काठमाडौं महानगरपालिकाले विभिन्न सडक छेउमा सामान बेच्ने फुटपाथ व्यापारीबाट खोसेका सामान लिलाम गर्ने भएको छ।
महानगरपालिकाले पछिल्लो छ महिनामा जफत गरेका १५ लाख रूपैयाँ बराबरका सामान लिलामी गर्ने तयारी गरेको हो।
नगर प्रहरीले धेरै पहिलादेखि नै फुटपाथ व्यापारीका सामान खोस्ने गर्थ्यो।
यसअघि सडकबाट ल्याइएका सामान १५ सय रूपैयाँ जरिमाना तिरे फुटपाथ व्यापारीले फिर्ता पाउँथे। केही समयअघि महानगरको कार्यपालिकाले सामान फिर्ता नगर्ने बरू लिलामी गर्ने निर्णय गरेको हो।
फुटपाथ व्यवसायले सडकमा जोखिम बढाएको र जरिमानामात्र तिराउँदा फेरि अर्को दिन व्यापारी सडकमा आइहाल्ने भएकाले रोकथामका लागि यस्तो कदम चाल्नु परेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए।
‘फुटपाथ भनेको नागरिक हिड्ने ठाउँ हो, व्यवसाय गर्ने ठाउँ होइन। फुटपाथ अतिक्रमण गरेपछि सडकबाट हिँड्नु पर्ने हुन्छ। नागरिकको जीउ ज्यानलाई नै सुरक्षित बनाउन हामीले यस्तो निर्णय गरेका हौं,’ उनले भने।
प्रवक्ता डंगोलका अनुसार अहिलेसम्ममा महानगरले पहिलो लटमा ५ लाख ७ हजार रूपैयाँको सामान लिलाम गरिसकेको छ भने थप १५ लाख रूपैयाँ बराबरका सामान लिलामी गर्ने पक्रिया अघि बढाइएको छ।
महानगरले लिलामी गर्न लागेका सामानमा लुगाफाटा धेरै छन्।
महानगरले खोसेको सामान फिर्ता नदिएपछि फुटपाथको व्यापारबाट गुजारा गर्नेहरू भने समस्यामा परेका छन्।
केहीले महानगगरपालिकाको आँखा छली व्यवसाय गर्ने गरेकाले अचेल फाट्टफुट्टमात्रै सामान जफत हुने गरेको डङ्गोलले बताए।
‘उनीहरूका लागि दिउँसै सडकमा व्यवसाय गर्न त दिन सक्दैनौं तर रात्रीकालिन केही व्यवस्था गर्न सकिन्छ कि भन्नेबारे छलफल गरिरहेका छौं,’ उनले भने।