शहीद स्मृति प्रतिष्ठानको अगुवाइमा नेत्र बिक्रम चन्द (विप्लव) समूहले कपिलबस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढीमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
चन्दका छोरा प्रकाशको नेतृत्वमा उनकै गृहनगरमा स्वास्थ्य शिविर सम्पन्न भएको हो। प्रकाश चितवन मेडिकल कलेजका चिकित्सक हुन्। सरकारले बिप्लव समूहलाई प्रतिबन्ध लगाएको छ। तर छोराको नेतृत्वमा समूहनिकट शहीद स्मृति प्रतिष्ठानले स्वास्थ्य शिविर चलाउँदा भने प्रशासनले सहयोग गर्यो।
केही महिना अघि उक्त स्थानमा कपिलबस्तु प्रहरीले सर्च अपरेशन गरी ठूलो परिमाणमा हातहतियार तथा बिष्फोटक पदार्थ बरामद गरेको थियो। स्थानीय प्रशासनसँग अनुमति लिएर संचालन गरिएको उक्त शिविरमा २ हजार ६ सय स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए। स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाल राष्ट्रियआधारभुत माध्यमिक बिद्यालय छेवैमा चन्दको घर छ।
इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाका प्रहरी निरीक्षक मधुसुधन सिंहले शहीद स्मृति प्रतिष्ठानका नाममा स्वास्थ्य शिविर सन्चालन गर्ने पत्र आएकोले सुरक्षा प्रवन्ध मिलाईएको बताए।
चितवन मेडिकल कलेजका १४ जना चिकित्सकहरुले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएकोले सहयोग गरिदिन भन्ने पत्राचार भएकोले राजनीतितर्फ शंका नगरिएको प्रहरी निरीक्षक सिंहले बताए।
‘स्वास्थ्य शिविरमा आउने १४ जना चिकित्सकहरुको नाम लिष्टमा प्रकाशको पनि नाम थियो’ सिंहले भने ‘उनी प्रहरीको सूचीमा थिएनन् त्यसैले हामीले स्वास्थ्य शिविरको रुपमा लियौं।’
स्वास्थ्य शिविरमा सहभागी अधिकांश चिकित्सकले माक्स लगाए पनि प्रकाशले भने लगाएनन्। शिविर अवधिभर नेपाल प्रहरीले सुरक्षा दिएको थियो। कार्यक्रम सकिएपछि सहिद स्मृती प्रतिष्ठानको जन स्वास्थ्य शिविर लेखिएको ब्यानरमा प्रकाशले राजनीतिक भाषण समेत गरेका थिए।
शिविर सञ्चालनअघि सहभागी हुन आग्रह गर्दै शहीद स्मृति प्रतिष्ठानले माइकिङ गरेको स्थानीयले बताए।