कर्णाली प्रदेश सरकारले सुरु गरेको ‘शान्ति, सुरक्षा अभियान’लाई सफल पार्न ४० जना प्रशिक्षक खटाइएको छ। उनीहरुले प्रदेशका १० जिल्लामा सचेतनामूलक कार्यक्रम गर्नेछन्।
सचेतनाका लागि प्रत्येक जिल्लाबाट २ जना प्रहरी, कर्मचारी र दुई जना नागरिक समाजका प्रतिनिधिलाई तालिम प्रशिक्षण दिएर जिल्लामा खटाइएको हो।
प्रदेशको राजधानी सुर्खेतमा तीन दिनको प्रशिक्षण दिएर जिल्लामा पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले जानकारी दिए। उनीहरुले अब जिल्लामा पुगेर अरु प्रशिक्षक तयार पार्नेछन्।
अहिले प्रशिक्षित गरिएका ४० जनाले १० वटा जिल्लामा १८२ प्रशिक्षक तयार पार्नुपर्ने छ। महिला हिंसा, घरेलु हिंसा, लैङ्गिक विभेद, लागू औषध दुव्र्यसनी, मादक पदार्थ सेवनबाट समाज र परिवारमा पुग्ने वेफाईदा, सडक सुरक्षा लगायतका विषयमा ४० जनालाई प्रशिक्षण दिइएको डिआईजी शाहले जानकारी दिए।
उनका अनुसार अब ती ४० जनाले यिनै विषयमा जिल्लामा पुगेर अन्य १८२ जनालाई प्रशिक्षण दिनुपर्ने छ। १८२ जना अरु प्रशिक्षकले स्थानीय तह, वडा, टोल, विद्यालयमा पुगेर उक्त विषयमा सचेतनामूलक कार्यक्रम गर्नेछन्।
‘अहिले नागरिक समाज र प्रहरीसहित ४० जनालाई प्रशिक्षकका रुपमा तयार पारेर खटाएका छौँ’ उनले भने, ‘उहाँहरु गएर जिल्लामा अरु १८२ प्रशिक्षक तयार पार्नुहुन्छ,सबै ठाउँमा पुगेर स्थानीयलाई शान्ति, सुरक्षाका विषयमा जागरुक गराउनुहुन्छ।’
शान्ति, सुरक्षा अभियानअन्तर्गत प्रदेशका ७९ स्थानीय तहका ७१८ वडाहरुमा महिला हिंसा, लागु औषध दुव्र्यसनी, घरेलु हिंसा लगायतका विषयमा सचेतनामूलक कार्यक्रम गरिने डिआईजी शाहले जानकारी दिए।
वडाहरुमा भने एक÷एक दिने कार्यक्रम सञ्चालन गरिने छ। ‘सबै प्रदेशमध्ये कर्णाली प्रदेश अपराधका घटना कम हुने प्रदेश हो, तर पछिल्लो समय यो बढिरहेको छ,’ डिआईजी शाहले भने, ‘यसको न्यूनीकरणका लािग पहिलो कुरा सचेतना नै आवश्यक हो।’
सरकारको यो अभियानअन्तर्गत सडक सुरक्षा कार्यक्रम पनि प्रहरीले सञ्चालन गरिरहेको छ। समुदाय प्रहरी साझेदारीअन्तर्गत गरिने सडक सुरक्षा कार्यक्रम विशेषगरी कर्णाली राजमार्गलाई लक्षित गरी सञ्चालन गरिएको छ। जिल्ला सदरमुकामहरुमा पनि सडक सुरक्षा कार्यक्रम चल्ने डिआईजी शाहले जानकारी दिए।
शान्ति, सुरक्षा अभियानअन्तर्गत समुदायलाई सचेत गराउन सञ्चालन गरिने यो कार्यक्रमका लागि सबै ठाउँमा गरी २ हजार ८५५ वटा समिति बनाइएको छ। समुदाय प्रहरी साझेदारीअन्तर्गत प्रत्येक जिल्लामा जिल्ला समिति, सबै स्थानीय तहमा एक/एक वटा समिति, ७१५ वडा समिति, १ हजार ४८१ टोल समिति र ५७१ विद्यालय समिति बनाइएको बताए। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मात्र हालसम्म ८ हजार ६१७ वटा शान्ति, सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकिएको छ।
‘प्रशिक्षक होइन, अभियन्ताका रुपमा काम गर्छौँ’
प्रदेश सरकारको शान्ति, सुरक्षा अभियान सफल पार्न प्रशिक्षित गरिएका प्रशिक्षकहरुले अब आफ्नो जिल्लामा प्रशिक्षकको भन्दा पनि अभियन्ताको रुपमा काम गर्ने बताएका छन्। समाजमा कायम सामाजिक असुरक्षाहरु देशकै असुरक्षाका रुपमा रहेकोले सुरक्षित समाजमा रुपान्तरण गर्न आफूहरुले काम गर्ने प्रशिक्षकहरुले बताए।
कालिकोटबाट सहभागी प्रशिक्षक विष्णु न्यौपानेले प्रदेश सरकारले लिएको सुरक्षाको अभियानलाई सफल पार्न आफू अभियन्ताको रुपमा प्रस्तुत हुने बताए। ‘प्रदेश सरकारले चलाएको अभियान सफल पार्नु हाम्रो दायित्व नै हो,’ उनले भने, ‘अब हामी प्रशिक्षक होइन, अभियन्ता बनेर समाजमा प्रस्तुत हुन्छौँ, अभियान सफल पार्न प्रतिबद्धत छौँ।’
प्रशिक्षक प्रहरी निरीक्षक वीरेन्द्र मल्लले समाजमा अब प्रहरी मात्र नभई सुरक्षित समाजको अभियान्ताको रुपमा लाग्ने प्रतिबद्धता गरे। ‘सिंगो समाज, परिवार र नागरिकका लागि अभियान भएकोले मेरो पनि एक असल अभियन्ताको भूमिका रहनेछ’ उनले भने।
रुकुम पश्चिमबाट सहभागी सपना पुनले समाजमा हुने महिला हिंसा, घरेलु हिंसा, दुव्र्यबहार, लागु औषध दुव्र्यसनी जस्ता विषयमा सचेतना जगाउनु सामाजिक दायित्वका रुपमा आफूले लिएको बताइन्।