बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्ण खनालले बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यमाथि अभद्र व्यवहार गरेका छन्।
बुधबार बिहान मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको अस्पताल परिसर सरसफाइमा सहभागी हुन पुगेको बेला आफूमाथि मेडिकल सुपरिटेण्डेन्ट (मेसु) खनालले अभद्र व्यवहार गरेको उपप्रमुख आचार्यले आरोप लगाएकी हुन्।
‘मदन भण्डारी फाउण्डेसनले अस्पताल सरसफाइको आतिथ्यता गरिदिन आग्रह गरेकोले म त्यहाँ पुगेकी थिएँ, अस्पतालको परिसर फोहोर देखेपछि उहाँलाई साथीहरूले सामान्य फोहोर पनि व्यवस्थापन नगरेको भन्नासाथ डाक्टर खनाल बम्किनु भयो’, आचार्यले भनिन्।
डा. खनालमाथि पटक/पटक बिरामी र कुरुवाप्रति पनि अभद्र व्यवहार प्रदर्शन गर्ने गरेको आरोप लाग्दै आएको थियो।
अस्पताल परिसरमा मदिराका बोतलको डंगुर नै भेटिएपछि सरसफाइका लागि गएका फाउण्डेसनका सदस्यहरूले अस्पतालमा फोहोर मात्र होइन रक्सीका बोतलको डंगुर भेटिनु गम्भीर विषय भएको बताएपछि डाक्टर खनाल उपप्रमुख आचार्यप्रति नै आक्रोशित भएका थिए।
अस्पतालको आकस्मिक कक्ष आसपास अत्यन्त फोहोर भएको भन्दै त्यसको सफाइमा ध्यान दिन आग्रह गर्नासाथ मेसु खनालले ‘तपाईंले मलाई निर्देशन दिने होइन’ भन्दै उपप्रमुख आचार्यलाई निर्देशन फिर्ता लिन चेतावनी दिएको सरसफाइका लागि अस्पतालमा पुगेका कुशल दीप क्षेत्रीले बताए।
‘साथीहरूले फोहोर सफा गर्दै हुनुहुन्थ्यो मैले अत्यन्त फोहोर देखेपछि फोटो खिच्दै थिएँ डाक्टर खनाल आएर फोटो नखिच फुच्चे भन्दै मेरो हातबाट मोबाइल खोसेर फाल्न खोजे मैलै उनको हातबाट जबर्जस्ती मोबाइल फिर्ता लिएँ’, कुशलदीप क्षेत्रीले भने।
क्षेत्रीसँगै बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र खनालले समेत मेसु खनालले फाउण्डेसनको टोलीमाथि अशोभनीय व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा ‘मेन्सन’ गरेका छन्।
मेसु खनालको व्यवहारबाट आफू आश्चर्यचकित भएको वडा अध्यक्ष खनालले बताए।
‘अस्पताल फोहोर भयो सामान्य सरसफाइ गर्न सकिन्छ नि डाक्टर साब! भन्नासाथ डाक्टर खनालले तपाईंले सिकाउन पर्दैन, तपाईंले निर्देशन दिने होइन, यो शब्द फिर्ता लिनुस् भन्दै उपप्रमुखमाथि अशोभनीय र दुःख लाग्दो व्यवहार गरे’ उनले भने।
५ नं प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उक्त घटनाबारे आफूले जानकारी नपाएको भन्दै मेडिकल सुपरिटेण्डेन्ट जस्तो व्यक्तिले त्यस्तो व्यवहार गर्छन् भन्ने आफूलाई नलागेको बताए।
‘मलाई जहाँसम्म लाग्छ उहाँले त्यसो गर्नुभएन, तर गर्नु भएको रहेछ भने बसेर समाधान खोजिने छ’, मन्त्री बरालले भने।
मेसु खनालले यसअघि पनि अस्पतालमा भएको औषधि खरिद प्रकरणको छानबिन समितिको प्रतिवेदन माग गर्दै लिखित रूपमा सूचना माग्न जाँदा पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डेमाथि पनि अभद्र व्यवहार गरेका थिए।
केही दिनअघि राष्ट्रिय मानवअधिकार आयोग बुटवल कार्यालयको टोलीले समेत अस्पताल परिसर फोहोर भएको भन्दै सफाइमा ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएको थियो।
कहाँबाट आयो मदिराका बोतल ?
समान्यतयाः अस्पताल परिसरभित्र मदिरा ल्याउन र खान मात्र होइन बेचबिखन गर्न समेत पाइँदैन। तर अस्पताल परिसरमा मदिराका बोतल भेटिएपछि मेसु खनालको व्यवस्थापन नेतृत्वमा प्रश्न उठ्नु स्वभाविक छ।
अस्पातल र विद्यालयको परिसरदेखि ५ सय मिटर आसपास मदिरा र मदिराजन्य पदार्थ बेचबिखन गर्न पाइँदैन, तर अस्पालको परिसरभित्र रक्सीका बोतल भेटिनुले अस्पतालको लापर्वाही छर्लंग हुन्छ।
अस्पतालका सबै प्रवेशद्वारमा सुरक्षागार्ड रहेका हुन्छन्, तर अस्पतालको परिसरभित्र मदिरा सेवन गरेर बोतल फाल्दा समेत पत्तो नपाउनु अस्पतालमा आउने बिरामी र तिनका कुरुवाको समेत सुरक्षा अवस्था कस्तो होला आशंका गर्न पर्याप्त आधार तयार भएको छ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पताल परिसरभित्र मदिराका बोतल भेटिनु सामान्य विषय नभएको भन्दै यस विषयमा छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताए।
बरालले अस्पतालको निर्माण कार्य चलिरहेको हुँदा अन्य व्यक्तिहरू समेत प्रवेश गर्न सक्ने भएकोले त्यस्तो हुन सक्ने भन्दै व्यवस्थापनको लापरबाही बचाउ गर्ने प्रयत्न गरे।
पछिल्लो समय अस्पतालमा आउने बिरामी र बिरामीका कुरुवाको पैसा, गरगहना तथा मोबाइल समेत चोरी हुने क्रम बढेको छ। बिरामी भर्ना भएका वार्डमा भित्रै पसेर पैसा तथा गरगहना र मोबाइल चोरी हुनुले अस्पतालको कमजोर सुरक्षा अवस्थालाई प्रष्ट्याएको छ।