गएको मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा जीप दुर्घटना भयो। कर्णाली नदीमा खसेर बेपत्ता भएको लु१ज ७१६६ नम्बरको उक्त जीप अझ पनि भेटिएको छैन।
बेडुबीसुनामा पर्ने सडक खण्डको बालुबिसौनीस्थित सडकबाट कर्णालीमा खसेको उक्त जीपमा सवार गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित ११ जना बेपत्ता छन्।
हुम्लामा पहिलोपटक सञ्चालनमा आएको सार्वजनिक यातायातको साधनका रूपमा थियो उक्त जीप। हुम्लामा रहेको खार्पुनाथ यातायात प्रालिले पहिलोपटक २०७२ जेठमा सेनाको हेलिकप्टरबाट जीप पुर्याएको थियो।
अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा चल्ने सवारी साधनहरू सबै हेलिकप्टरमार्फत् नै पुर्याउनुपर्छ।
‘जीपको टायरको हावा फुस्काएर हेलिकप्टरभित्र अटाउनेगरी सानो बनाएर यहाँ ल्याउनुपर्छ। यो जीप पनि त्यसैगरी ल्याइएको थियो,’ जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत असई विक्रम थापाले भने।
हेलिकप्टरबाट एउटा जीप हुम्ला पुर्याउन १० देखि १२ लाख रुपैयाँसम्म खर्च लाग्ने उनले बताए।
चार वटा जीप हेलिकप्टरबाट हुम्ला पुर्याएको खार्पुनाथ यातायात प्रालिसँग अब तीन वटा जीप बाँकी छन्। प्रालिसँग भएका जीपसहित हुम्लामा ६ वटा सवारी साधन छन् ।
हेलिकप्टरबाट हुम्ला पुगेका सवारीमा आवश्यक पेट्रोलियम पदार्थ भने खच्चरबाट ढुवानी गरिन्छ। छिमेकी जिल्ला बाजुरा र मुगुबाट खच्चरमा इन्धन ढुवानी गर्ने गरिएको खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले जानकारी दिए।
अध्यक्ष रावतका अनुसार बाजुरा, मुगुबाट खार्पु पुग्दासम्म डिजल प्रति लिटर ४ सय रुपैयाँ पर्छ ।
हुम्लाको सदरमुकाम सिमकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म मात्र जीप चल्ने गरेको छ। डिजल महँगो भएका कारण उक्त १० किलोमिटरको यात्रा गर्दा साढे तीन सय रुपैयाँसम्म भाडा लाग्ने गरेको अध्यक्ष रावतले बताए।
फर्कियो गोताखोरको टोली
तीन दिनसम्म खोज्दा पनि कर्णाली नदीमा खसेको जीप र यात्रुहरू फेला नपरेपछि काठमाडौंबाट हुम्ला पुगेको गोताखोरको टोली फर्किएको छ।
पानीको बहाव र धमिलो भएका कारण खोजी गर्न कठिन भएपछि गोताखोर फिर्ता भएको याङ्चु प्रहरी चौकी खार्पुनाथका इञ्चार्ज सन्तबहादुर पालले जानकारी दिए।
दुर्घटना भएको भोलिपल्ट बुधबार काठमाडौंबाट सेनाको हेलिकप्टरमार्फत् गोताखोरको टोली हुम्ला पुगेको थियो।
टोलीले तीन दिनसम्म घटनास्थलबाट एक किलोमिटर दूरीसम्म खोजी कार्य गरेको प्रहरी सहायक निरीक्षक पालले जानकारी दिए ।
आफन्तले पुत्ला बनाएर दाहसंस्कार गरे
जीप दुर्घटनामा बेपत्ता भएकाहरूका आफन्तले शव फेला नपरेपछि पराल र कुसको पुत्ला बनाएर अन्तिम संस्कार गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका असई विक्रम थापाले बताए।
गोताखोर टोलीले समेत नभेटाएर फर्किएपछि अब खोजी कार्यका लागि पहलबारे केही कुरा नभएको थापाले बताए।
जीप दुर्घटना खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, चालक सिमकोट ८ का मणिराज शाही, खार्पुनाथ ४ का चन्द्र हमाल, नैन सिंह भण्डारी बेपत्ता छन्।
यस्तै, खार्पुनाथ ५ की बसन्ती शाही, गोकुल सुनार, नन्ददेवी सिंह खार्पुनाथ एक पिउसकी कौर दमाई र उनका नाम नखुलेका दुई वर्षीय छोरा पनि बेपत्ता छन्।
काठमाडौंको थानकोट निवासी राजु श्रेष्ठ र अर्का नाम नखुलेका एक जना पनि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।