आगमन कलमा उनको नाम देखेर म खङ्ग्रङ्ग भएँ!
छ-सात महिनाअघि उनलाई पहिलोपटक पुल्चोकमा भेटेकी थिएँ। सानो काँठीको पातलो ज्यान। मायालाग्दो अनुहार। हातमा गुलाबी झोला थियो। झोलाभित्र उनको उदेकलाग्दो ‘डार्क स्टोरी’।
त्यो कथा मैले लेखेकै थिइनँ। कहिलेकाहीँ यस्तै हुन्छ। खासमा अल्छी बानीकै दोष हो तर नलेख्नुका अनेक बहाना हुन्छन्। उनको कथा पनि त्यस्तै बहानाको शिकार भएको थियो।तै उनले सोधिन् भने के उत्तर दिने होला!
मैले धुकचुक हुँदै फोन उठाएँ।
‘म तपाईंलाई भेट्न आउने म्याम,’ उनले भनिन्, ‘यहीँ पुल्चोकमा छु।’
‘हुन्छ आउनुहोस् न,’ मैले उनलाई अफिस बोलाएँ।
दोस्रो भेटमा उनले पहिलेजस्तो लामो कथा सुनाइनन्। बरू उनका आँखाबाट झरेका अविरल आँसुले मेरो मन हल्लाए!
सोचेकी थिएँ, उनी अघिल्लोचोटि मलाई भेटेको केही दिनमै गाउँ फर्किइन् होली। तर, यतै काठमाडौंमा भौँतारिरहेकी पो रहिछन्।
यतिका समय के गर्दै बसी होलिन् यिनी यो अन्जान सहरमा!
म सम्झेरै खङ्ग्रङ्ग भएँ।
‘गाउँ जान्छु भन्नुभएको थियो होइन !’ मैले सोधेँ।
‘कहाँ जानु म्याम मेरो त मुद्दै यहीँ छ,’ उनले भनिन्!
उनी मानव बेचबिखन मुद्दामा परेकी छन्। मुद्दामा उनको नाम ‘सिस्ने हिमाल’ छ। यो परिवर्तित नाम हो। मानव बेचबिखन मुद्दामा पीडितको नाम गोप्य राखिन्छ।
रूकुमबाट सिस्ने हिमाल खुब सुन्दर देखिन्छ। उनी रूकुमबाटै आएकी हुन्।
सिस्ने चुलीमा पुग्नु त्यो सुन्दरता प्राप्तिको चरम आनन्द हुँदो हो, यो मुद्दाले दिलाउने न्यायको कल्पना पनि त्यस्तै छ उनको मनमा।
जब उनी मुद्दा खेप्न गाउँ छाडेर आइन्, काठमाडौं जिल्ला अदालतले फैसला सुनाइसकेको थियो। उनलाई बेचबिखन गर्ने काठमाडौंका श्याम डंगोललाई दस वर्ष कैद सजाय सुनायो। ५० हजार रूपैयाँ जरिमाना भराउने फैसला पनि गर्यो।
अदालतको फैसला पढेर उनको मन शितल हुनुपर्ने हो, उल्टै भत्भती पोलेछ।
‘जेल जानुपर्ने मान्छे त अरू पनि थिए तर तिनले सफाइ पो पाएछन्,’ सिस्नेले सरकारी वकिलसँग भनिन्।
सरकारी वकिलले नै उनको मुद्दा तलमाथि गरिदिएको थियो। उनले किटानी जाहेरी दिएका भक्ते परियार र टोपलाल अधिकारीलाई सरकारी वकिल कार्यालयले मुद्दा नै चलाएन। जबकि, मानव बेचबिखन मुद्दामा पीडितको बयानै महत्वपूर्ण हुन्छ।
उनले परियार र अधिकारीबारे प्रहरी र अदालतमा एउटै बयान दिएकी छन्। तर, उनलाई नेपालबाट कलकत्ता पुर्याउने डंगोल, ज्ञानबहादुर चनरा र सुनिता मुरमुरलाई मात्र मुद्दा लग्यो। अदालतले यीमध्ये डंगोललाई मात्र दोषी ठहर गर्यो।
उनको मनमा सरकारी वकिलसँग सोध्न अर्को प्रश्न पनि थियो- ती चारजनालाई किन छाडेको? तर, अदालतले छाडेको कि सरकारी वकिल कार्यालयबाटै गडबड भएको भन्ने उनले त्यतिखेर सोध्नै जानिनन्।
तै उनको मुद्दामा बहस गर्ने सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गर्ने भनी सम्झाए।
त्यसपछिका १० महिना उनी काठमाडौंभित्रै झुलिरहेकी छन्- कहिले यता कहिले उता!
उनले मलाई महिला आयोगले साथी संस्थालाई लेखिदिएको पत्र देखाइन्, जसमा भनिएको थियो – सिस्ने हिमाल त्यहाँबाट बाहिर निस्कन चाहेकाले जाने स्वीकृति दिनू!
त्यो पत्र पढेर मैले थाहा पाएँ, उनी गएको फागुनका केही साता 'साथी' नामक एनजिओको सेल्टरमा बसेकी रहिछन्। छोरीलाई समेत आफूसँगै राख्नुपरेकाले त्यहाँ बस्न गाह्रो भएछ।
‘अब कहाँ जानु हुन्छ त?’ चिठी पढेपछि मैले सोधेँ।
‘थाहा छैन म्याम !’ उनका ओठ सुस्तरी चले।
आँखा भने छचल्किँदै आएका आँसुका ढिक्का थाम्न नसकेर यताउता चलमलाए। बडेबडे ढिका झरिरहे, उनी बोलिनन्।
उनी नबोलेपछि मैले नै कुरा उक्काएँ।
‘त्यसअघि यत्रो महिना कहाँ बस्नुभयो?’
उनी काँडाघारी गान्धी आश्रममा बसेकी रहिछन्। छोरीलाई त्यहीँको स्कुलमा भर्ना गरिदिइछन्।उनले त्यहाँ सिलाइबुनाइ पनि सिकिन्।
केही महिनापछि आश्रमकी प्रमुखले घरको कामकाज र बिरामी श्रीमानको देखभाल गर्न भनेर उनलाई झम्सिखेल लगिछन्। तीन महिना बस्दा पनि पैसा नदिएपछि उनी फागुनमा फेरि गान्धी आश्रममै फर्किइन्।
'म नबसेको रिसमा उनले चोरीको आरोप लगाएर हामी आमाछोरीलाई नै त्यहाँबाट राती १० बजे निकालिन्,' सिस्ने हिमालले भनिन्।
गान्धी आश्रमबाट निकालिएपछि उनले महिला आयोगमा फोन लगाइन्। आयोगले प्रहरी पठाइदियो। रातभरी आयोगमा बसेपछि भोलिपल्ट उसले आमाछोरीलाई नै 'साथी' नामक संस्थाको ललितपुर सेल्टरमा पठाइदियो। उनीसँग दुई-तीनथान किर्पे ब्याग थियो। ती ब्याग जहाँ राख्यो, त्यहीँ उनीहरूको घर। तर, छोरीको स्कुल जान त उता काँडाघारी पुग्नुपर्थ्यो।
उनी एकाबिहानै ललितपुरदेखि छोरी काँडाघारीसम्म पुर्याउन जान्थिन्। दस महिनाअघि घरबाट ल्याएको केही पैसा सकिँदै गयो।
त्यही बेला छोरीको स्कुलले छ हजार रूपैयाँ परीक्षा शुल्क माग्यो। नदिए परीक्षामा सामेल हुन नपाइने स्कुलको उर्दी सुनेर आमाछोरी मुखामुख गरे।
उनलाई छोरी पढाएर आफ्नै खुट्टामा उभिएको देख्ने मन छ। त्यत्ति एउटा सपनाका लागि बाँचेकी छु जस्तो लाग्छ रे। त्यो सपनाको ऐँठन बन्यो- छ हजार!
कहाँबाट ल्याउनु?
सेल्टरमा बस्नेलाई बाहिर काम गर्ने छुट छैन। माग्न मन मान्दैन। बेस्मारी आत्तिएका बेला उनको मनले भनेको थियो, बाहिर गए कम्तिमा होटलमा भाँडा माझ्ने काम त पाइएला!
यही सोचेर उनले सेल्टर छाड्ने मन बनाएकी रहिछन्। आयोगले लेखिदिएको चिठी यसैको निम्ति थियो।
भोलिपल्ट बिहान म उनकै फोनले ब्युँझिएँ। उनले आफू निस्किन लागेको बताइन्। मलाई के गरूँ, के भनुँ भयो। कहाँ जालिन् भनेर पीर मान्न थालेँ भने कहाँ लगेर राख्ने भन्ने बन्दोबस्त पनि गर्दिनुपर्यो। त्यो मेरो ल्याकत थिएन।
मैले खाली उनलाई त्यहाँबाट ननिस्किनू भनेर फकाएँ। वार्डेनलाई फोन पनि गरिदिएँ।
त्यसको केही दिनमै उनले एउटा रेस्टुरेन्टमा सरसफाइ गर्ने काम पाइन्। छोरीको परीक्षा शुल्क तिर्ने पैसा पनि पाइन्। त्यसपछि छोरीको स्कुल पायक पर्ने गरी कोठा खोजिन्।
आफ्नो किर्पे ब्याग राख्ने ठाउँ पाएपछि उनको मन केही हलुंगो भयो।
अब त मुद्दा लड्न सजिलो होला भन्ने सोच्दै थिइन्, दुई महिनामै फेरि बेरोजगार भइछन्।
यसबीच उनले नसोचेको काम गर्नुपर्यो। खानलाई नै पैसा नभएपछि उनले छोरीलाई लगाइदिएका सुनका मुन्द्री १० हजारमा बेचिछन्। त्यसले केही दिनलाई पुग्ने दालचामल किनिन्। घरभाडा पनि तिरिन्।
मसँग हप्तादिन अघि भेट्दा उनीसँग त्यसबाटै बचेको जम्मा ५ सय रूपैयाँ थियो। त्यही पैसा बोकेर उनी आफ्नो मुद्दाबारे बुझ्न उच्च अदालत पाटन आएकी थिइन्।
उच्च अदालतले उनको मुद्दामा झगडिया झिकाउने आदेश गरेको छ। धन्न उनले वकिललाई पैसा दिनुपर्दैन। उनको मुद्दा सरकारी वकिलले लड्छ। 'ल्याक' भन्ने संस्थाले कानुनी सहायता दिएको छ। मलाई भेट्न आउनुअघि उनी त्यहाँ पनि पुगिछन्। वकिलले भनेछन्, 'तपाईं महिनाको चारपटक मुद्दाको तारेख बुझ्न आउनुपर्छ।'
मुद्दा लड्न त उनी पाटनसम्म हिँड्दै पनि आउन सक्छिन्, तर छोरीलाई के खुवाउने भन्ने चिन्ताले उनको पेट पोल्छ।
मुद्दा अदालतमा गएपछि विपक्षीहरूले उनलाई फकाएका थिए, 'मुद्दा झिक, २५ लाख दिन्छु।'
मैले उनलाई सोधेँ, 'यस्तो दु:ख पाउनुभन्दा बरू मुद्दा झिकेर २५ लाख लिनपर्ने रहेछ भन्ने लाग्छ कि लाग्दैन?'
मेरो प्रश्नको झड्का उनको शरीरमा पर्यो। सोधेको नपत्याएझैँ उनले मेरो अनुहार हेरिरहिन्। अनि तत्काल जवाफ दिइन्, ‘कस्तो कुरा गर्नुहुन्छ म्याम? उनीहरूले मलाई बेचेका थिए!’
उनी एकछिनसम्म बोलिनन्।
‘मैले त्यहाँबाट फर्की आउँदा मजस्तै बेचिएका अरू केटीहरूसँग बाचा गरेकी थिएँ, तिमीहरूलाई जसरी पनि निकाल्छु भनेर, त्यो बाचा अधुरै भयो,' उनले भनिन्, 'आफ्नै न्यायका लागि लड्न मलाई यति गाह्रो छ!’
उनका आँखा फेरि छल्किए।
यही छल्किएका आँसुमा लुकेको थियो, उनको 'डार्क स्टोरी'।
उनको कथा उनकै बिहेको दिनबाट सुरू हुन्छ।
उन्नाइस वर्षअघि उनको गाउँमा एक जना केटीको बिहे हुने भयो। बिहेको अघिल्लो रात ती केटी भागिन्।
बेहुली लिन आएको जन्ती यसै फर्काउन हुन्न भन्ने मान्यता उनको गाउँमा पनि थियो। ठूलाबडाले उनलाई पो बेहुली बनाउने निर्णय गरे। उनलाई कसैले एकफेर पनि सोध्न जरूरी ठानेनन्। लतार्दै-घिसार्दै जग्गेमा बसाले।
उनको बिहे भयो।
नेपालको कानुनले त्यसलाई 'जबर्जस्ती बिहे' भन्छ। यो कुरा उनका आमाबाबुलाई थाहा थिएन। उनलाई पनि थिएन। तर उनलाई आफूमाथि अन्याय भएको महसुस भने भयो रे। प्रतिकार गर्न उनीसँग रूनुको विकल्प थिएन। आँसुले उनका आमाबा र दाजुलाई पगालेन।
बिहे गरेको केही समयपछि उनका पति भारत गए। यता उनकी छोरी जन्मिइन्। बाबु छोरी हेर्न पनि आएनन्। एक वर्षकी छोरी लिएर उनी ससुराका साथ पति भएको ठाउँ गइन्।
उनले त्यसपछि थाहा पाइन्, पतिले अर्कै बिहे गरेका रहेछन्। उनलाई बसिरहेको ठाउँमै छाडेर उनी दोस्री पत्नीसँग गए। त्यसयता न उनले खोज्दै गइन्, न पति भेट्न आए।
उनले त्यहीँ एउटा औषधि कम्पनीमा काम पाइन्। राम्रो तलब थियो। छोरीसँग उनका दिन सुख्खले बित्न थाले। छोरी १३ वर्षकी हुँदासम्म उनी त्यहीँ बसिन्।
बस्ने ठाउँ नजिकै एक जना मान्छेले सानी केटी बलात्कार गर्यो। उनी बेस्मारी डराइन्। आफ्नी छोरीलाई पनि कसैले यस्तै गरिदियो भने! उनी यस्तो कल्पनाले मात्रले थरथरी भएकी थिइन्।
उनको घरमा एउटा कुकुर थियो। उनी र उनकी छोरीलाई कसैले छुनसम्म हुन्नथ्यो, कुकुरले झम्टिहाल्थ्यो। त्यो कुकुरको सहारामा उनी आफूलाई सुरक्षित महशुस गर्थिन्।
एकदिन अचानक त्यो कुकुर मर्यो। कसैले उसलाई विष हालेको खाना दिएछ। उनी झन् आत्तिइन्। त्यो घटनाको अर्को मिनेटमै उनले फैसला गरिन्- म आफ्नै देश, आफ्नै गाउँ फर्किन्छु।
गाउँमा आफन्तकै वरिपरि छोरी सुरक्षित हुर्केली भन्ठानेर उनले झोला कसिन्। बैंकमा ७/८ लाख रूपैयाँ थियो। झिकिन्। भारू १० हजार भने त्यहीँ छाडिन्।
गाउँ त आइन्, तर गाउँमा दु:खले उनलाई पर्खेर बसेको रहेछ।
उनले छोरीको भर्ना पाइनन्। जन्मदर्ता गर्न नगरपालिका गइन्। बिहेदर्ता देखाइन्। सचिवले उनको नागरिकता मागे। बनाएकै थिइनन्। सचिवले नागरिकता र छोरीको जन्मदर्ता दुवैका लागि पतिका घरको अभिभावक ल्याउन भने।
'बिहे गरेपछि पतिकै नामबाट नागरिकता लिनुपर्ने रहेछ, आमाबाबुको नामले नहुने,' उनले भनिन्, 'आफ्नो बूढा थिएन। सासूससुरासँग सम्बन्धै टुटेजस्तो थियो। मलाई एकदम गाह्रो भयो।'
उनी आफ्नी जेठानीकहाँ गइन्। उनले के मान्थिन् र, उल्टै सुनाइन्, 'अहिले जन्मदर्ता बनाइदियो भने पछि अंश माग्छे, म जान्नँ।'
उनलाई पतिको आस थिएन, न त घरको सम्पत्तिको लोभ। आमाछोरीलाई दैनिक गुजारा टर्ने टन्न पैसा थियो। त्यसमाथि उनले काम गर्ने सोच बनाइसकेकी थिइन्। तर, राज्यले उनलाई पति वा उनको घरका व्यक्तिको सनाखतबिना चिन्दैनथ्यो।
जिल्ला प्रशासन कार्यालयमा उनले दिएको नागरिकताको निवेदनमाथि मुचुल्का उठिसकेको थियो। कार्यालयले उनकी नन्दलाई डाक्यो। उनले पनि सनाखत गर्न मानिनन्।
एक जना सरकारी कर्मचारीले उनलाई सल्लाह दिए, 'अंश मुद्दा लड्नुहोस्। बिहे दर्ताका आधारमा अंश पाइन्छ। अदालतले नै उसकी श्रीमती भनेर अंश दिलाएपछि त्यही फैसलाका आधारमा सिडिओले नागरिकता दिन्छ।'
उनले त्यसै गरिन्।
पतिको नामबाट नागरिकता लिन जिल्ला अदालतमा अंश मुद्दा हालिन्। मुद्दा टुंगो लाग्न तीन वर्ष लाग्यो। भारतबाट ल्याएको रकममध्ये तीन/चार लाख त मुद्दा लड्ने वकिलहरूलाई नै बुझाइन्।
फैसला उनको पक्षमै भयो। अंशमा पाएको जग्गामा एउटा सानो झुपडी अड्याउन पनि पुग्दैनथ्यो। मुद्दा लड्दा उनले हाम्रो देशको न्याय प्रणालीबारे थोरबहुत जान्न भने पाइन्।
'न्यायाधीशले त न्याय गर्छ, तर मुद्दा लेख्ने लेखनदासले गडबड पार्दो रहेछ,' उनले भनिन्, 'न्यायाधीशले कागज हेरेर फैसला गर्ने हो। कागजमा गडबडी भयो भने न्यायमा गडबडी हुने रहेछ।'
उनलाई जति अंश पाए पनि केही गुनासो थिएन। किनभने, त्यही एक टुक्रा जमिनले उनलाई नागरिकता दिलाउँथ्यो। छोरीको जन्मदर्ता बन्थ्यो। उनले स्कुलसँग हारगुहार गरेर जन्मदर्ताबिनै छोरीलाई स्कुलमा भर्ना गरेकी थिइन्।
फैसला भए पनि जग्गा आफ्नो नाममा ल्याउन उस्तै सकस भयो। सरकारी कर्मचारीलाई कागजी प्रक्रियाले मात्र नपुग्ने रहेछ भन्ने पनि उनले थाहा पाइन्।
'एउटा बियर भए पनि खुवाउनैपर्ने, उल्टै हलानो फलानो भन्ने,' उनी अहिले पनि झोक्किइन् ती कर्मचारी सम्झेर।
जति गर्दा पनि जग्गा आफ्नो नाममा नआएपछि उनले अदालतमै गएर कर्मचारीलाई थर्काइन्, 'बिहान बेलुकाको गर्जो टार्न पर्ने मान्छे मुद्दा लड्दै हिँड्न कसरी भ्याइन्छ?'
ती कर्मचारी उनीसँग झर्किए।
उनले त्यसपछि भने गाली नै गरिन्, 'तिमीहरू घुस नभई काम नगर्ने, अझ ठूलो स्वर गर्ने?'
त्यहाँ एक जना पत्रकार पनि रहेछन्। उनको र कर्मचारीको सवालजवाफ सुनेपछि एफएममा समाचार बज्यो। उनले त्यसको पत्तै पाएकी थिइनन्। रेडियोमा पनि सुन्न पाइनन्।
आफू पहिलोपटक समाचार बनेको कुरा मलाई सुनाउँदा पनि उनको अनुहार उज्यालियो। ओठ विस्तारै तन्केर मुस्कान नाच्यो।
'म कसैलाई पिर्दैन, गाउँमा गएर सोध्नुस्, सबैले मलाई कति तारिफ गर्छन्, तर गल्ती गर्नेलाई मैले पानीमुनि गए पनि नछोड्ने हो,' उनले दृढतासाथ भनिन्।
त्यसरी अंश र नागरिकता लिएपछि उनी ढुक्कले बसेकी थिइन्। त्यसको दुई वर्षमै विदेश जाने चक्करमा फसिन्।
ठूलोबुबाकी छोरीले एकदिन उनलाई 'विदेश गएर पैसा कमाऊ अनि घर बनाएपछि मात्र तिमीहरूको भविष्य राम्रो हुन्छ' भन्दै सल्लाह दिइन्।
ती ठूलोबुबाकी छोरी रेणु पनि विदेशमै थिइन्। भतिजीले यस्तो पैसा कमाउँछ भन्ने उदाहरण सुनेपछि उनलाई लोभ लाग्यो। त्यो लोभको केन्द्रमा थियो- छोरी र आफू बस्ने सानो घर।
मुद्दा सकिएको दुई वर्ष बितिसकेको थियो। उनकी भतिजी विदेशबाट आइन्। भतिजीको बिहे आफ्नै काका ससुराका छोरा ज्ञानेन्द्रसँग भएको थियो।
भतिजीले विदेशबारे कुरा गरे। उनी जाउँ की नजाउँको दुबिधामै थिइन्। एक मनले भविष्य कल्पिन्थ्यो, गैहालुँजस्तो हुन्थ्यो। अर्को मनले छोरी एक्लै पर्छे भन्ने सोच्थ्यो र ह्या होस् भन्ने हुन्थ्यो।
आखिरमा छोरीकै लागि भविष्य कल्पिने मनले जित्यो। भतिजी र देवर दुवैको सल्लाहमा कम्पनीमा काम गर्न विदेश जाने निर्णय गरिन्।
पासपोर्ट बनाउने र उतै विदेशको काम खोज्ने भनेर उनीहरू काठमाडौं आए। पार्सपोर्ट बनाएको दिन ज्ञानेन्द्रले भने, 'आज विदेश बस्दाको एक जना साथीसँग मेरो भेट भयो नि।'
भोलिपल्ट उनले ती साथीलाई उनीसँग भेटघाट गराए। श्यामलाल डंगोल भन्ने ती व्यक्तिले सिरियाबाट कामदारको अफर आएको बताए।
‘म भारत बस्दा कम्पनीमा काम गरेकी थिएँ। अब पनि गए त कम्पनीमै जाने घरेलु काममा नजाने!’ सिस्ने चुलीको सर्त थियो।
‘५०० डलर पाइन्छ,’ डंगोलले भने।
‘दबाई फ्याक्टरीमा काम पाइने भए मात्र जान्छु नभए जान्न,’ उनले दोहोर्याइन्।
‘यी दुवै जनाको फ्यामिली भिसा हुन्छ,’ डंगोलले ज्ञानेन्द्रका पति-पत्नीलाई देखाउँदै भने र उनलाई सम्झाए, ‘तीन जना एउटै कम्पनीमा काम गर्ने हो। एउटै घरमा पनि बस्न सक्नुहुन्छ।’
उनलाई केही ढुक्क भयो। आफ्नै भतिजी र देवरसँगै विदेशमा बस्न पाए अलि सुरक्षा त हुन्थ्यो!
पन्ध्र दिनपछि आउनू अनि विदेश उड्ने भन्दै डंगोल बिदा भए।
उनी त्यसपछि घर भइन्। भतिजी र उनका पति ज्ञानेन्द्रले एक सातापछि गाउँ आउँछौं भन्दै उनलाई एक्लै पठाए।
उनले घर गएर पैसाको जोहो गरिन्। छोरीलाई सम्झाइन्। आफ्नी आमालाई छोरीसँग बस्न मनाइन्। गाउँका इष्टमित्रलाई छोरी अप्ठेरोमा पर्दा हेरिदिन भनिन्।
'मलाई यही विदेशको चक्करले पो बर्बाद बनायो। गाउँका मान्छेले त एकदम कदर गर्थे,' उनले भनिन्, 'मान्छे आज छ, हिँड्दा हिँड्दै छैन, त्यस्तो ठाउँमा मलाई पठाएका।'
सिरिया जान घरबाट निस्केको दिन उनको मन एकदम छटपटिएको थियो। अहिले सम्झिँदा दुर्घटनाको पूर्वाभाष थियो कि भन्ने लाग्छ। तर, छोरी र घर छोड्नुको पीर होला भनेर त्यतिखेर टारिदिएकी थिइन्।
झिसमिसेमै उनलाई तल गाडी चढाउन ठूल्दाइका छोरा आएका थिए। हिँड्ने बेला उनले भने, 'चिन्दै नचिनेको ठाउँमा त नगए हुने हो दिदी।'
उनी अरूको अगाडि कहिल्यै रून्न थिइन्। त्यो दिन हिक्का र आँसु एकैचोटि छुटे। सायद आँसुको मूल फुट्नु थियो। काठमाडौं आएपछि उनले पैसा गनेर भतिजीलाई दिइन्, भनिन्, ‘हेर म अरू कसैको विश्वासमा हैन, तिमी दुवैले भनेर हिँडेको हो। भोलि केही भयो भने जिम्मेवार पनि तिमीहरू नै हो।’
डंगोल, उनी, उनकी भतिजी र ज्ञानेन्द्र चारै जना जहाज चढ्न त्रिभुवन विमानस्थल गए। त्यहाँ भित्र कुर्ने ठाउँमा पुगेपछि उनको मन झस्कियो। किनभने, त्यो विदेश जाने जहाज थिएन।
उनीहरू विराटनगर झरे। त्यहाँ ट्याक्सी लिएर आइपुगेकी सुनितालाई डंगोलले आफ्नी श्रीमती भन्दै भेटाए। अनि ट्याक्सी चढेर काँकडभिट्टा गए।
उनले फेरि डंगोललाई भनिन्, 'ओ भाइ, तिमीले मलाई तलमाथि गर्यौ भने मैले छोड्ने वाला छैन। तीन लाख दिएँ, अरू पैसा म दिन्न।'
‘के कुरा गरेको भाउजू, म छैन र?’ जवाफ ज्ञानेन्द्रले दिए।
देवरको कुराले उनी थोरै ढुक्क मात्र के भएकी थिइन्, ड्राइभरले भनेको सुनिन्, 'ह्या मैले त कति कटाएँ कटाएँ यसरी।'
उनको मन फेरि चिसो भयो।
काँकडभिट्टामा रहेको नेपाल-भारत सीमामा एउटा मानिस उभिएको थियो। त्यो प्रहरी भने थिएन। उसले ट्याक्सी रोक्यो। डंगोलले झ्यालबाट हात निकालेर केही पैसा त्यो मान्छेको हातमा थमायो।
उसले भन्यो, 'छिटो जाऊ।'
‘दलालीले मात्र हैन नि, सिमानामा बस्नेले पनि हामीलाई बेच्न सघाउँदा रहेछन्, कसैगरी त्यसले रोकेको भए मैले हामी कहाँ जान लागेको भन्दिन्थेँ,’ उनले त्यो दिन बिर्सेकी छैनन्, ‘२०७१ वैशाख १ गते काँकडभिट्टाबाट मलाई सिमाना कटाइएको थियो।’
‘त्यो मान्छे त सिमा कुर्न बसेको थियो। आउनेजानेको सुरक्षाका लागि बसेको त्यसले हामीलाई सोधपुछ गर्न किन रोकेन भनेर बाटोभरी किचकिच गरेँ। उनीहरूले सम्झाइरहे,’ उनले भनिन्।
सिमाना कटेर अर्को कुनै ठाउँ पुगेपछि कलकत्ताका लागि डंगोलले रेलको टिकेट काटे।
उनलाई कलकत्ताको एउटा घरको फ्ल्याटमा लगेर राखियो, जहाँ अरू ५०/६० जना केटी थिए। कोही तीन महिना त कोही दुई महिनादेखि बसेका रहेछन्। उनी भने त्यहाँ पाँच दिन बसिन्।
भतिजी र उनका पति ज्ञानेन्द्र अन्तै बस्न गए। जोडी भएकाले उनीहरूलाई छुट्टै कोठामा बसालेको डंगोलले बताएका थिए।
त्यहीँ आए, भक्ते परियार र टोपलाल अधिकारी। भक्ते परियारले उनलाई नआत्तिन सम्झाएका थिए। उनले भारतमा काम गरेको अनुभव बताउँदै त्यस्तै काम पाए मात्र जाने, नभए नजाने कुरा दोहोर्याइन्। भारतीय कम्पनीमा काम गर्दाको परिचयपत्र देखाइन्। भक्ते परियारले त्यसको फोटो खिचे र उता पठाइदिने बाचा गरे।
ज्ञानेन्द्र नजाने भए। उनी फेरि आत्तिइन्। उनको मनमा पसेको चिसो घटेन, झन् बढ्यो। रेणु भने जाने भइन्। ज्ञानेन्द्र एक-दुईदिनपछि आउँछन् भनेर परियारले नै सम्झाए।
उनले दुबईसम्म एउटा फ्लाइट र त्यहाँबाट सिरियासम्म अर्को फ्लाइटको टिकट व्यवस्था गरिदिए। सँगै जानेमा उनीसहित अरू पाँच केटी थिए।
टिकट दिएपछि सम्झाए, 'दुबई पुगेपछि यो टिकट च्यात्नू, सिरिया पुगेपछि त्यो।'
बोर्डिङ पास दिने बेला एयरपोर्टको कर्मचारीले उनलाई सोधिन्, 'तिमी साँच्चै घुम्न जान लाग्या हो? कि कुनै चक्करमा फसेकी त छैनौ?'
उनले हिन्दी बुझ्थिन्, तत्काल फर्काउन भने गाह्रो हुन्थ्यो। कर्मचारीलाई जवाफ दिनै लाग्दा अरू केटीहरूले 'हाम्रो साथी हो' भन्दै उनलाई तानेर लगे।
ती केटीहरू चिटिक्क परेका थिए। उनकी भतिजी पनि राम्रै लुगामा थिइन्। सायद उनको लवाइ र निरीह अनुहार देखेर कर्मचारीले सोधेकी थिइन्।
दुबई पुगेपछि सबैले टिकट च्याते। उनले च्यातेझैं गरिन्, तर च्यातिनन्। डस्टबिन नजिक गइन् र आफ्नै गोजीमा लुकाइन्। त्यहाँ अर्का मान्छे आएर उनीहरूलाई सिरिया उडाए।
अब त उनलाई नराम्रो नै हुन्छ भन्ने पूरा विश्वास थियो। दुबईमा तीन-चार घन्टा बसेपछि उनीहरू फेरि जहाज चढे। राति ८/९ बजे सिरिया झरे।
एउटा मान्छे लिन आयो। अब भने नेपाली र हिन्दी चल्दैनथ्यो। सिरियाको भाषा उनी बुझ्दैनथिन्। भतिजी रेणुले बुझ्थिन्।
त्यो मान्छेले केही कुरा गरेको थियो। रेणुले त्यो मान्छेले भनेको कुरा उनलाई बुझाइदिइन्, 'आन्टी हामीलाई त कम्पनीमा भनेर घरको काममा पो हालेको रहेछ। मेरो लोग्नेलाई पनि फसायो।'
सक्ने भए उनी त्यो मान्छेलाई गाडी फनक्क फर्काउन लगाउँथिन्।
उनीहरू पाँचमध्ये चार जनालाई मात्र गाडीमा लिएको थियो। एक जनालाई भने एयरपोर्टमै छाड्यो।
‘नाम त बिर्सें, ऊ थरूनी थिई,' उनले भनिन्, 'म अहिले पनि उसलाई सम्झेर कहालिन्छु।’
ड्राइभरले उनीहरूलाई त्यहाँबाट अस्पताल लग्यो। त्यसपछि अफिस, जहाँ खिला बिक नाम गरेकी नेपाली केटी थिइन्। उनको घर पूर्वको उर्लाबारी थियो रे। नेपाली र अरबी जानेकी उनैले रहेछ दोभाषेको काम गर्ने।
अफिस पुगेर खाना खाएपछि त्यहाँको एक कर्मचारीले सबैलाई राखेर सम्झायो। उसले जे-जे भन्यो, खिलाले त्यो-त्यो नेपालीमा बुझाइदिन्थिन्।
‘म कम्पनीमा गर्ने भए मात्र गर्छु, नभए गर्दिनँ,' उनले भनिन्, 'घरको काम गर्ने भए वापस जान्छु।’
खिलाले उल्थ्याइदिइन्।
त्यो मान्छे केही बोलेन, उसको निधार मात्र खुम्चियो। जुरूक्क उठेर उनलाई झ्याम्मै हान्यो। नजिकै रहेको कुर्ची उनीतिर हुत्याइदियो। यति गरेपछि शान्त भयो र भन्यो, 'हामीले तिमीहरूलाई मगाएकै घरको काम गर्न हो। यो कुरा तिमीहरूको मान्छेलाई हामीले प्रस्ट भनेका थियौं। तिमीहरूलाई त हामीले ७ हजार डलरमा किनेको हो।'
उनको शरीरका नसा सप्पै एकैचोटि फुले र तन्किए। मुटु पनि फुल्यो।
‘त्यो सुनेपछि मैले केही सुन्न र केही सोच्न पनि सकिनँ,’ उनले आफू बेचिएको थाहा पाउँदाको अनुभूति कहिन्।
उनका आँखा फेरि फिरफिर गरे। आँसु भरिए। ओठ थरथराए।
त्यो अफिसमा उनीहरू ५/६ दिन बसेछन्। उनीहरूलाई लस्करै राखिन्थ्यो। केही मान्छे आउँथे, सरर्र हेर्थे।
‘जस्तो हामी दोकानमा समान किन्न जान्छौं नि, त्यसैगरी उनीहरू आउँथे, हेर्थे, जसलाई जुन केटी मनपर्यो उसले त्यही उठाउने रहेछ,’ उनले भनिन्, ‘हामी पाँचमध्ये सबभन्दा पहिले मेरी भतिजी रेणुलाई लग्यो।'
त्यो अफिसले उनीहरूलाई एक जनाको सात हजार डलरका दरले किनेको रहेछ। उसले पनि अर्कैलाई बेच्ने रहेछ। त्यो अफिस दमाकश भन्ने ठाउँमा रहेको उनले बताइन्।
मैले गुगल म्यापमा त्यो सहर देखाइदिएँ।
'यति राम्रो थियो र त्यो सहर?' उनले नक्सा हेर्दै भनिन्, 'मलाई त निकै उजाड लाग्थ्यो।'
त्यतिबेला सिरिया गृहयुद्धले ग्रस्त थियो, विश्वकै सबैभन्दा डर लाग्दो मुलुक भनेर चिनिन्थ्यो। बम पड्केका आवाजहरू जतिखेरै आइरहन्थे। हिँड्दा हिँड्दैको मानिस कतिखेर बमले उडाउने हो पत्तै नहुने देशमा उनलाई पुराइएको थियो।
उनीहरूलाई त्यहाँ बाहिरबाट चाबी लगाएर कोठामा थुन्दो रहेछ। भित्ताबाहेक केही देखिन्नथ्यो, झ्याल पनि थिएन।
पाँच दिनपछि एउटा नयाँ ड्राइभरले उनलाई गाडीमा राख्यो। उनको पासपोर्ट एयरपोर्टमा लिन आएको ड्राइभरसँग थियो। उसले नयाँ ड्राइभरलाई दियो।
उनीहरू बिहान अफिसबाट हिँडेका थिए। साँझ अर्कै सहरको एउटा ठूलो घरमा पुगे।
त्यो घरमा ठूलो परिवार थियो। एकजोडी बूढाबूढी थिए। बूढी निकै मोटी थिई। उनीहरूका सन्तान पनि त्यहीँ थिए।
‘काम थियो दिनभर घर सफा गर्ने। बूढाबूढीको ज्यान मालिस गर्ने। र, राति केटामान्छेको कोठामा सुत्न जानुपर्ने,’ उनले भनिन्, ‘खाना दिनभरीमा एउटा रोटी पाइन्थ्यो, त्यसले भोक मर्दैनथ्यो। उनीहरू त मिठोमिठो खान्थे।'
काम थोरै पनि बिग्रियो भने सिधै कुटाइ खानुपर्थ्यो। त्यो बूढीको मनमा अलिकति पनि दया थिएन। उनीहरूकी जेठीछोरी पनि त्यहाँ बस्थी, जसको नाम हया थियो। उसले मात्र अलिकति माया गर्थी। त्यत्ति माया पनि उनका लागि अँध्यारो सुरूङमा उज्यालोको झिल्को थियो, जुन उनी अहिले पनि सम्झिरहन्छिन्।
एक महिनापछि उनले काम गरेको पैसा मागिन्। त्यहाँबाट अफिसमा फोन लगाइदिए। किनेको जिनिसलाई कसैले किन पैसा देओस्!
त्यो घरमा उनले एउटा मोबाइलमा राख्ने सिमकार्ड भेटेकी थिइन्। त्यत्ति हो।
तीन महिनासम्म निरन्तर भोको पेटमा काम र यौनशोषणले उनी बिरामी परिन्। चल्नै नसक्ने भएपछि त्यो परिवारका मान्छेले उनलाई अफिस फर्काइदिए।
अफिसमा उनलाई थुनेर राखियो। त्यहाँ नयाँ-पुराना, अरू पनि केटी थिए, उनीजस्तै निरीह! उनीहरूलाई एकअर्कासँग बोल्न पनि दिइन्नथ्यो।
उनले त्यो अफिसमा पनि खानाभन्दा ज्यादा कुटाइ नै खाइन्। केही सोध्यो कि जवाफमा पहिले पिटाइ भेट्थिन्।
'त्यो उर्लाबारीकी केटीले टाउकोमा कुट्दा लागेको चोटले मैले कान कम सुन्न थालेँ,' उनले भनिन्, 'सुरूमा त आँसु झर्थे, पछि आँसु पनि सुक्ने रहेछ। बरू उनीहरूले पिट्दा रगत बग्थ्यो, यस्तो पिट्थ्यो धुकधुकी पनि रहन दिँदैन!'
उनी त्यहाँ बसुञ्जेल थप ४० जना केटी नेपालबाट सिरिया पुगे।
उनी अफिस फर्केको केही दिनपछि रेणु पनि अफिसमै आइन्। उनी पनि त्यहाँ बस्न नसकेको बताउँथिन्। उनले त कम्तिमा भाषा बुझ्थिन्। उनले सिम किनिछन् र घरमा सम्पर्क गरेर पैसा पठाइदिन भनिछन्।
जाने बेला रेणुले आफ्नो सिम उनलाई दिइन्। उनीसँगको सिम आफूले लिइन्। उनीसँग एउटा फोन सेट थियो यहीँबाट लगेको, जुन उनले लुकाएर राखेकी थिइन्।
रेणुको सिममा पनि धेरै समय फोन आएन। अब त उनलाई मर्ने कुरा सम्झिँदा सजिलो हुन थालेको थियो। छोरी सम्झ्यो भने चाहिँ गाह्रो हुन्थ्यो।
बाँच्ने आस मरिसकेपछिको एक रात उनको मोबाइल बज्यो। फोनमा बहिनीको आवाज!
सुकिसकेका आँखा फेरि रसाए। उनी रोइरहिन्, लामो समय।
बहिनीले भनिन्, 'पीर नगर्नू, म त्यहाँ आएर भए पनि तँलाई फर्काउँछु।'
बल्ल उनको बोली फुट्यो, 'तँ नआउनू यहाँ, यो त नर्क हो, बरू म यहीँ बस्छु।'
नभन्दै एकदिन बहिनीले उनले अंशमा पाएको जग्गा बेचेर, चन्दासमेत उठाएर करिब २ लाख पठाइदिइन्।
अफिसका मान्छेले भने 'घर जाने कुरा निकालिस् भने तेरो भिसा थपेर यही राख्छु' भन्दै धम्क्याए। उनीसँगै कोठामा थुनिएका अरू केटीको हालत उस्तै खराब थियो। उनीहरू लुकेर सासैसासले मात्र कुरा गर्थे। एकअर्कालाई ढाडस दिन्थे। कसैका त पैसा पठाउने आफन्त पनि थिएनन्। सबै गरिब थिए।
एक सिर्जना नाम गरेकी केटी थिइन्। आफ्नी छोरी छाडेर आएकी। बहिनीको घरमा छाडेकी छोरीलाई कसैले केही गरिदियो कि भन्ने पीरले उनको आधा ज्यान सकिएको थियो।
फर्किनु अघिल्लो दिन राति उनी रितु भन्ने केटीसँगै सुतेकी थिइन्। उनीहरू रातभरी सासैसासले कुरा गरे।
‘रितुले त्यो श्यामेलाई भनेर मलाई निकाल्नू है भनेकी थिई। मैले हुन्छ भनेर बाचा गरेकी थिएँ,’ उनले सम्झिइन्।
हुन त उनलाई त्यहाँ बसुन्जेल पिट्ने खिलाले पनि हिँड्ने बेला दलाललाई नछोड्नू है भनेको उनलाई याद छ। उनलाई सबभन्दा बढी पिट्ने मान्छेले भन्थ्यो रे, 'यसलाई कुटेकोमा मलाई अल्लाहले माफ गर्दैन होला।'
दमाकसका यी सबै सम्झना लिएर फर्केकी उनी अहिले पनि त्यहाँ आफूलाई दु:ख दिएका मान्छे सम्झिरहन्छिन्। उनलाई नुहाइदिने एकजना मानिस थियो, जसले उनको लामो कपाल काटिदिएको थियो। त्यही कपाल पनि उनले झोलामा कसेर ल्याएकी थिइन्।
‘त्यो रात जसरी बिहान मैले कहिल्यै कुरेकी छैन,’ उनले भनिन्, ‘प्लेनमा बसेपछि बल्ल मैले राम्ररी सास फेरेँ।’
फर्किंदा उनलाई दुबईबाट मुम्बई हुँदै दिल्ली ल्याइयो।
दिल्ली एयरपोर्टमा टोपलाल अधिकारी लिन आए। त्यहीँको गाउँजस्तो ठाउँमा लगे। कलकत्तामा जस्तै एउटा घरको फ्ल्याटमा लगेका थिए। त्यहाँ पनि धेरै नेपाली केटी थिए। सायद उनलाई जस्तै बेच्न ठिक्क पारिएका।
फ्ल्याटमा पुगेपछि उनले आफ्नो झोलाबाट जाँदा-आउँदाका सप्पै टिकट र मोबाइल आफ्नो सुरुवालको खल्तीमा सुटुक्क राखिन्। ती कुराले एकदिन आफू बेचिएको पुष्टि हुनेछ भन्ने उनलाई थाहा थियो।
भोलिपल्टै उनलाई टोपलालले नेपालगन्जमा ज्ञानेन्द्रकी श्रीमती रेणुको जिम्मा लगाए। आउनेबित्तिकै उनी सकी-नसकी माइती नेपाल गइन्। आफू बेचिएर फर्केको बताइन्। सिरियामा लगेर क-कसले आफूलाई बेचे र अरूलाई पनि बेच्ने गर्छन् भनिदिइन्। दिल्ली र कलकत्ताबारे सुनाइन्। अनि आफ्नो गाउँ फर्किन्।
फर्केको भोलि-पर्सिपल्टै उनी प्रहरीकहाँ गइन्। प्रहरीले उनका कुरा एउटा कानले सुनेर अर्को कानले उडाइदिए। चार महिना धाउँदा पनि उनको जाहेरी लिएन।
जिल्लाको महिला सञ्जाल र मानवअधिकारवादीको सहयोग पाएपछि भने उनको जाहेरी प्रहरीले दर्ता गर्यो।
असोजमा उनी सिरियाबाट फर्केकी थिइन्, फागुनमा प्रहरीले जाहेरी लियो।
जाहेरीमा उनले आफ्ना देवर ज्ञानेन्द्र, उनका साथी श्याम डंगोल, डंगोल पत्नी सुनिता, भक्ते परियार र टोपलाल अधिकारीले आफूलाई बेचेको उल्लेख गरेकी थिइन्।
प्रहरीमा जाहेरी परे पनि उनीहरू खुलमखुल्ला घुमिरहेका थिए। ज्ञानेन्द्र र उनका परिवारले त धम्क्याउनसमेत थाले। एकदिन उनको झोँकले सीमा नाघ्यो। डिएसपीलाई भनिन्, 'तपाईंले पक्रिने भए पक्रिनू, नभए त्यसलाई मैले नै केही गर्छु, यहाँ धाइरहनुभन्दा यतै जेल राख्नु मलाई।'
जाहेरी दिएको एक वर्षपछि बल्ल ज्ञानेन्द्रलाई प्रहरीले पक्रियो। ज्ञानेन्द्रकै बयानका आधारमा डंगोल र उनकी पत्नी पनि पक्राउ परे। उनी काठमाडौंबाट बेचिएकीले सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा मुद्दा हाल्यो।
उनीहरूलाई पक्रिएपछि उनलाई झन् गाह्रो भयो। कहिले ज्ञानेन्द्रका परिवार घर घेरा हाल्न आउँथे। कहिले बाटो छेकेर धम्क्याउँथे। कहिले मुद्दा फिर्ता लिइदेऊ, पैसा दिन्छु भन्दै फकाउँथे।
‘जिल्ला अदालतमा बकपत्र गर्न काठमाडौं आउँदा त मलाई २५ लाख दिने भनेका थिए,’ उनले भनिन्, ‘मैले मानिनँ। जिल्ला अदालतकै आँगनमा मलाई घेरा हालेका थिए। डर भने मलाई कत्ति नलाग्ने, अरूका लागि त म सिधासाधा छु, पापीहरूलाई छोड्दिन। म मरिन (मरिकन) फर्क्या हो नि म्याम।’
आफ्नै दाजुले समेत मुद्दा फिर्ता लिएर २५ लाख लिन दबाब दिएको उनले बताइन्। तर उनले टेरिनन्।
अदालतले सुनिता र ज्ञानेन्द्रलाई साधारण तारेखमा छाड्यो। भक्ते परियार र टोपलाललाई भने प्रहरीले नै समाउन सकेको थिएन सरकारी वकिलले नै उनीहरूलाई उन्मुक्ति दिएको थियो।
उनीहरूलाई छाडेपछि फेरि धम्की दिन थाले। उनी कत्ति नडराएपछि ज्ञानेन्द्रको समूहले छोरीलाई बर्बाद पारिदिने धम्की दिए। त्यो धम्कीले भने उनको मुटु हल्लायो।
मुटु मात्र के, उनले टेकेको धरती नै हल्लिएजस्तो भो।
त्यसपछि गाउँ बसिरहन उनलाई सुरक्षित लागेन। हतार-हतार छोरी च्यापेर किर्पे ब्यागमा केही सामान हालेर उनी काठमाडौं पसिन्।
रूकुमबाट सुन्दर देखिने सिस्ने हिमाल दस महिनादेखि आफ्नी छोरीसँग काठमाडौंमै छिन्। कहिले यता, कहिले उता भौंतारिँदै। लगभग 'पाटीको बास' जस्तै भएर कानुनी लडाइँ लडिरहेकी।
पछिल्लो साता उनले फेरि अर्को मन पोल्ने निर्णय गर्नुपर्यो। आफूसँगै राख्दा छोरीको भविष्य बिग्रने पो हो कि भन्ने डरले आमाबाबु नभएका बालबालिका हेर्ने संस्थामा छाडेर आएकी छन्।
आफ्नो मुटु नै आफूसँग नभएपछि के हुन्छ!
सिस्ने हिमाललाई अहिले त्यही हुन्डरीले छोपेको छ।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी