न्यायपरिषदले तस्करीको ३३ किलो सुन र सनम हत्याकाण्डका अभियुक्तको निवेदनमाथि आदेश गर्ने विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ८ न्यायायाधीशलाई विभिन्न कारबाही गर्ने निर्णय गरेको छ।
उनीहरूलाई सामान्य ध्यानाकर्षणदेखि थप कारवाही गर्ने सम्मको निर्णय भएको छ तर उक्त निर्णयको माइन्युटमा पदाधिकारीको हस्ताक्षर भने भइसकेको छैन।
सुनकाण्डको आदेश गर्दा नियमविपरित आदेश गरेको भन्ने उजुरीका आधारमा उनीहरूलाई ६ महिना देखि कामबाट अलग राख्न परिषदमा तानिएको थियो।
मंगलबार बसेको परिषद बैठकले न्यायाधीश थिरबहादुर कार्की र उमेश सिंहलाई थप कारबाही गर्ने भएको छ। त्यो कारवाही कस्तो हुने भन्ने टुंगो भने अहिले नै नलगाएको परिषद स्रोतले बतायो।
'अलि गम्भीर कुरा आएकाले थप सजाय पछि तोक्ने गरी उनीहरूसँग अहिले जवाफ मात्र माग्ने निर्णय भएको छ,' स्रोतले भन्यो।
मुख्य न्यायाधीश भुर्तेल, न्यायाधीश जनक पाण्डे र सारङ्गा सुवेदीलाई सामान्य ध्यानाकर्षण गर्ने परिषदको निर्णयमा उल्लेख छ। त्यस्तै न्यायाधीश साधुराम सापकोटासँग सचेत किन नगराउने भन्ने जवाफ माग्ने भएको छ।
कामबाट अलग राखिएकै बेला बीचैमा अवकाश पाएका न्यायाधीश उमेश पौड्याल र नागेन्द्रलाल कर्णलाई भने परिषदले सफाइ दिएको छ।
सनम हत्या तथा तस्करीको ३३ किलो सुनकाण्ड सम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि धरौटी मागेका र थुनामा पठाएका अभियुक्तलाई यी न्यायाधीशहरूले धरौटी र तारेखमा छोडेको भन्दै परिषदले छानबिन अघि बढाएको थियो।
एउटै मुद्दाका प्रतिवादीहरूको निवेदन एकै साथ राखेर हेर्नु पर्नेमा फरक-फरक इजलासले हेरेको आरोप उनीहरूमाथि थियो।
प्रधानन्यायधीश बने लगत्तै चोलेन्द्रशमशेर राणाले गठन गरेको सुक्ष्म निगरानी समितिले विराटनगर उच्च अदालतको निरीक्षण गरेको थियो।
सुरूमा सोही समितिले सनम हत्या र ३३ किलो सुनकाण्डका अभियुक्तको मुद्दा हेर्दा अनियमितता भएको पाइएको प्रतिवेदन परिषदलाई दिएको थियो।
त्यसपछि परिषदले पेशी तोक्ने जिम्मेवारी पाएका मुख्य न्यायाधीश भुर्तेल सहित ती सबै अभियुक्तका निवेदनमाथि सुनुवाइ गर्ने न्यायाधीशलाई परिषद तानेको थियो।