पर्वतको कुश्मा बजारमा हरेक बिहान सबेरै साइरन बज्छ।
किन भन्नुहोला।
किनकी हरियो रङको स्टिकर टाँसिएको ट्रक फोहोर उठाउन घरघरै आउँछ।
साइरन बजेको आवाज सुनेपछि कुश्मावासी घरभित्रको फोहोर बोकेर सडक आइपुग्छन्। तर भएजति सबै फोहोर ट्रकमा फाल्न पाइँदैन नि। हरियो स्टीकर टाँसेको ट्रकले कुहिने फोहोरमात्रै उठाउँछ।
त्यसो भए नकुहिने फोहोर के गर्ने त?
यसको पनि नगरपालिकाले व्यवस्थापन मिलाएको छ। साइरन बजाउँदै रातो स्टीकर टाँसेको अर्को ट्रक आउँछ, त्यसले नकुहिने फोहोर लैजान्छ। नकुहिने फोहोर उठाउने ट्रक साताको दुई दिन दिउँसोमात्र आउँछ।
सडकमै यत्रतत्र फालिएको फोहोरले दुर्गन्धित भएपछि नाक थुनेर हिँड्नु पर्ने सहरका बासिन्दाले कुश्माको फोहोर व्यवस्थापनबाट धेरै कुरा सिक्न सकिन्छ।
नगरपालिकाले दश महिनादेखि कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्न थालेपछि अहिले कुश्मा सफाचट भएको छ।
यसअघि नगरभरिको फोहोर मोदीखोला, बडगाउँ वन र क्याम्पस नजिक खाली जग्गामा फाल्ने गरेको थियो।
दुर्गन्ध फैलिएपछि स्थानीय बासिन्दा खबरदारी गरे, यहाँ फोहोर फाल्न पाइँदैन।
त्यसपछि नगरपालिकाले फोहोर व्यवस्थापनबारे नयाँ उपाय सोच्न थाल्यो।
नगरपालिकाले सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र (सेक्रेड नेपाल) सँग सहकार्य गर्दै फोहोर व्यवस्थापन सुरू गरेको छ।
कुहिने र नकुहिने फोहोरलाई घरैदेखि अलगअलग संकलन गर्ने गरेको नगरपालिकाले ‘जिरो वेस्ट म्यानेजमेन्ट’ अन्तर्गत फोहोर उठाइरहेको छ।
नगरप्रमुख रामचन्द्र जोशीका अनुसार असार १ गतेदेखि फोहोर व्यवस्थापनमा झन् सुधार गरिएको छ।
विदेश घुम्न गएका बेला त्यहाँका घर, सडक, सार्वजनिक स्थानहरू सफा देखेपछि आफ्नो ठाउँमा पनि सफा राख्ने इच्छा मेयर जोशीलाई पहिलेदेखि नै लागेको रहेछ।
‘विदेशतिर जाँदा जताततै सफा देखें। फोहोर व्यवस्थापन गर्ने हो भने सकिने रहेछ भन्ने मनमा लाग्यो। कुश्मा पनि त्यस्तै गर्न खोज्दैछु,’ उनले सेतोपाटीसँगको कुराकानीमा भने, ‘त्यसपछि सेक्रेड नेपाल संस्थासँग मिलेर काम सुरू गरियो।’
फोहोर संकलनका लागि नगरपालिकाले ठूलो प्लास्टिकको झोला व्यवस्था गरिदिएको छ। त्यही झोलामा घरका फोहोर जम्मा गर्नुपर्छ।
‘जुन पायो त्यही झोलामा, बोरामा, कार्टुनमा जम्मा गरेको फोहोर नगरपालिकाले उठाउँदैन,’ उनले भने, ‘नगरपालिकाले दिएकै झोलामा फोहोर संकलन गर्नुपर्छ भनेका छौं।’
बजारका घरबाट उठाइएको फोहोर पाँच किलोमिटर टाढाको फोहोर व्यवस्थापन स्थलमा लगिन्छ।
सबैले छिछि… गर्ने फोहोरले अहिले मोहोरको रूप दिएको छ।
कसरी?
मेयर जोशी भन्छन्, ‘कुहिने फोहोरबाट मल बनाएर बेच्छौं।’
नकुहिने फोहोर नि!
त्यसलाई पनि व्यवस्थापन गरिन्छ, फोहोरको गुणअनुसार। कुनैलाई पुन: प्रयोग गर्न मिल्छ भने प्रयोग गर्ने।
‘नकुहिने फोहोर बिक्री गर्न मिल्छ, कवाडीले लैजान्छन्,’ उनले भने।
फोहोरबाट आएको मोहर (पैसा) नगरपालिकाले केमा खर्च गर्छ? ‘फोहोर संकलन गर्ने गाडी मर्मतसम्भार गर्नुपर्यो, चालकदेखि कर्मचारीहरू राख्नुपर्यो,’ मेयर जोशी भन्छन्।
कुहिने/नकुहिने फोहोर व्यवस्थापन गर्ने काममा १२ जनाले रोजगारी पाएका छन्।
फोहोर व्यवस्थापनको काम सजिलै भएको होइन। कुहिने/नकुहिने फोहोर भिन्नाभिन्नै झोलामा राख्न पनि बजारबासीलाई आग्रह गर्दै हिँड्नुपरेको उनले सम्झिए।
‘घरधनीदेखि डेरा गरी बस्नेलाई कुहिने र नकुहिने फोहोर भिन्नाभिन्नै राख्नुहोस् भनेर सम्झाइएको थियो अहिले धेरै सुधार आइसकेको छ,’ उनले भने।
यतिमात्र होइन नगरपालिकाले फोहोर व्यवस्थापन गरेबापत् कर पनि लिन्छ। घर भएका, कोठा भाडामा बस्ने, होटलवाला, तरकारी पसल भएकाहरूलाई फरकफरक कर निर्धारण गरिएको छ।
फोहोर व्यवस्थापनमा सघाइरहेको सेक्रेड नेपालका संयोजक टीकाराम भुसालका अनुसार घरघरबाट उठाएको फोहोर नगरपालिकाले नै व्यवस्था गरेको जग्गामा थुपार्न थालिएको छ। यो केन्द्रमा दिनहुँ कुहिने फोहोर आउँछ भने सातामा दुई दिन नकुहिने फोहोर ल्याइन्छ।
‘एक दिनमा चार टिपर (दुई हजार किलो) कुहिने फोहोर आउँछ,’ उनले भने, ‘सातामा दुई पटक गरी दुई टिपर नकुहिने फोहोर संकलन हुन्छ।’
कुहिने फोहोरमध्ये एक हजार तीन सय किलो बंगुर फार्मले लैजान्छ भने सात सय किलो जति संकलन केन्द्रमा बाँकी रहन्छन्।
नगरपालिकाले अहिले कुश्माको वडा नम्बर ४, ५, ६, ७, ८ र ९ को मात्रै फोहोर संकलन गर्दै आएको छ। बाँकी वडामा पनि अब छिट्टै फोहोर संकलन गर्ने मेयर जोशीले बताए।