बुटवल उपमहानगरपालिकाको स्थानीय पाठ्यक्रम तयार पारिएको छ। आधारभूत तहदेखि कक्षा ८ सम्म पठनपाठन हुनेगरी एक सय पूर्णाङ्कको सामाजिक शिक्षाको पाठ्यक्रम तयार भएको हो।
बुटवलको ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक, धार्मिक, सामाजिक र विविध विषयहरू समेटेर बुटवलको चिनारी गराउने उद्देश्यले अलग्गै स्थानीय पाठ्यक्रम तयार पारिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
बुटवलको स्थानीय आवश्यकताका विषयवस्तु यहीँका नागरिकको अपनत्व हुनेगरी स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी स्थानीय पाठ्यक्रम तयार पारिएको उनले बताए।
उपमहानगरले स्थानीय पाठ्यक्रम निर्माणका लागि यहाका शिक्षाविद्, विषयविज्ञहरूलाई समेटेर कार्यदल गठन गरेको थियो। शिक्षाविद् बुद्धिसागर भट्टराईको संयोजकत्वमा छ जना विज्ञ सम्मिलित कार्यदल गत मंसिर १९ गतेदेखि पाठ्यक्रम निर्माणमा जुटेको थियो।
त्यसक्रममा बुटवलका विविध पक्षहरूको अध्ययन, अवलोकन, सोधखोज गरिएको कार्यदलका संयोजक भट्टराईले बताए। केन्द्रबाट तय हुने राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय संस्कृति, जनजीवन, भुगोल लगायतका पक्षलाई समेट्ने गरी स्थानीय पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार स्थानीय तहमा आएको थियो।
सोही अवधारणा र संवैधानिक व्यवस्था बमोजिम बुटवलको स्थानीय पाठ्यक्रम तयार पारिएको शिक्षा महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालले बताए। बालबालिकाको सिकाइको उमेर, क्षमता, आवश्यकता र चाख अनुसार ज्ञान, सिप दिनेगरी पाठयक्रम तयार पारिएको उनको भनाइ छ।
पाठ्यक्रमले सामाजिक आवश्यकता, व्यक्तिगत आवश्यकता, राष्ट्रियता र अन्तर्राष्ट्रिय आवश्यकतालाई समेत ध्यान दिइएको महाशाखा प्रमुख खनालले दाबी गरे।
अहिले तयार पारिएको पाठ्यक्रमलाई आधारभूत तहदेखि कक्षा ५ सम्म वर्षको एक सय २८ पिरियड र कक्षा ६ देखि ८ सम्मका लागि एक सय ६० पिरियडसम्म पढाउनुपर्ने छ।
कुन विधिबाट कसरी पढाउने भन्नेमा समेत पाठ्यक्रमले निर्देशन गरेको छ। बुटवलको सेरोफेरो, हाम्रा पर्यटन स्थलहरू, हाम्रो धर्म र संस्कृति, हाम्रो आस्था, संघ–संस्थाहरू, योग, प्राकृतिक चिकित्सा पद्धती एवम् जडिबुटीजस्ता विषयलाई पाठ्यक्रमको क्षेत्रका रुपमा समेटिएको छ।
बुटवलमा सामुदायिक र संस्थागत गरी ९६ वटा विद्यालय छन्। ३८ सामुदायिक विद्यालय र ५८ वटा संस्थागत छन्। जसमध्ये तीन वटा मदरसा र एउटा गुरुकुल (धार्मिक विद्यालय) समेत रहेका छन्।