प्रजननसम्बन्धी स्वास्थ्य उनीहरूको पहुँच बाहिर हुँदा सयौं महिला रोग लुकाउन बाध्य छन्।
सहारा नेपालले गत हप्ताबाट एक दिने स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।
सेवा लिन आएका प्रभावित महिलालाई प्राध्यापक डाक्टर गेहनाथ बराल नेतृत्व टोलीले परामर्श र स्वास्थ्य–सुरक्षा विधिबारे सल्लाह दिइरहेको छ। शिविरमा आएका महिलालाई प्राडा बराल खासगरी पाठेघरको संक्रमण कसरी रोक्न सकिन्छ भनेर सजग गराइरहेका हुन्छन्।
एक साताअघि शिवगञ्जमा २७६ जना विवाहित महिलाको स्वास्थ्य परीक्षण गरेपछि हाल बिएन्डसी टिचिङ हस्पिटलमा कार्यरत बरालले महिलामा सेतोपानी बग्ने साझा समस्या रहेको निष्कर्ष निकालेका छन्।
शिवगञ्जको शिविरमा २९ जना महिलामा पाठेघरको क्यान्सरको पहिलो चरण, ५० जनामा आङ खस्ने समस्या र १५० जनामा यौनरोग फेला परेको थियो।
बाह्रदशीका महिलामा पनि यस्तै समस्या रहेको पाइएको छ।
त्यस्तै, पाठेघर झर्ने, समयमा महिनावारी नहुने, पाठेघरको मुखमा घाउ, मासु पलाउनेजस्ता प्रजननसम्बन्धी रोगबाट महिलाहरू पीडित रहेको बरालले बताए।
ग्रामीण भेगका महिलामा सरसफाइसम्बन्धी ज्ञान र सचेतना नभएको, सुरक्षित यौन सम्बन्ध नभएको तथा भाइरलका कारण पनि पाठेघरको समस्या देखिँदै आएको बरालको भनाइ छ।
सहारा नेपालको जीवन वरदान कार्यक्रमअन्तर्गत झापाका ग्रामीण क्षेत्रमा शिविर सञ्चालन भइरहेको छ।
आफ्ना सदस्य र लघुवित्त समुदायलाई लक्षित गर्दै सहाराले समस्याका रूपमा रहेको पाठेघर रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यक्रम संयोजक भक्त खड्काले जानकारी दिए।
एक स्थानको स्वास्थ्य शिविरमा सहाराले एक लाख रुपैयाँको हाराहारीमा खर्च गर्दै आएको छ।
राजगढ बजारमा सञ्चालन गरिएको शिविरबाट २७६ जना महिलाले लाभ लिएका छन्। राजगढको शिविरमा १० जना महिलामा पाठेघरको क्यान्सरको पहिलो चरण, २२ जनामा आङ खस्ने समस्या र १०१ जनामा यौनरोग फेला परेको थियो।
बिएन्डसी अस्पताल र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा भइरहेको शिविरमा १८ वर्षदेखि ६० वर्ष उमेर समूहका महिलाले परामर्श लिएको खड्का जानकारी दिए।
रोगको जटिलता हेरेर सहाराले प्राथमिकतामा राखेर पीडित महिलाहरूको उपचार पनि निःशुल्क गर्ने योजना बनाएको छ।
गर्भवती, सुत्केरी र सुरक्षित यौन सम्पर्क नगर्दा महिलाको पाठेघरको समस्या, आङ खस्ने र यौनरोग देखापर्ने गरेको चिकित्सकले बताए।
सहारा नेपालले सेवा क्षेत्रका १ लाख ४० हजार महिलाका घर आगनमा यो शिविर पुर्याउने लक्ष्य राखको जीवन वरदान कार्यक्रमका संयोजक भक्तबहादुर खड्काले सेतोपाटीलाई बताए।
पूर्वका झापा, मोरङ, सुनसरी, ईलाम, उदयपुर र पाँचथर सहारा नेपालको सेवा क्षेत्रका जिल्ला हुन्।
पहिलो चरणमा झापाको शिवगञ्ज, राजगढ, बनियाँनी र मोरङको पथरीमा पाठेघर र आङ खस्ने सम्बन्धीको एक दिवसीय नि:शुल्क स्वास्थ शिविर सञ्चालन हुनेछ। त्यसपछि सेवा क्षेत्रका सबै जिल्लाका आफ्ना महिला सदस्यका लागि शिविर हुने छ। सहारा नेपालका अनुसार गैरसदस्यले पनि शिविरबाट लाभ लिन सक्ने जनाएको छ।
अहिलेसम्मको शिविरबाट ८० प्रतिशत विवाहित महिला पाठेघर र आङ खस्ने समस्याबाट पीडित बनेको शिविरपछि संकलित तथ्यांकले जनाएको छ। शिविरमा आउने रोगका पीडितले औषधि समेत नि:शुल्क पाउँदै आएको सहारा नेपालका सहायक प्रबन्धक समेत रहेका कार्यक्रम संयोजक खड्काले बताए ।