काठमाडौं महानगरपालिकाले अस्तव्यस्त रोकिने सवारीसाधन व्यवस्थापन गर्न 'स्मार्ट पार्किङ' सुरू गरेको छ। महानगरले न्युरोड क्षेत्रमा पहिलोपटक 'स्मार्ट पार्किङ' सुविधा थालेको महानगरका सार्वजनिक निजी साझेदारी कार्यक्रम निर्देशक ध्रुवकुमार काफ्लेले जानकारी दिए।
महानगरले ह्विल्स ट्रलि योर्स कम्पनीको सहकार्यमा सरूआत गरेको 'स्मार्ट पार्किङ' पहिलो चरणमा धर्मपथ, न्युरोड क्षेत्र र पाको सडकखण्डमा उपलब्ध छ।
'परम्परागत तवरले पार्किङ व्यवस्थापन साह्रै मुश्किल भयो। त्यसैले प्रविधिका माध्यमबाट नयाँ प्रयोग गरिएको हो,' काफ्लेले सेतोपाटीसँग कुराकानी गर्दै भने, 'सबैभन्दा व्यस्त ठाउँबाट थालाैं भनेर न्युरोड रोजेका हौं।'
स्थानीय निर्वाचनअघि यो क्षेत्रको पार्किङ विभिन्न क्लबहरूको अधीनमा थियो। पार्किङ शुल्क पनि उठाउँथे।
नयाँ नेतृत्व आइसकेपछि महानगर आफैंले पार्किङको जिम्मा लिएको छ।
स्मार्ट पार्किङमा सवारी राख्न ठाउँ खाली छ-छैन ठाउँ खोजिरहनु पर्दैन। पार्किङ स्थलमा लाइभ डिस्प्ले राखिएको छ। त्यसमा देखिने जानकारी अनुसार सवारी राख्न सकिन्छ।
अलि टाढै भएका सेवाग्राहीले मोबाइलमा 'पार्क केटिएम' एप डाउनलोड गरी ठाउँ खाली छ–छैन भनेर थाहा पाउन सक्छन्।
पार्किङ स्थलमा आइसकेपछि इम्बोस्ड नम्बर प्लेट भएका सवारी साधन मेसिनले रिड गर्नेछ। सवारी धनीको नाम, ब्लु बुक नवीकरण भए–नभएको, सवारी कर तिरे–नतिरेको, प्रदूषण जाँच (हरियो स्टिकर) भए–नभएको पनि थाहा लाग्छ। इम्बोस्ड नम्बर प्लेट नभएको सवारी भने सिसी टिभी क्यामरामा कैद हुने काफ्लेले जानकारी दिए।
पार्किङ व्यवस्थापनको जिम्मा पाएको कम्पनीका सूचना प्रविधि संयोजक हरिष अग्रवालका अनुसार जथाभावी सडकमा पार्किङ गर्दा सवारी कोरिनेदेखि हराउनेसम्मको समस्या हुन्थ्यो। स्मार्ट पार्किङमा त्यो समस्या नहुने उनको भनाइ छ। सवारीबीचको दूरी आवश्यकताअनुसार भएकाले सुरक्षित रहने उनी बताउँछन्।
'पहिले बजार आउँदा सेवाग्राही पार्किङ स्थल खोज्दै हैरान हुन्थे। खोज्दा खोज्दा भएको ठाउँ नि देखिँदैन थियो वा पाइँदैन थियो,' अग्रवालले भने, 'कतै राखुँ भने महानगरले लैजाने वा लक लगाइदिने चिन्ता हुन्थ्यो। अब सेवाग्राही निश्चिन्त हुन पाउँछन्।'
त्यसका लागि साझेदार कम्पनीले पर्याप्त जनशक्ति खटाएको र जनसेवा, ट्राफिक प्रहरी पनि सहकार्यमा रहेको उनले जानकारी दिए।
अग्रवालका अनुसार, पार्किङ स्थलमा ४० वटा सिसी टिभी क्यामरा जडान गरिएका छन्। क्यामराको डिस्प्ले जनसेवा, अपराध अनुसन्धान महाशाखा टेकु र साझेदार कम्पनीको कार्यालयमा राखिएको छ। सेवाग्राहीको सवारी क्यामरा र पार्किङ स्थलमा भएका कर्मचारीको प्रत्यक्ष निगरानीमा रहने उनले जानकारी दिए।
स्मार्ट पार्किङ सुविधाजनक भए पनि परम्परागत पार्किङको तुलनामा महँगो छ। मोटरसाइकलको प्रतिघन्टा २५ रुपैयाँ (करसहित) र कारलगायत चार पाङ्ग्रेको ८० रुपैयाँ लिइने शुल्क पर्छ। उठाइएको शुल्कको २० प्रतिशत महानगरको कोषमा दाखिला हुनेछ भने बाँकी निजी साझेदारको कोषमा जम्मा हुने अग्रवालले बताए। न्युरोडका विभिन्न स्थानमा गरी करिब ४ सय मोटरसाइकल र ४० वटा चारपाङ्ग्रे पार्किङ हुने महानगरको भनाइ छ।
तर यो स्थानमा पहिले नै पार्किङका लागि ठाउँ नपुगेकाबेला स्मार्टले व्यवस्थित होला त?
जिज्ञासा मेटाउँदै निर्देशक काफ्लेले भने, 'पहिले सेवा निःशुल्क थियो। सेवाग्राहीलेभन्दा यहाँ आसपासका व्यापारी, व्यवसायीले ज्यादा लाभ उठाइरहेका थिए। सर्वसाधारणले समस्या भोग्नु परेको थियो। अहिले शुल्क छ। त्यसले व्यवस्थापनमा सहजता थप्ने छ।'
'एउटा व्यापारीले कम्तीमा पनि आठ घण्टा सवारी पार्किङ गर्छ। चार सय रुपैयाँ उसको दैनिक पार्किङ शुल्क लाग्ने भयो। कि त उसले शुल्क तिर्नुपर्यो, कि अन्तै राख्नुपर्यो। दिनभर ओगटेर यसै राख्न पाइन्न,' उनले भने।
स्मार्ट पार्किङले भद्रगोल सवारीको चाप कम गर्ने र सवारी धनीको बानी समेत सुधार हुँदै जाने विश्वास महानगरको छ।
काठमाडाैंमा सवारी संख्या बढ्दै जाने तर पार्किङ समस्या थपिँदै जाने क्रम बढ्दो छ। यसलाई कम गर्न महानगरले बहुतल्ले, भूमिगत पार्किङको अवधारणामा पनि काम गरिहेको जनाएको छ। बहुतल्लेका लागि प्रस्ताव आह्वान भएर 'इओवाइ'समेत बनिसकेको महानगरका काफ्लेले बताए। तर, भवन बन्न अझै दुई वर्ष लाग्ने भएकाले तत्कालका लागि स्मार्ट पार्किङ उपयोगी हुने काफ्लेको भनाइ छ।
भिडिओ र तस्बिरः नारायण महर्जन/सेतोपाटी