रुपन्देहीको गैंडहवा गाउँपालिकामा दुई युवतीमाथि भएको सामूहिक बलात्कारको अभियोगमा गैंडहवा वडा नं ९ का जीवन ज्ञवाली पक्राउ परेका छन्।
असार २ गते राति १२ जनाको समूहबाट सामूहिक बलात्कारमा परेका युवतीहरूले प्रहरीमा दिएको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लुम्बिनीले ज्ञवालीलाई पक्राउ गरेको छ भने बाँकी ४ जनालाई तारेखमा छाडेको छ।
उक्त बलात्कारका मुख्य आरोपी वडा नं ९ कै विष्णु चौधरी भने फरार छन्।
पीडित युवतीहरूसँग दुई दिन लगातार फोन गरेर सम्पर्कमा रहेका विष्णु चौधरीले असार २ गते साँझ नागेश्वरी चोकमा रहेको एक होटलमा नास्ता खान बोलाएका थिए।
चौधरीले खाजा खान बोलाएको प्रस्ताव स्वीकार गरी सित्तलडाँडाबाट अन्दाजी ३ किलोमिटरको दूरीमा रहेको चोकमा पुगेका उनीहरू साँझ ६ बजेदेखि ९ बजेसम्म होटलमा नास्ता खाएर बसेको स्वयं युवतीहरू बताउँछन्।
राति ९ बजे घर पुर्याइदिने भन्दै चौधरीले दुई युवतीलाई मोटरसाइकलमा राखेर लैजाँदै गर्दा बीच बाटोमा गफ गर्ने भन्दै उनले मोटरसाइकल रोकेर नजिकैको खेतमा लगेर त्यहीँ बेला बलात्कार गरेको उनीहरूले बताए।
मोटरसाइकल रोकेर जबरजस्ती गर्न थालेपछि एक जना युवती भागे पनि अर्की युवतीमाथि चौधरीले बलात्कार गरेको पीडित युवतीले बताइन्। सँगै गएकी साथी बलात्कारमा परेपछि भागेर गुहार माग्दै हसनापुर पुगेकी उनी पनि सामूहिक बलात्कारमा परेकी हुन्।
राति १० बजे गुहार माग्दै हसनापुर पुगेकी युवतीले उद्धारको लागि ५ जना युवालाई घटनास्थल लिएर आएपछि सोही समूहले नै बलात्कार गरेको उनीहरूले बताए।
पहिलो युवतीमाथि बलात्कार भएको स्थानमा पुग्दा ८/१० जना युवा जम्मा भइसकेको युवतीको भनाइ छ।
गुहार दिन लाठीसहित गएका प्रकाश रिजाल, राजिव रिजाल, जीवन ज्ञवाली, विराट नेपाल र आकाश चौधरीमध्ये गुहार दिन गएकै जीवन ज्ञवालीले पनि आफूमाथि बलात्कार गरेको ती युवतीले दिएको जाहेरीमा उल्लेख छ।
जाहेरीमा चौधरी र ज्ञवालीसहित चार जनाले बलात्कार गरेको उल्लेख गरिएको छ। रातको समयमा भएकाले बलात्कार गर्नेमध्येमा गुहार दिन गएका जीवन ज्ञवाली र फोन गरेर बोलाउने चौधरीलाई मात्र चिनेको उनीहरू बताउँछन्।
‘लाठीसहित म र केटा साथी भएको ठाउँमा पुग्दा त्यहाँ धेरै केटा थिए, त्यो बेला नै दुई वटी हामीलाई दुईतिर लगेर पालैपालै बलात्कार गरे,’ पीडित युवतीले भनिन्, ‘कपडा समेत सोही स्थानमा च्यातिदिएपछि विष्णुले नै दिएको टिसर्ट र चुन्नी बेरेर बाहिर निस्केकी थिएँ।’ बलात्कार गरेपछि पनि चौधरीले ‘बाहिर कुरा गरे ठीक नहुने भन्दै’ धम्काएको उनीहरूले बताए।
पीडितले प्रहरी कार्यालयमा दिएको बयान अनुसार घटना राति ११ बजेदेखि ३ बजेसम्म भएको देखिन्छ।
११ बजे गुहार दिन गएका युवाहरू समेत फर्केपछि विष्णुले थप युवाहरू बोलाएर बलात्कार गराएको हुन सक्ने आशंका परिवारको छ। घटना घट्दै गर्दा परिवारलाई युवतीहरूले सम्पर्क समेत गरेका थिए। सम्पर्क हुँनासाथ राति नै प्रहरी नागेश्वरी क्षेत्रमा पुगेको थियो।
प्रहरी राति नै घटनास्थल पुगे पनि बलात्कारमा संलग्न सबै भागिसकेका थिए।
‘यदि प्रशासन बलियो हुन्थ्यो भने रातिनै उनीहरूलाई पक्राउ गर्न सकिन्थ्यो, तर प्रहरीले त्यसो गरेन जसका कारण दोषी सहजै भाग्न सफल भयो’, पीडित युवतीका दाइले भने।
गुहार दिन गएका जीवन ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ भने घटनाका मुख्य योजनाकार विष्णु चौधरी भने फरार छन्। प्रहरीले विष्णु चौधरीलाई पक्राउ नगर्दासम्म थप बलात्कारीको पहिचान हुन नसक्ने भएकाले चौधरीमाथि खोजी तीव्र बनाएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ज्ञवालीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।