बाख्रा उपहार पाएपछि झापाको साबिक पाँचगाछी गाविस हाल वडा नम्बर ५ का अतिविपन्न वर्गका महिलाहरु सोमबार मख्ख परे।
बिहान–बेलुकाको छाक टार्न समेत मुस्किल परेका आदिवासी जनजाति समुदायका अतिविपन्न महिलालाई वडा समितिले सोमबार घरघरै गएर बाख्रा उपहार दिएपछि उनीहरु खुसीले गदगद् भए।
खोको टोलीकी पार्वती ताजपुरिया उमेरले ६६ वर्ष पुगेकी छन्। उनको पेशा कृषि मजदुरी हो। योबाहेक उनीसँग आम्दानीको अन्य स्रोत भनेको सरकारले दिएको एकल महिला भत्ता हो।
एक पटक थापेको भत्ताले चार महिनासम्म खाएको रासनको पैसा बुझाउन पुग्दैन। घरको चार वटा खाँबा अँट्ने मात्र जग्गा भएकी पार्वतीले बाख्रा उपहार पाएपछि महिनैपिच्छे आम्दानी गर्ने बताइन्। उनले भनिन्, ‘अब त एउटा बाख्राले वर्षमा दुईपटक पाठापाठी दिन्छ, त्यसैलाई बेचेर जीवन सहज ढंगले जिउँछु। बुढेसकालमा अर्काको बारीमा काम गर्न जान परेन।’
पार्वतीको जस्तै सालमाराकी शोभा राईको गरिबीको पीडा उस्तै छ। उनी छोराछोरी पढाउने खर्च नहुँदा गाउँमा मजदुरी गर्छिन्। उमेरले ३३ मात्र टेकेकी शोभा गाउँमा मेहनती महिलाको रुपमा चिनिन्छिन्। श्रीमान् सँगसँगै खेतीमा काम गर्न जाने गरेकी उनले भनिन्, ‘गरिबीले नै अर्काको बारीमा काम गर्नु परेको हो, बाख्रा पाएपछि यसैलाई हुर्काउने, बढाउने र अर्थोपाजन गर्ने योजनामा छु। एक दिन मलाई यिनै बाख्राका माउले धनी बनाउने छन्।’
आफ्ना वडाका विपन्न वर्गका किसानकाको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले वडाका २१ महिलालाई बाख्रा उपहार दिएको वडाध्यक्ष सत्यनारायण राजवंशीले बताए। वडाको सिलिङ बजेटबाट आदिवासी जनजाति समुदायका महिलाको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले वडाले बजेट विनियोजन गरेको थियो।
वडाका सालमारा, खोकोटोली, आमबारीको सुकुमबासी बस्ती र भेलामुनिका २१ महिलाले बाख्रा उपहार पाएका छन्। उनीहरुले जमुनापारिको क्रस र स्थानीय जातका बाख्रा उपहार पाएका हुन्।
उपहार दिइएको बाख्राबाट महिलाको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै वडाध्यक्ष राजवंशीले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गर्न अरुका लागि उदाहरणीय बन्ने बताए। बाख्रा हस्तान्तरण गर्दै वडाध्यक्ष राजवंशीले भने, ‘अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहोस्। अर्को वर्ष नयाँ कार्यक्रमका साथ आउने छौं।’
आदिवासी जनजाति समुदायको उत्थानका लागि वडाले दुई लाख बजेट विनियोजन गरेको थियो। त्यसमध्ये ५० हजार सन्थाल समुदायको उत्थानका लागि खर्च भएको वडा समितिले जनाएको छ। आदिवासी जनजाति समुदाय वडा नम्बर ५ की अध्यक्ष चानुवति राजवंशीले बाख्रा उपहार दिएकोमा खुसी हुँदै भनिन्, ‘५ नम्बर वडा बाख्रा पालनका लागि उपयुक्त वातावरण भएको वडा हो।’