‘तिम्रो आँखा हेर्दा मेरो मुटु चस्कियो,बोली सुन्दा मनै लच्कियो’ गायक योगेश्वर अमात्यको यी गीत नसुन्ने कमै होलान्।
उनै योगेश्वर बुधबार राजधानीको माइतीघरमा गुठी विधेयक खारेजी माग गर्दै भएको विशाल प्रदर्शनमा सहभागी थिए। भिडमा उनको प्रदर्शन शैली भिन्न थियो। उनले हातमा फूल बोकेका थिए। त्यही फूल प्रहरीलाई बाँड्दै हिँडे।
प्रहरी पनि हाँस्दै उनले दिएको फूल लिँदै थिए।
गत जेठ २६ गते माइतीघरमा गुठी विधेयकविरूद्ध प्रदर्शन भएको थियो। सो प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि लाठी र पानीको फोहोरा बर्साएका थिए। प्रहरीले बल प्रयोग गरेको भन्दै उक्त विषयले संसदमा समेत प्रवेश पायो।
पछि गृहमन्त्री रामबहादुर थापाले जवाफ दिँदै प्रदर्शनमा कानुनविपरीत व्यवहार गर्नेलाई कारबाही हुने कुरा बताए। प्रहरीले गुठियारमाथि बर्साएको लाठीप्रति सांकेतिक विरोध गर्दै गायक अमात्यले प्रहरीलाई फूल दिए। यसअघि पनि पाटनमा उनले प्रहरीलाई फूल दिएका थिए।
गुठी विधेयक खारेजीको माग गर्दै बुधाबार राजधानीको माइतीघरमा जनसागर उर्लियो। गुठियार तथा नेवा देय: दबुलगायतको आह्वानमा गुठी विधेयक खारेजी माग गर्दै प्रदर्शन गरिएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता रहेको औंलाउदै मंगलबार विधेयक फिर्ता लिएकी थिइन्।