नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार बन्द गर्यो।
आफ्ना सर्लाही इञ्चार्ज कुमार पौडेललाई प्रहरीले गोली हानी हत्या गरेको विरोधमा गरेको बन्दले सवारी साधन कम चलेका छन्।
बन्दको असर शैक्षिक क्षेत्रमा धेरै परेको छ। देशका शैक्षिक संस्था बिहानैदेखि खुलेनन्। बन्दले सामुदायिक र संस्थागत (निजी) विद्यालय नखुलेपछि विद्यार्थीले पढ्न पाएनन्।
कसैले बन्द भन्ने बित्तिकै शैक्षिक संस्था किन बन्द हुन्छ?
निजी विद्यालयहरूको छाता संगठन प्याब्सनका सहअध्यक्ष डिके ढुंगानाका अनुसार असुरक्षाकै कारणले गर्दा विद्यालय बन्द हुन्छ।
बन्दका दिन विद्यालयको मात्र होइन विद्यार्थीको सुरक्षाको पनि चिन्ता हुने गर्छ।
‘जोखिम लिएर विद्यालयमा पठनपाठन गर्न सकिएन,’ उनले सेतोपाटीसँग भने, ‘विद्यालय खोल्नु ठूलो कुरा होइन। पढ्न आउने बालबालिकालाई घरदेखि विद्यालयसम्म सुरक्षित ल्याउने रिस्क लिन गाह्रो छ।’
देशभरका १२ हजार विद्यालयमध्ये प्याब्सनमा छ हजार तीन सय विद्यालय सदस्य छन्।
‘२४ लाख विद्यार्थी सवारी साधन चढेर विद्यालय पढ्न आउनुपर्छ,’ उनले भने, ‘यदि विद्यालय खुल्यो भने पनि उनीहरूको पढाइ छुट्छ। सवारी साधनमा विद्यालय आवतजावत गर्न पनि जोखिम छ।’
बन्दका दिन विद्यालयसम्म विद्यार्थी ल्याउन नै गाह्रो हुने उनले बताए।
‘अभिभावक नै मान्नुहुन्न बन्दका दिन विद्यार्थी विद्यालय पठाउन,’ उनले भने।
प्याब्सनका पूर्वअध्यक्ष विजय सम्वाहाम्फे भन्छन्, ‘बन्द भनेपछि जहाँ जे पनि हुन सक्छ भन्ने डर अभिभावकलाई छ। असुरक्षा महशुस गरेरै अभिभावकले छोराछोरीलाई विद्यालय पठाउनुहुन्न।’
यस्तै समस्या एनप्याब्सनमा आवद्ध विद्यालयमा पनि छ।
सुरक्षालाई नै ध्यान दिएर बन्दका दिन विद्यालय नखोलिएको एनप्याब्सनका अध्यक्ष रितुराज सापकोटाले बताए।
बन्द घोषणा भएपछि सरकारले सम्बन्धित पक्षसँग वार्ता गर्नुपर्नेमा मतलब नगर्दा विद्यालय सञ्चालनमा समस्या आइपरेको उनले बताए।
‘विद्यालय निर्वाध रूपमा सञ्चालन गर्ने वातावरण सरकारले मिलाउनुपर्छ,’ उनले भने, ‘बन्दकर्तासँग सरकारले वार्ता गरी बन्दको विकल्प खोज्नुपर्छ।’
जे भए पनि बन्द गर्ने प्रवृत्ति बढेकोमा उनले चिन्ता जनाए।
झलनाथ खनाल प्रधानमन्त्री हुँदा २०६८ साल जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रूपमा घोषणा गरे पनि यो कार्यान्वनय भएको छैन।
शान्ति क्षेत्र घोषणा गरेको एक दशक हुन लाग्दा पनि बन्दको प्रभाव विद्यालयमा पूर्णरूपमा पर्ने गरेको छ।
बन्दले निजीमात्र होइन ३० हजारभन्दा बढी संख्यामा रहेका सरकारी विद्यालय पनि बन्द भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले शान्ति क्षेत्र घोषणा गरे पनि कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गरे।
उनले भने, ‘विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने प्रतिवद्धताले मात्रै पुग्दैन। राजनीतिक दलले हिजो गरेका प्रतिवद्धतालाई कार्यान्वयन गर्नुपर्छ। बन्द गर्ने संस्कार नै बसिसक्यो, यो राम्रो होइन सुधार गर्नुपर्छ।’
विद्यार्थी र विद्यालयप्रति राजनीतिक दल संवेदनशील हुन नसकेको उनले बताए।
‘विद्यालय बन्द नगर्ने सहमतिमा हस्ताक्षर गरे पनि आफूअनुकूल व्याख्या गर्ने अनि बन्द गर्ने प्रवृत्ति बढेको छ,’ उनले सेतोपाटीसँग भने, ‘यो प्रवृत्तिमा सुधार आएमात्रै बन्दका दिन विद्यालय खुल्छ।’
विप्लवका बन्दमा पछिल्लो समय विद्यालय मारमा छन्।
असार ६ गते पनि अखिल क्रान्तिकारीले आफ्ना विद्यार्थी नेता गिरफ्तारी परेको भन्दै काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगुमा एक दिने शैक्षिक हड्ताल गरेको थियो।