नीलो आकाश। त्यहीँ आकाशमुनि बादलसँग लुकामारी खेल्दै गरेको गंगापूर्ण हिमाल। हिमालकै काखमा सफा ताल।
जब, विवेक थापाका आँखाले मनाङमा यी दृश्य देखे, उनका हात पनि सलबलाउन थाले। हत्तपत्त झोलाबाट पेन्टिङका सामग्री झिके।
आफ्ना आँखाले खिचेका दृश्य केमा उतारौं भयो।
ताल किनारमा एउटा चेप्टो ढुंगा देखे। खुर्रर गएर छेउमा बसे। र, फटाफट ढुंगामा आफूले देखेको दृश्य उतार्न थाले।
केहीबेरमै आँखा अगाडिको दृश्य ढुंगामा देखिन थाल्यो।
जमाना सामाजिक सञ्जालको छ। विवेकले पनि त्यहीँ फोटो सामाजिक सञ्जालमा हाले। केही समयपछि यसले चर्चा पाउन थाल्यो। धेरैले तारिफ गरे।
‘पछि त एक जना भाइ पनि त्यही ठाउँमा पुगेछ। मलाई फोटो खिचेरै पठाएको थियो,’ विवेकले भने।
विवेकले पेन्टिङ गर्न थालेको सात वर्ष भयो। यो अन्तरालमा उनले धेरै चित्र कोरे। तर पहिलोपटक प्रकृतिकै अगाडि बसेर त्यसकै दृश्य उतार्दाको आनन्द उनले कहिल्यै नपाएको बताउँछन्।
उनले भने, ‘आउने अक्टोबरतिर सैलुङ जाने सोच छ। गएँ भने त्यहाँको दृश्य पनि ढुंगामा कोर्छु।’
उनले ढुंगामा चित्र कोर्ने काम योजना अनुरूप गरेका होइनन्। उनी दुई-चार जना साथीसँग मनाङको गंगापूर्ण ताल पुगेका थिए।
‘त्यहाँ पुगेपछि मनै थामिएन। चित्र कोरिहाल्न मन लाग्यो,’ उनले भने।
तर उनले ढुंगामा कोरेको चित्र धेरैसमय टिक्दैन। धेरै टिके दुई-तीन हप्ता हो। उनका शिक्षकले धेरै समय टिक्ने रङ प्रयोग गर्न सुझाएका छन्।
विवेकले आफ्नो रूचिअनुसार काठमाडौं विश्वविद्यालबाट ‘फाइन आर्टस’ पढेका हुन्। स्कुल भने दार्जिलिङमा पढेका।
‘सानैदेखि म पेन्सिलले स्केच गर्थें। अहिले पनि यही क्षेत्रमा छु,’ उनले भने।
विवेकले अहिले घरकै कम्पाउन्डभित्रको सानो कोठालाई काम गर्ने स्टुडियो बनाएका छन्। त्यहीँ टुक्रुक्क बस्छन्। चित्र कोर्छन्। स्टुडियोसँगै जोडिएको गलैंचा कारखाना छ। कारखाना उनकै परिवारको हो। उनका दाजुले सम्हाल्दै आएका छन्।
‘दाइले मलाई सधैं साथ दिनुभएको छ। आम्दानी राम्रो छैन मेरो। चित्र कोर्यो। थुपार्यो,’ उनले भने, ‘मेरा चित्रहरूको मूल्य पनि तोकेको छैन। अहिले पैसातिर ध्यान छैन। काम गर्दै जाँदा पछि केही होला नि!’
विवेकले बेचेको सबभन्दा महँगो चित्र ६० हजार रूपैयाँको थियो। भूकम्प गएको बेला उनलाई ताप्लेजुङको एउटा ठाउँको चित्र बनाउन प्रस्ताव आयो। उनले नौ दिनमा बनाएर सके।
‘मलाई सबभन्दा धेरै सन्तुष्टि मिलेको काम त्यहीँ हो,’ उनले भने।