घटना: १
काठमाडौंको पुरानो बसपार्क। साँझ ६ बजे।
यात्रु भरेर बस छुट्नै आँटेको थियो। एक जना यात्रु हस्याङफस्याङ गर्दै बस चढे। सर्टपाइन्ट चट्ट मिलाएर लगाएका उनले गलामा परिचय पत्र भिरेका थिए।
ठेलमठेल यात्रुले भरिएको बस बसपार्कबाट छुट्यो। माइतीघर पुगेपछि ती यात्रुले ‘हेल्लो बानेश्वर झर्ने छ है’ भन्दै खल्तीबाट १० रुपैयाँको नोट झिकेर सहचालकलाई दिए।
सहचालकले १५ हो ५ रुपैयाँ पुगेन भने।
‘मसँग विद्यार्थी कार्ड छ’ ती यात्रुले भने।
‘खोइ खोइ कार्ड हेरौं,’ सहचालकले कार्ड हेर्न खोजे।
ती यात्रुले गलामा भिरेकै कार्ड देखाइदिए। उनले देखाएको कार्ड विद्यार्थी परिचय पत्र थिएन, एक बीमा कम्पनीको थियो। दोहोर्याएर हेरेका सहचालकले त्यो कार्ड विद्यार्थी को हो कि बीमा कम्पनीको भन्ने ख्याल गरेनन्। भइगो भनिदिए। उनले परिचय पत्र पहिचान गरेको भए त्यो कार्डबाट गाडिभाडा छुट हुने थिएन १५ रुपैंया नै तिर्नुपर्थ्यो।
५ रुपैयाँ बढी भाडा थप्न नपरेपछि ती यात्रु मुसुक्क मुस्कुराए।
घटना: २
बिहान १० बजे। काठमाडौंबाट बनेपा जाँदै गरेको बस। सहचालक पालैपालो यात्रुबाट भाडा उठाउँदै थिए।
भाडा दिने पालो सरकारी विद्यालय पढाउने एक शिक्षिकाको आयो। ती शिक्षिकाले पर्सबाट पैसा झिक्नुअघि नै ‘कार्ड छ है कार्ड’ भनिन्।
सहचालकले यो उमेर (४५ वर्ष कटेकी) मा पनि पढ्न जानुहुन्छ र? भन्दै कार्ड देखाउन भने।
सहचालक कार्ड हेर्छु भन्ने शिक्षिका नदेखाउने, बसमा चर्काचर्की सुरू भइगो।
शिक्षिका भन्दै थिइन्, ‘पढ्नलाई उमेरले छेक्दैन। यो उमेरमा पढ्न हुँदैन भन्ने छ?’
सहचालक पनि के कम? उनले सोधे- कति हो त तपाईंको रोल नम्बर?
‘ह्या, रोल नम्बर किन चाहियो?’ भन्दै उनले सहचालकको हातमा भएको कार्ड फुत्त तानिन्। गुडिरहेको बसले दुई किलोमिटर पार गरिसक्यो तै विवाद साम्य भएको थिएन।
‘दिदी पढेको छैन भनेर नहेप्नु, मैले पनि एसएलसी पास गरेको छु,’ ती सहचालकले भने, ‘खलासी त हो भनेर हेप्नुहुन्छ। भए सक्कली कार्ड देखाउनु।’
गाडी झ्याप्प रोकियो। ती शिक्षिका लाग्ने भाडाभन्दा कम तिरेर बसबाट झरिन्। सहचालक हेरेको र्हेयै भए।
तेस्रो घटना रोचक छ।
एक जना यात्रुले विद्यार्थी परिचय पत्रबिना नै ४५ प्रतिशत भाडा छुट पाइन्। पाप धुरीबाट कराउँछ भनेझैं उनले आफ्ना कुरा फेसबुकमा लेखिन्।
यसरी, ‘जीवनकै पहिलोपटक एटिएम कार्ड देखाएर बस भाडामा छुट पाएँ। कार्ड देखाउने र हेर्ने दुबै मुर्ख!’ उनले आफैंलाई मुर्ख सावित गरेकी छन्।
माथिका यस्ता प्रवृत्ति दिनहुँ सार्वजनिक बसमा दोहोरिरहने घटना हुन्। सरकारले विद्यार्थीका लागि बसभाडामा दिएको ४५ प्रतिशत छुट गैरविद्यार्थीले पनि लिइराखेका छन्।
केही पैसा छुटका लागि नक्कली परिचयपत्र बोकेर बसमा यात्रा गर्ने विद्यार्थीदेखि पेशा व्यवसाय गर्नेहरू पनि भेटिन्छन्।
विद्यार्थी परिचय पत्रका नाममा यात्रुले गेट पास, नागरिकता, मिति सकिएका कार्ड, छोराछोरीका कार्ड, फोटो नभएका कार्ड देखाउने गरेको चालकहरू बताउँछन्।
नौ वर्षदेखि सार्वजानिक बस चलाइराखेका चालक प्रेम खड्काले नक्कली कार्डबाट आफूहरुले दिनहुँ हैरानी खेप्दै आएको बताए।
उनले नक्कली कार्ड जफत गरेर यातायात समितिलाई बुझाउने गरेका छन्।
‘यी यस्ता नक्कली कार्ड देखाउँछन्,’ रत्नपार्क बसपार्कमा बिहीबार चालक खड्काले भने, ‘दिनहुँ ५०/६० वटा नक्कली कार्ड भेटिन्छ। कतिपयलाई त छाडिदिने गरेका छौं।’
नक्कली कार्ड देखाउनेलाई कारबाही गर्ने नियम बनाउनु पर्ने उनको सुझाव छ।
दहचोक-रत्नपार्क रूटमा नियमित बस चलाइराखेका चालक अर्जुन खड्काले पनि नक्कली कार्डको बिगबिगी रहेको सुनाए।
‘नक्कली कार्ड बोकेर छुट किन नदिएको भन्दै बाझ्न आउँछन्,’ उनले भने, ‘कार्ड नक्कली हो भनेर जफत गरेर राख्छौं, त्यसपछि बेइजत हुने डरले पूरा भाडा दिन्छन्।’
उनले नक्कली कार्ड जफत गरी बसमा राखेका छन्।
नक्कली कार्ड देखाउनेलाई के कारबाही गर्ने भन्नेमा ट्राफिक प्रहरी पनि प्रष्ट छैन।
सरकारी कार्यालयको लोगो र छाप प्रयोग गरेर कीर्ते गरी परिचय पत्र बनाएको पाइएमा कारबाही गर्न सकिने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले बताए।
‘सरकारी सही, छाप कीर्ते गरेको पाइएमा कानुनअनुसार कारबाही गरिन्छ,’ उनले भने, ‘तर विद्यार्थी कार्डको नक्कल गरेमा के गर्ने भन्ने खासै कानुन पनि छैन।’
विद्यार्थी संगठनको लगातारको आन्दोलनपछि सन् २००८ मा सरकारले विद्यार्थीलाई गाडीभाडामा ४५ प्रतिशत छुट दिने निर्णय गरेको थियो।